+
+

हरेक तीन उम्मेदवारमध्ये एक ‘स्वतन्त्र’, तर खेप्दैछन् छवि निर्माणको संकट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १७:४४
४ मंसिरको चुनावमा स्वतन्त्र उम्मेदवारी दिनेहरु बाँयाबाट क्रमश: सागर ढकाल, मनोज पण्डित, माधवी भट्ट र खुश्बु ओली ।

२४ असोज, काठमाडौं । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, प्रतिनिधिसभाका लागि अहिलेसम्म करिव २५ सय जनाको उम्मेदवारी परेको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमा ९३० जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । कुल उम्मेदवारीको करिव ३७ प्रतिशत स्वतन्त्र उम्मेदवार छन् । यो अनुपात हेर्दा हरेक तीन उम्मेदवारमा एकजना स्वतन्त्र हुन्छन् ।

दुई दिनअघि एमाले परित्याग गरेका बामपन्थी नेता घनश्याम भूसाल रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई सत्तारुढ गठबन्धनले नै समर्थन गरेर उम्मेदवारी दिएको छैन । वैचारिक रुपमा उनी कम्युनिस्ट भए पनि निर्वाचन आयोगको दृष्टिकोणमा भने उनी स्वतन्त्र उम्मेदवार हुन् । आयोगले उनलाई स्वतन्त्र समूहमा पर्नेमध्ये कुनै एक चिह्न दिन्छ ।

सागर ढकालले डडेलधुरा– १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिन उम्मेदवारीको घोषणा गरेका हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि यस्तै चुनौती छ । झापा– ३ मा लेखक एवं बामपन्थी विश्लेषक युग पाठक (दीपककुमार पाठक)ले ओली विरुद्ध उम्मेदवारीको घोषणा गरेका छन् ।

काभ्रे–२ मा चलचित्र निर्माण, लेखक एवं निर्देशक मनोज पण्डितले उम्मेदवारी दिएका छन् । उनले पूर्वमन्त्री गोकुल बाँस्कोटा विरुद्ध उम्मेदवारी दिने भनी केही महिनादेखि नै अभियान चलाइरहेका थिए । बास्कोटाको आवाज समेटिएको ७० करोड रुपैयाँको ‘अडियो प्रकरण’ले त्यो क्षेत्रका मतदाताको अपमान भएको भन्दै उनले आफूलाई विकल्पको रुपमा अघि सारेका हुन् ।

काठमाडौं–१ मा पुकार बमले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गोरखा–२ बाट डा. माधवी पराजुली भट्टले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । नेपाली कांग्रेसतिर झुकाव राख्ने भट्ट यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य समेत थिइन् । राप्रपाबाट उम्मेदवार बन्न नपाएपछि मोडल खुश्बु ओलीले झापा–४ बाट स्वतन्त्र उम्मेदवारी  दिएकी छन् ।

कुल ९३० उम्मेदवारहरुमध्ये शहरी क्षेत्र र तराईका जिल्लाहरुमा स्वतन्त्र उम्मेदवारहरुको संख्या बढी देखिन्छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमा १०५ जना उम्मेदवार छन् । धनुषामा ६५, मोरङमा ४६, सिराहामा ४८ र रुपन्देहीमा ५० उम्मेदवार छन् । सिरहा, मोरङ, सुनसरी रौटहट लगायतका जिल्लामा स्वतन्त्र अनुहारहरु अरु जिल्लाको तुलनामा बढी छन् ।

काठमाडौं–४ मा सबैभन्दा बढी १७ जना स्वतन्त्र उम्मेदवार छन् । काठमाडौं–५ मा १४ जना छन् । काठमाडौं १ र २ मा ११/११ उम्मेदवार छन् । करिव २५ वटा जिल्लामा १० जनाभन्दा बढीका दरले स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार, अहिलेसम्मको आँकडामा स्वतन्त्र उम्मेदवार नै नभएका जिल्लाहरु ५/६ वटाजति छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि केही नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि देशव्यापी रुपमा स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने लहर चलेको थियो । पछि पत्रकार रवि लामिछानेले उनीहरुलाई समेट्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरी कतिपयलाई टिकट समेत दिइसकेकाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरु समेत दलको उम्मेदवारको रुपमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?