+
+

विवेकशील साझा छाड्ने लहर, अध्यक्ष बास्कोटा भन्छिन् : चिन्तित छौं, निराश छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते १८:४८

१७ असोज, काठमाडौं । पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपातिर लागेसँगै विवेकशील साझा छाड्ने लहर चलेको छ । एकपछि अर्का प्रदेश तथा जिल्ला संयोजकहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।

कतिसम्म भने किशोर थापा, निरुपमा यादवलगायतका संस्थापक नेताहरुले समेत पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार मात्र कार्यसम्पादन समिति सदस्यद्वय शोभा शाक्य र शरद पाठकले राजीनामा दिएका छन् ।

विवेकशील साझा छाडेका धेरै मिश्रसँगै राप्रपातिर जाने सम्भावना छ, केही भने अलमलमा छन् । एकाध भने नेपाली कांग्रेस र नेकपा एमालेतिर लागेका छन् ।

विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा भने यो अपेक्षित नै मान्छिन् । यद्यपि एकपछि अर्को नेताले पार्टी छाडेको समाचार प्रवाहित हुँदा नकारात्मक सन्देश गएको स्वीकार गरिन् । ‘यो (पार्टी छाड्ने क्रम) अझै केही दिन चल्छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘विवेकशील साझा सकियो भन्ने जस्तो सन्देश गएको छ । तर अहिले गएका धेरै साथीहरु मंसिर १८ को एकीकरण र त्यसपछि जोडिनुभएका छन्, जो राप्रपा जान भनेरै आउनुभएको थियो ।’

साउन २०७८ मा तत्कालीन अध्यक्ष मिश्रले मार्ग परिवर्तनको प्रस्ताव अघि सारेका थिए, जसमा संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने उल्लेख थियो । राजतन्त्रतर्फ जनताको आकर्षण बढेको निष्कर्ष समेत रहेको प्रस्तावलाई विवेकशील साझाले मूल दस्तावेज बनाएपछि १८ मंसिरमा सिटिजन्स डिस्कसन फोरम र जनता दरबार पार्टीसँग एकता गरेको थियो ।

बास्कोटाका अनुसार अहिले पार्टी छाड्नेहरुमा धेरै मिश्रले मार्ग परिवर्तनको प्रस्ताव अघि सारेपछि पार्टीमा आएकाहरु छन् । ‘केही पुराना साथीहरुले पनि छोड्नुभएको छ, एकता प्रक्रियाबाट आएका कतिपय साथीहरु पार्टीमा हुनुहुन्छ’ उनले भनिन्, देशभरबाट थुप्रै साथीहरुले हामी साथमै छौं भन्ने सन्देश दिनुभएको छ ।’

तर पार्टीमा आएको यो विभाजनले आसन्न चुनावलाई प्रभावित गर्ने अध्यक्ष बास्कोटाको निष्कर्ष छ । ‘मंसिरको ४ को चुनावबाट अब धेरै अपेक्षा गर्न सकिन्नँ’ उनले भनिन्, ‘हामी चिन्तित छौं, निराश छैनौं । किनकि एउटा राजनीतिक दलको जीवनमा मंसिर ४ मात्र सबथोक होइन ।’ उनका अनुसार यही चुनावमा बारा र काठमाडौं उपत्यकामा राम्रो परिणाम आउने पार्टीको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?