+
+

बागमती प्रदेशका करारका स्वास्थ्यकर्मी भन्छन्– दशैंको बेला तलब पाएनौं

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्- मन्त्रालयलाई जानकारी छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १३:१४

१६ असोज, काठमाडौं । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले दशैंको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् ।

सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दशैंको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

नुवाकोटको त्रिशूली अस्पतालमा कोभिडकालमा भर्ना भएका एक जना कर्मचारीले तीन महिनादेखि तलब नपाएको बताए । ‘त्रिशूली अस्पतालमा मात्रै मजस्ता करिब ५० जनाले दशैंको बेलामा समेत तलब पाएनन्,’ उनले भने ।

धादिङमा करारमा कार्यरत अर्का एक जना स्वास्थ्यकर्मीले करार सम्झौताको म्याद नथप्ने निर्णय स्थगित भएको परिपत्र आएपछि आफूहरु निरन्तर काममा रहे पनि तलब भने नपाएको बताए । ‘काममा लगाउने तर तलब नदिने गर्दा दशैंको बेला समस्या पर्यो,’ उनले भने ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गत असार २८ गते स्वास्थ्य निर्देशनालय हेटौंडा, स्वास्थ्य तालिम केन्द्र काठमाडौं, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडा, जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, १३ वटै अस्पताल, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई परिपत्र गरी करार सम्झौताको म्याद नथप्न भनेको थियो । तर फेरि मन्त्रालयले साउन ४ गते तिनै कार्यालयहरुलाई अर्को परिपत्र गरी करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने निर्णय अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको थियो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक प्रसाद तिवारीले भने करारका स्वास्थ्यकर्मीले तलब नपाएको जानकारी आफूलाई नभएको बताए । उनीहरु कार्यरत सम्बन्धित कार्यालयले नै उनीहरुलाई तलब भत्ता खुवाउने भन्दै उनले मन्त्रालयले भने स्वास्थ्य कार्यालयहरुमा तलब पठाउँदै आएको बताए ।

‘भर्खरै नयाँ नियुक्ति भएकाहरुको एक महिना पुग्न बाँकी छ, उनीहरुले नपाएका होलान्, अरुले तलब नपाएको भन्ने जानकारी मन्त्रालयलाई छैन,’ प्रवक्ता तिवारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?