+
+

सभामुख सापकोटाले किन गरे चुनाव नलड्ने घोषणा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते २०:५०

२२ असोज, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबार सभामुख अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन नै गरी आफू उम्मेदवार नहुने घोषणा गरे ।

सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस भएका उनले युवा पुस्तालाई नेतृत्वमा ल्याउने भन्दै चुनाव नलड्ने निर्णय गरेको बताए । सापकोटाकै शब्दमा उनले चुनाव लड्न चाहेको भए टिकट पाउन र जित्न कुनै अप्ठ्यारो थिएन ।

‘तर, मैले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ । यसमा लागि मैले निर्णय लिनुपर्छ, निरन्तरतामा क्रम भंगता हुनुपर्छ भनेर यसपटक चुनाव नलड्ने निर्णय लिएको हुँ’ सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

पार्टी कमिटीले सापकोटासहित प्रत्यक्षतर्फ तीनजनाको नाम सिफारिस गरेको थियो । जसमा थिए, माओवादी पोलिट्ब्यूरो सदस्य माधव सापकोटा र फुलम तामाङ । अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेपछि माधव सापकोटाले टिकट पाउने भएका छन् ।

तर, सिन्धुपाल्चोकका स्थानीय नेताहरु अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गर्नु राजनीतिक रुपमा अर्थपूर्ण रहेको बताउँछन् । कतिपयले सभामुख भइसकेको हुनाले संसदमै सक्रिय राजनीति नगरेर अन्य जिम्मेवारी (राष्ट्रपति/उपराष्ट्रपति) लिने चाहनासँग पनि जोडेका छन् ।

तर, सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा गर्नुमा कांग्रेस नेता मोहनबहादुर बस्नेतसँगको शक्ति संघर्ष प्रमुख कारण रहेको सिन्धुपाल्चोकका नेताहरु बताउँछन् ।

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका क्रममा पनि यो विषय निकै पेचिलो बनेको थियो । तर, बस्नेतले निर्वाचन क्षेत्र नम्बर २ मा सापकोटाले क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने गरी सहमति गरेको कांग्रेस र माओवादीका नेताहरु स्वीकार गर्छन् । बस्नेतले गठबन्धनले गरेको निर्णयलाई स्वीकार्ने तर, सापकोटालाई सहयोग नगर्ने सूचना सापकोटासम्म पुर्‍याएको स्रोत बताउँछन् ।

सत्तारुढ गठबन्धनका एक नेता भन्छन्, ‘एकातिर मोहन दाइले अर्को निर्वाचन क्षेत्रमा गएर पनि सहयोग नगर्ने सन्देश दिनुभयो । अर्कोतिर, सभामुख भइसकेको व्यक्तिले हार्दा राजनीतिक भविष्य थप धरापमा पर्ने भयो । यस्तोमा अग्निदाइले पनि सहज बाटो रोज्नुभयो ।’

अझ मोहन बस्नेतले सापकोटाबाहेक अर्को व्यक्तिलाई उम्मेदवार बनाउँदा सहयोग गर्ने समेत बताएको नेताहरु बताउँछन् । यसकारण पनि सभामुख सापकोटाले आफूलाई असुरक्षित र पार्टीकै अर्का उम्मेदवार सुरक्षित देखेर सिन्धुपाल्चोक–१ बाट प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेको हुन सक्ने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?