+
+

रामचन्द्रको जोडबलमा प्रदीपलाई काठमाडौं–५ को टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १२:५२

२३ असोज, काठमाडौं । गृहजिल्ला तनहुँबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न चाहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल अन्तत: काठमाडौं‍-५ बाट उम्मेदवार बन्ने पक्का भएको छ ।

उनलाई काठमाडौं- ५ मा सार्नुमा वरिष्ठ नेता रामचन्द्र पौडेलको हात रहेको कांग्रेस नेताहरु बताउँछन् । २०७४ सालको गत निर्वाचनमा तनहुँ–२ (क) बाट प्रदेशसभा सदस्यमा पराजित उनी ४ मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारीको तयारी गरेका थिए ।

तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यमा उनको उम्मेदवार सिफारिस पनि भएको थियो । २०७४ को चुनावमा यसै क्षेत्रबाट पराजित भएका केन्द्रीय सदस्य शंकर भण्डारी भने तनहुँ-१ बाट उम्मेदवार सिफारिस भएका थिए ।

भण्डारी तनहुँ-१ बाट सिफारिस हुनु र तनहुँ २ मा पौडेलको हैसियतका अन्य आकांक्षी नभएकाले उनको टिकट पाउने आकलन धेरैले गरेका थिए । तर, प्रदीपका लागि आफ्नै जिल्लाका नेता रामचन्द्र पौडेल सहयोगी भइदिएनन् ।

परिणामतः तनहुँ २ त्यागेर उनी काठमाडौं-५ को उम्मेदवार भएका छन् । तनहुँ-२ बाटै उम्मेदवार बन्ने अडानमा रहेका प्रदीपलाई शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारबाट बोलावट भयो । प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय समिति (बोर्ड) को बैठक चलिरहेको बेला उनी पुगेका थिए ।

प्रदीपलाई बालुवाटार बोलाउने चाहना नेता रामचन्द्रको थियो । कांग्रेस स्रोतका अनुसार रामचन्द्रले प्रदीपलाई काठमाडौं ५ मा उठ्न आग्रह गरे । शनिबार रामचन्द्रले प्रदीपलाई गरेको आग्रहबारे स्रोतले भन्यो, ‘पार्टीमा गगन, विश्वप्रकाश र तपाईं त हो नि नयाँ पुस्ताले विश्वास गरेको । काठमाडौं– ५ बाट उठ्नुुस् ।’

काठमाडौं–५ मा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टिकट पाएका छन् । कांग्रेस वरिष्ठ नेता पौडेलले पोखरेललाई हराउन प्रदीप सक्षम रहेको भन्दै ‘कन्भिन्स’ गराउन खोजेका कांग्रेस स्रोतको भनाइ छ । तनहुँ २ मा शंकर भण्डारीलाई छोडिदिन प्रदीपलाई रामचन्द्रले आग्रह गरेका थिए ।

प्रदीपले भने आफू तनहुँ २ मा नै उठ्न चाहेको बताएर बालुवाटारबाट बाहिरिए । तनहुँ–१ बाट उम्मेदवार बन्न चाहेका रामचन्द्रका लागि शंकर भण्डारी मुख्य चुनौती थिए । भण्डारीलाई तनहुँ २ मा उठाउन सके क्षेत्र सुरक्षित हुने उनको बुझाइ रहेको कांग्रेसका तनहुँका नेताहरु बताउँछन् ।

प्रदीप बालुवाटारबाट निस्किसकेपछि रामचन्द्रले संसदीय बोर्डबाट तनहुँ–२ मा शंकर भण्डारी उम्मेदवार हुने निर्णय गराए । उक्त निर्णय पश्चात् मात्रै काठमाडौंको प्रसंगलाई अघि ल्याए । शनिबार अबेर राति प्रदीप काठमाडौं ५ बाट उम्मेदवार हुने निर्णय भएको सार्वजनिक भएको थियो ।

सभापति शेरबहादुर देउवाले पनि आग्रह गरेपछि प्रदीप काठमाडौं–५ मा उठ्न राजी भएको कांग्रेस स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?