+
+

ढोरपाटनका शिकारी : मुलुकका लागि खर्चालु पर्यटक

ढोरपाटन शिकार आरक्षमा शिकारको याम सुरु भएको छ । शिकारका लागि विभिन्न मुलुकबाट ढोरपाटन आउने पर्यटकहरु खर्चालु मानिन्छन् ।

अच्युत पुरी अच्युत पुरी
२०७९ असोज २७ गते १९:३०

२७ असोज, काठमाडौं । ढोरपाटन शिकार आरक्षमा शिकारको याम सुरु भएको छ । नेपालमा १५ असोजदेखि १५ वैशाखबीचको समयलाई शिकार याम तोकिएको छ । कात्तिक/मंसिर र चैत/वैशाख गरी दुई सिजनमा यस आरक्षमा शिकारको अनुमति दिइन्छ ।

पछिल्लो एक दशकदेखि ग्लोबल सफारीजमार्फत शिकारी भित्राइरहेका कम्पनीका प्रबन्ध निर्देशक शम्शेर पराजुली यस पटक पनि आफ्ना शिकारीसँगै फिल्डमै हुनेछन् । उनका अनुसार यो सिजनका लागि कुल ९ वटा नाउर र ७ वटा झारलको शिकार गर्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति दिएको छ ।

ढोरपाटन शिकार आरक्षले अनुमति दिइएको संख्या, पर्यटक र उनीहरुको सहयोगीका गतिविधिलाई नियमनको काम गर्छ । सोही अनुसार शिकारी पर्यटकहरु नेपाल आउने क्रम सुरु भएको उनले जानकारी दिए । विभागले एक वर्षमा दुई सिजनमा गरी करिब दुई दर्जन नाउर र एक दर्जन झारलको शिकार गर्न सकिने गरी अनुमति दिन्छ ।

कसरी लिइन्छ अनुमति ?

नेपालमा शिकारी भित्राउन पाउने गरी अनुमति प्राप्त कम्पनी आधा दर्जनको संख्यामा मात्र छन् । जब विभागले शिकारका लागि बोलपत्र आह्वान गर्छ, यी कम्पनीहरुबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले क्रमशः शिकारको अनुमति पाउँछ । सोही अनुसार कम्पनीहरुले शिकारी नेपालमा भित्राउँछन् । विभागले एक नाउरका लागि न्यूनतम डेढलाखसम्म मूल्य राखेर बोलपत्र निकाल्छ । तर, तीव्र प्रतिस्पर्धाका कारण यो सिजन एक नाउरका लागि १६ देखि २० लाख रुपैयाँसम्ममा टेन्डर परेको छ ।

ढोरपाटन शिकार आरक्षमा कुल ६ वटा ब्लक छन् । ब्लक अनुसार फरक फरक मूल्यमा प्रतिस्पर्धा हुन्छ । पराजुलीका अनुसार यस पटक चर्को मूल्यमा प्रतिस्पर्धा भएको छ । एक झारलको शिकार गर्न विभागले तोकेको न्यूनतम मूल्य ७५ हजार रुपैयाँ हो । तर, यस वर्ष १ लाख ६० हजारदेखि ६ लाख रुपैयाँसम्ममा झारल शिकारको अनुमति जारी भएको छ ।

कम्तीमा दुई साता फिल्डमा खटिन्छन् शिकारी पर्यटक

नेपालमा शिकार याम सुरु भएपछि पर्यटकको आगमन सुरु हुन्छ । सोही अनुसार कम्पनीहरुले प्याकेज बिक्री गर्छन् । प्रबन्ध निर्देशक पराजुलीका अनुसार यसरी आउने पर्यटक कम्तीमा दुई साता फिल्डमा बस्छन् । उनीहरुलाई आधार शिविरसम्म हेलिकप्टरमा लैजाने गरिन्छ । त्यसअगाडि नेपाली सहयोगीहरु फिल्डमा खटिसकेका हुन्छन् । अनुगमनमा खटिने आरक्षका कर्मचारी समेत साथमा रहन्छ । सोही दौरान तोकिएका जनावरहरुको शिकार गरिन्छ । अनुमति प्राप्त कम्पनीले अभियान सम्पन्न भएपछि जनावरहरुको संरक्षणका लागि स्थानीय समुदायका लागि समेत निश्चित रकम दिएर मात्र फिर्ता हुन्छन् ।

खर्चालु पर्यटक भित्राउने माध्यम

नेपालमा ढोरपाटन मात्र शिकार गर्न पाइने एक मात्र गन्तव्य हो । सोहीकारण उच्च हिमाली भेगमा हुने साहसिक शिकारका लागि नेपाल लोकप्रिय गन्तव्य भित्र पर्ने पराजुली बताउँछन् ।

बोलकबोल अनुसार विभागलाई तिर्नुपर्ने रकमदेखि नेपालमा रहँदाको खर्चसम्मलाई जोड्दा सबैभन्दा बढी खर्च गर्ने खर्चालु पर्यटक भित्राउने माध्यम शिकार पर्यटन रहको उनी बताउँछन् ।

‘प्रतिपर्यटक खर्च ठ्याक्कै यति हुन्छ भन्न सकिन्न,’ उनी भन्छन्, ‘तर, धेरै खर्च गर्ने पर्यटनको माध्यममा ढोरपाटन शिकार अभियान अगाडि छ ।’

कुन देशबाट भित्रन्छन् धेरै शिकारी

पछिल्लो ५ वर्षको तथ्यांकमा नेपालमा सबैभन्दा बढी अमेरिकाबाट शिकारी भित्रने गरेको पराजुलीले बताए । दोस्रो आकर्षण रसियाली शिकारीको रहेको छ ।

यस पटक युद्धका कारण रसियाबाट त्यति उत्साह नदेखिएको उनले बताए । युरोपेली मुलुकमध्ये स्पेनबाट बढी पर्यटक आउने गर्छन् । स्पेनमा मात्र ३ लाख शिकारी रहेको उनले जानकारी दिए । अन्य मुलुकमा बढी यूरोपेली नागरिक बढी हुने उनको भनाइ छ ।

पर्यटकले शिकार गरेको जनावर लैजान पाउँछन् ?

पर्यटकले आफूले शिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अंग आफ्नो मुलुक लैजान पाउँछन् । यसका लागि विभागले सिफारिस पत्र दिने गर्छ । सोही आधारमा कम्पनीहरुले आफ्ना ग्राहकको घरसम्मै पुग्ने गरी यी अंगहरु कुरियर गरिदिन्छन् ।

नेपालमा आउने शिकारीहरुले आफूलाई चाहिने बन्दुक आफ्नो मुलुकबाटै लिएर आउँछन् । उनीहरुको बन्दुकलाई अस्थायी अनुमति प्रदान गर्न कम्पनीहरुले गृह मन्त्रालयसँग सहजीकरण गरिदिन्छन् । यस सिजनका लागि सबै शिकारीले अस्थायी अनुमति पाइसकेको पराजुलीले बताए ।

‘नेपालमा शिकारका लागि चाहिने स्तरका हतियार राख्न पाउने अधिकार छैन, उनी भन्छन्, सोहीकारण हतियार शिकारी स्वयंले ल्याउनु पर्छ ।’

नेपालीलाई बँदेल मार्ने अनुमति, तर छैन आकर्षण

ढोरपाटन शिकार आरक्षमा विदेशीले मात्र झारल र नाउरको शिकार गर्न पाउँछन् । यसअघि यस्तो अनुमति लिने पर्यटकले बँदेल र रतुवा समेत मार्न पाउने सुविधा थियो । अहिले यो सुविधा हटाइएको छ । रतुवा मार्न भने बन्देज नै लगाइएको छ ।

बँदेल भने नेपाली नागरिकले अनुमति लिएर मार्न सक्छन् । तर, झन्झटिलो प्रक्रियाका कारण नेपाली भने शिकारका लागि आकर्षित नरहेको पराजुलीले बताए । ‘यसका लागि अनुमतिप्राप्त बन्दुक भएको हुनुपर्छ, पर्यटकले जस्तै प्रक्रिया पूरा गरी अनुमति लिनुपर्छ, सोहीकारण नेपालीको आकर्षण शिकारमा देखिँदैन’ उनले भने ।

तस्वीर सौजन्य : शम्शेर पराजुली

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?