
२२ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले २ प्रतिनिसभा र ४ प्रदेशसभा सदस्य पाएको छ । नेसपाले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दै एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर चुनावमा जाँदैछ ।
नेसपाका अध्यक्ष महेन्द्र राय यादव सर्लाही-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन् । डा. बाबुराम भट्टराईकी छोरी मानुषि यमी भट्टराई काठमाडौं-७ बाट उम्मेदवार बन्ने निश्चित भएको छ । सत्तारूढ गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) रहँदा यमीले टिकट नपाउने अवस्था सिर्जना भएको थियो । तर, जसपा गठबन्धनबाट बाहिरिएपछि काठमाडौं-७ मा उनको निश्चित भएको नेसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
प्रदेशसभातर्फ सिन्धुली २ (ख) मा नेसपाका वरिष्ठ उपाध्यक्ष गंगानारायण श्रेष्ठले अवसर पाउने भएका छन् भने गोरखा २ (क) बाट फणिन्द्र देवकोटा उम्मेदवार बन्ने निश्चित भएको छ ।
त्यस्तै, सर्लाही २ (क) र लुम्बिनीको कुनै एक प्रदेशसभा सदस्य पदमा नेसपाले सिट पाए पनि उम्मेदवार टुंगिइनसकेको नेता श्रेष्ठले जानकारी दिए ।
बाँकी उम्मेदवार तय गर्न नेसपाले शनिबार बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4