+
+

दशैंका १० गीत : जसले ‘फेस्टिभ मुड’ सिर्जना गर्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते १९:४४

काठमाडौं । दशैं चाड मात्र होइन, कलासँग पनि यसको सम्बन्ध घनिभूत छ । नेपाली फिल्म, संगीत र कलाका अन्य विधामा पनि दशैंको महत्व प्रतिविम्बित हुने गरेको छ ।

दशैंको गुल्जारमा सधैंजसो केही गीत बज्ने गर्छन् । कतिपयले यी गीत सुनेर परिवार, आफन्त, मायालुलाई सम्झन्छन् । कतिपय गीतले दशैं सेलिब्रेसनलाई झनै ऊर्जा थप्ने गर्छन् ।

बर्सेनि दशैंमा रेडियो, टेलिभिजन र युट्युबमा बज्ने केही गीत छन् जसले साँच्चिकै दशैं आएको महसुुस गराउँछन् । यहाँ केही गीतहरुको चर्चा गरिन्छ, जसलाई सुनेर र हेरेर दर्शक तथा श्रोताले फेस्टिभ मुड सिर्जना गर्न सक्छन् ।

मालश्री धुन…

विशेषतः दशैंमा हिन्दू देवीको शक्ति र महिमाको पूजाआजमा यो गीत बज्दै आएको छ । दशैंका नौ दिनमा विभिन्न देवी र शक्तिपीठको पूजा हुने भएकाले यो गीत बज्ने गर्छ । मंगलधुनको रुपमा समेत परिचित यो गीतलाई पवित्र मानिन्छ । सारंगी र मूरलीको आवाजमा बुनिएको यो गीत अनादिकालदेखि चलनमा आएको अनुमान गरिन्छ ।

वर्षका दिनमा लै लै…

सुगम पोखरेलद्वारा संगीतबद्ध यो गीत दशैं र तिहारमा अधिक बज्ने गीतमध्ये पर्छ । रवि श्रेष्ठको शब्द र सुगमकै संगीत रहेको यो गीतले दशैंको भाइब्स सिर्जना गर्छ । गीतले दशैंमा मनोरञ्जनस्वरुप चंगा उडाउने, नाचगान गर्ने र हर्ष प्रस्तुत गर्ने सन्देश दिएको छ ।

धानकै बाला झुलौंला…

जयनन्द लामाको स्वर रहेको यो गीतलाई सशष्त्र प्रहरी बलले निर्माण गरेको हो । वर्षेनी रेडियो र टिभीबाट बज्ने यो गीतले दशैंमा बिदा नपाएका र परिवारसँग टाटिएर फौजमै दशैं मनाइने मर्मलाई चित्रण गर्छ । स्वर्गीय जयनन्द लामासँग मिलेर बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले गीत गाएका छन् ।

दशैं आयो…

शेखर कोइराला निर्मित फिल्म ‘मुग्लान’मा समावेश यो गीत सुन्दा यस्तो लाग्छ, यो गीत दशैंको सबैभन्दा प्रिय गीत हो । यो गीत जहिल्यै सुन्दा पनि कालजयी लाग्छ । परदेशमा भएकाहरु गाउँ फर्किएको, मान्यजनबाट टीका र जमरा लिइएको, पिङ खेलेर रमाएको र उमंग छाएको चित्रण यसले गर्छ । सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाका शब्द र अमूल कार्कीको एरेन्ज यसमा छ ।

नमुछे आमा दहीमा टीका…

दशैंको मर्मस्पर्शी आयाम बोकेको यो गीत अर्को शक्तिशाली संगीत हो । पैसा कमाउन विदेशिएका सन्तानका परिवारको बेदना यसमा चित्रण छ । नारायण रायमाझीको स्वर तथा संगीत रहेको गीतले भारत–पाक युद्धको टाइमलाइन प्रस्तुत गर्छ ।

दशैं नै हो कि यो मेरो दशा…

योगेश्वर अमात्यको यो चर्चित दशैं गीतले विपन्न परिवारले दशैं मनाउँदा भोग्नुपरेको पीडा प्रस्तुत गर्छ । पप रक शैलीको यो गीतलाई बालबच्चा र वृद्धवृद्धाले पनि रुचाउने गरेका छन् । न्यूह बज्राचार्यको संगीत र अमात्यको स्वरमा रहेको यो गीत कहिले रेकर्ड गरे भन्ने कुरा स्वयम अमात्यलाई पनि यकिन छैन । यद्यपी, दशैं छेकोमा यो गीत घन्किने गर्छ ।

रातो टीका निधारमा टलक्क टल्कियो…

https://www.youtube.com/watch?v=vQYUJQhcDsY

अशोक शर्मा निर्देशित फिल्म ‘अल्लारे’मा समावेश यो गीत दशैंमा बढी सुनिने गीतमध्ये पर्छ । दुई दशकअघि रिलिज भएको यो फिल्मको गीतमा राजेश हमाल र करिश्मा मानन्धरले अभिनय गरेका छन् । शर्माकै नयाँ फिल्म ‘रातो टीका निधारमा’को नयाँ भर्सनलाई प्रमोद खरेल र मेलिना राईले पुनः गाएका छन् । शम्भुजित बाँस्कोटाको संगीत र सहदेव ढुंगानाको शब्द यसमा छ ।

ढेवा मरु…

नितेशजंग कुवँरद्वारा संगीत र स्वरबद्ध यो गीत तन्नेरीमाझ चर्चित पपगीत हो । दशैंमा खर्च सकिएर पीडा महसुस गरिरहेको वर्गलाई यो गीतले प्रस्तुत गरेको छ । यो गीतको लिरिक्स र ट्युनलाई पछिल्लो जेनेरेसनले रुचाउन सक्छ ।

यसपालि दशैंमा…

कुल पोखरेलले छोटो जीवन बाँचे तर, उनको संगीत सदियौं गुञ्जिरहेका छन् । उनले गाएको एउटा गीत ‘यसपाली दशैंमा’ युवापुस्तामाझ चर्चित गीत हो । तन्नेरी पुस्ताले यो गीतमा आफूलाई महसुस गर्न सक्छन् । रोजगारीको लागि विदेशिएकाहरुको परिवार र उनीहरुको मर्मलाई यसले चित्रण गर्छ ।

गाउँ नै रमाइलो..

यो चर्चित दशैं लोकदोहोरी गीतलाई बिमल परियार, सविता परियार र शिव हमालले गाएका हुन् । लोकभाका बुनिएको चर्चित गीतलाई लोकदोहोरी प्रेमीले रुचाउन सक्छन् । यसमा दशैंको रमाइलो र बिरहका दुई पाटालाई उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?