+
+

‘के घर के घर डेरा’ले फेस्टिभल मुड सेट गर्छ : दीपेन्द्र के खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १६:०५

काठमाडौं । प्रदीप रिमालले ‘के घर के डेरा’ निर्देशन गरेको ३७ वर्षपछि सोही शीर्षकमा नयाँ फिल्म रिलिज हुँदैछ । शीर्षक एउटै भए पनि यी दुई फिल्मको सौन्दर्यशास्त्रमा आधारभूत भिन्नता छ ।

पहिलो ‘के घर के डेरा’मा प्रेम पक्ष केन्द्रमा थियो । दोस्रो ‘के घर के डेरा’ले घर हुने वा नहुनेको परिस्थिति चित्रण गर्छ । समाज र मान्छेको जीवनसँग फिल्म बनाउन माहिर दीपेन्द्र के खनाल निर्देशित नयाँ फिल्मले सहरका मध्यमवर्गको ‘घर बनाउने’ सपनाको कथा पेस गर्छ ।

जसरी सहर अनेक सपना र मान्छेको कोलाज हो, उसैगरी निर्देशक खनालले फिल्ममा अनेक चरित्रको बान्की बुनेका छन् । इमान्दार कमाइ गर्ने मान्छे, उसकी पत्नी, डन, कर्मचारी, पुलिस, व्यापारीजस्ता चरित्रको कोलाज हो यो फिल्म ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खनालले घर र डेराको दूरीलाई फिल्मले चित्रण गर्ने बताए । फिल्म व्यवसायिक रुपमा सफल हुने आशा राख्दै उनले फिल्मले तिहारको ‘फेस्टिभल मुड’ निर्माण गर्ने बताए ।

‘यो फिल्मको मुख्य कथावस्तु नै घर हो । घर मान्छेको सपना हो । घर र डेराबीचको दूरी नै फिल्म हो,’ निर्देशक खनालले भने, ‘यति मात्र होइन, तिहारको मुड पनि यसले सिर्जना गर्छ ।’

मानिसहरु अध्यात्मभन्दा भौतिक कुरा हासिल गर्ने होडमा लागेको भन्दै मानवीय प्रवृत्तिको यो पक्षलाई फिल्मले व्यंग्य गर्ने उनले बताए । ‘साथै दर्शकहरु हाँस्न चाहन्छन्,’ दीपेन्द्रले भने ।

कलाकारहरु के भन्छन् ?

मल्टिस्टारर फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको प्रमुख भूमिका छ । ‘दुई नम्बरी’पछि दुई साताकै अन्तरालमा दयाहाङ राई ‘के घर के डेरा’मार्फत दर्शकमाझ आउँदैछन् ।

यसबारे सोधिएको जिज्ञासामा दयाहाङले दुवै फिल्ममा आफूले गरेको चरित्रको मनोविज्ञान र द्वन्द्व भिन्न हुने भएकाले दर्शकले भिन्न महसुस गर्ने दाबी गरे । ‘दुई नम्बरी’मा सिकारीको भूमिकामा देखिएका राई यो फिल्ममा एक मध्यमवर्गीय पुरुषको भूमिकामा छन् ।

‘के घर के डेरा’ हिट भए यस वर्ष बक्स अफिसमा दयाहाङको ह्याट्रिक हुनेछ ।

अभिनेता विपिन कार्कीले ‘पशुपतिप्रसाद’को भष्मे डनको इमेजलाई यस फिल्मको शंखे दादाले मेटाइदिने बताए । क्यामेरा अफ भएपछि पनि एक्टिङलाई कन्टिन्युटी दिने र नर्मल अवस्थामा फर्किन मुस्किल पर्ने गरेको अनुभव विपिनले पत्रकार सम्मेलनमा सुनाए ।

‘सबै मान्छेको अभिनयको आफ्नो शैली हुन्छ,’ उनले भने ।

इन्जिनियरकी विद्यार्थी समेत रहेकी अभिनेत्री सुरक्षा पन्तले व्यावसायिक रुपमा पनि घरसँग आफ्नो लगाव रहेको बताइन् । ‘वास्तवमा भावनात्मक रुपमा महिलाहरुले घर चाहन्छन् । व्यक्तिगत रुपमा पनि म घर बनाउन चाहन्छु,’ उनी भन्छिन् ।

निर्देशक खनालसँग काम गर्दा आफूलाई सजिलो हुने भन्दै सुरक्षा उनको काम गर्ने शैलीबाट आफू प्रभावित भएको समेत बताउँछिन् ।

‘के घर के डेरा’ कात्तिक ४ गते प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?