+

‘यी खानेकुरा आपसमा मिसाउँदा विषाक्त बन्छ’ : आहारविद् डा. राजु अधिकारी

२०७९ असोज  १९ गते २०:५१ २०७९ असोज १९ गते २०:५१
‘यी खानेकुरा आपसमा मिसाउँदा विषाक्त बन्छ’ : आहारविद् डा. राजु अधिकारी

पहिले पहिले माछामासुसँग दही मिसाएर खान हुँदैन भनिन्थ्यो । दुध र मासु एकसाथ खाँदैनथे । तर, अहिले यी खानेकुरा एकसाथ पकाएर पनि खाने प्रवृत्ति छ ।

यी खानेकुरा आफैमा नराम्रो नहुन सक्छ । तर, जब एकआपसमा मिश्रण गरिन्छ तब यी खानेकुरा विषाक्त बन्छ । त्यस्ता थुप्रै खानेकुरा हुन्छन् जसलाई एकअर्कासँग मिसाउँदा खान अयोग्य हुन्छ । यद्यपि हामी खानपानको गुण र खाने तरिकाबारे त्यती चासो राख्दैनौं । नतिजा अनेक रोगले च्याप्न थाल्छ ।

अझ दशैंतिहार जस्तो चाडपर्वमा त हामी थरीथरी खाना एकसाथ खाने गर्छौं । यसरी खाँदा त्यसले शरीरमा पोषण होइन, रोग निम्त्याउँछ । दही, दुध, घिउ, माछा, मासु, गेडागुडी जस्ता खानेकुरा प्रोटिका स्रोत हुन् । तर यी सबै खानेकुरा एकसाथ मिसाएर खाँदा शरीरलाई पचाउन गाह्रो हुन्छ । जस्तो कि, एउटा मान्छेलाई एकै पटकमा गह्रौं गह्रौं भारी बोकाए जस्तो हुन्छ ।

माछामासु खाने मान्छेले सकेसम्म दिनमा एक छाक मात्र माछामासु खानु उचित हो । रातिको खानपान सुपाच्य र हल्का हुन जरुरी छ । के खाने भन्ने कुरा त हामीलाई थाहा हुनसक्छ । तर कसरी र कतिबेला खाने भन्ने कुरा हामीलाई ज्ञान नहुन सक्छ । भनिन्छ नि, संसारमा मान्छेहरु खान नपाएर होइन, खान नजानेर रोगी भएका छन् ।

अतः खानपानको हकमा कुन खानेकुरा आपसमा मिसाउनु हुँदैन भन्ने कुरा पनि निकै महत्वपूर्ण छ । आहारविद् डा. राजु अधिकारीका अनुसार यी खानेकुरा आपसमा मिसाउँदा विषाक्त बन्छ ।

एकैपटक मिसाएर खान नहुने खानेकुरा

दही र कालो दाल

दालमा दही र मोही मिसाएर खाने चलन छ । तर दही र कालो दाल सकेसम्म एकसाथ मिसाएर खान हुँदैन । यस किसिमको खानेकुरा आपसमा मिश्रण गर्दा त्यो विषाक्त हुनसक्छ ।

माछामासु, दुध–दही र घिउ

चाडपर्वको बेला मीठोमसिनो खाने चलन छ । मीठोमसिनाको नाममा अनेकथरी खानेकुरा एकसाथ तयार गरिन्छ । जस्तो कि, माछामासु, दुध-दही, घिउ । यी सबैकुरा प्रोटिनको उच्च स्रोत हुन् । जब हामी यी सबै खानेकुरा मिसाएर एकसाथ खान्छौं, यसले पाचन प्रणालीमा असर पु¥याउँछ । दुध–दहीसँग माछामासु त नखाएकै वेश हुन्छ ।

च्याउ र मासु

धेरै परिकार बनाउने नाममा मासुसँगै च्याउ पनि पकाउने गरिन्छ । खासमा मासु र च्याउ आपसमा मिल्ने परिकार होइन । यी खानेकुरा एकसाथ खानु उचित छैन ।

दुध, दही र फलफुल

खानापछि कतिले फलफूल खाने गर्छन् । फलफूलमा दही मिश्रण गरेर खाने चलन पनि व्यापक छ । यसरी मिसाएको फलफूल अस्वस्थ्यकर हुन्छ । फलफूलमा दुध त मिसाउनै हुँदैन । वा यी खानेकुरा एकसाथ खानै हुँदैन । यसैगरी दुधसँग अण्डा, माछा, मासु, कागती खानु उचित हुँदैन ।

कांक्रो र मुलामा दही

सलाद बनाउनका लागि कतिले कांक्रा, मुला आदिमा दही पनि मिसाइदिन्छन् । यसरी मिश्रण गर्नु राम्रो होइन ।

चीसो र तातो पेय पदार्थ

एकसाथ चिसो र तातो खानेकुरा पनि खानु राम्रो होइन । घरमा आएको पाहुनालाई चिसो पेय दिने वा तात्तातो चिया कफी दिने प्रचलन छ । यी पेयसँगै फेरी तातो वा चिसो खानेकुरा दिइन्छ, जुन आपसमा मिल्दो हुँदैन । यसरी एकसाथ वा थोरै समयको अन्तरालमा धेरै तातो र धेरै चिसो खानेकुरा खानु एकदमै हानिकारक हुन्छ ।

 एकैसाथ मिसाएर पकाउन नहुने खानेकुरा

अहिले मान्छेले युट्युबलगायत बाट खानेकुरा पकाउने विधी सिकिरहेका हुन्छन् । अनि आफ्नै भान्सामा थरीथरी परिकार पकाउने अभ्यास गरिरहेका हुन्छन् । पाककला सिक्नु आफैमा नराम्रो होइन । यद्यपि यसरी अन्धधुन्ध खानेकुरा पकाउन सिक्दा कुन खानेकुरा आपसमा मिसाउनु हुन्छ वा हुँदैन भन्ने जानकारी चाहिँ हुनुपर्छ ।

जस्तो कतिले मासुलाई ग्रेभी बनाउन दही वा क्रिम मिसाउने गर्छन् । यस्तो मिश्रण हानिकारक हुनसक्छ । च्याउ र मासु एकसाथ मिसाएर खानु उचित हुँदैन । खानेकुराको गुण अनुरुप कस्तो खानेकुरा आपसमा मिसाउन हुँदैन भन्ने ज्ञान हुनुपर्छ । आपसमा गुण नमिल्ने खानेकुरा एकसाथ पकाएर खाँदा अपच हुने, फूड पोइजनिङ हुने, रगत विषाक्त बनाउने, छालामा रोग निम्त्याउने र क्यान्सरसमेत हुने भय हुन्छ ।

खानापछि फलफूल वा मिठाई खानुहुन्छ ?

अहिले खानपानपछि मिठाई वा फलफूल खाने चलन पनि बढ्दो छ । यसले मुख मीठो बनाएपनि पेटलाई खराब बनाउँछ । सकेसम्म खानाअघि नै सलाद खानु राम्रो हो ।

खाना जीवनशैली
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय