+
+

शरदचन्द्र शाह : जसले राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गरे

विकास रोकामगर विकास रोकामगर
२०७९ असोज २८ गते ६:३८

२८ असोज, पोखरा । नेपाली खेलकुद जगतमा सबैभन्दा बृहत प्रतियोगिताका रुपमा हेरिने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुँदैछ । ३ गते सकिने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तालिका छ ।

देशभरिका हजारौं खेलाडी सहभागी भएको यस प्रतियोगिताको भने २०३८ सालबाट सुरु भएको थियो । यसका सुरुआतकर्ता थिए, राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्कालीन सदस्य सचिव शरदचन्द्र शाह । उनकै अग्रसरतामा ०३८ सालमा राष्ट्रिय खेलकुद उदाउने मौका पाएको थियो ।

तर, प्रतियोगिता करिब ४ दशक पार गर्दै नवौं संस्करणमा आइपुग्दा भने आमजनताले मात्रै नभएर राज्यले पनि स्व. शाहलाई बिर्सन थालेको परिवारजनको गुनासो छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटनको पूर्वसन्ध्यामा स्व. शरदचन्द्र शाह स्मृति प्रतिष्ठानले मुख्य आयोजनास्थल पोखरा रंगशाला अगाडि ‘द ड्वन’ अर्थात् बिहानी नामक फोटो प्रदर्शनी गर्यो ।

प्रदर्शनीमा स्व. शाह सहभागी भएका पहिलो, दोस्रो र तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताका फोटाहरु राखिएका थिए । पहिलो राष्ट्रिय खेलकुद काठमाडौंमा, दोस्रो पोखरामा र तेस्रो प्रतियोगिता वीरगन्ज रंगशालामा भएको थियो ।

प्रतिष्ठानकी महासचिव तथा स्व. शाहकी छोरी मिहिका शाहले राज्यले आफ्नो पिताको योगदानलाई बिर्संदै गएकाले आफूहरुले फोटो प्रदर्शनीमार्फत सम्झिन चाहेको सुनाइन् । ‘उहाँ खेलमा मात्रै होइन सबै क्षेत्रमा उत्तिकै विज्ञ हुनुहुन्थ्यो । तर, अहिले नवौं संस्करण हुँदै गर्दा सबैले बिर्सन थालेका हुन् कि भन्ने लागिराखेको छ,’ उनले भनिन्, ‘खासमा यो सरकारबाटै हुनुपर्थ्यो । तर, परिवारै मिलेर भए पनि सम्झिन खोजिराखेका छौं ।’

शाह परिषद्का पूर्व सदस्यमात्रै थिएनन्, नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष, ओलम्पिक काउन्सिल अफ एसियाका पूर्वउपाध्यक्ष र वर्ल्ड तेक्वान्दो संघका पूर्वउपाध्यक्षसमेत थिए ।

सुरुमा प्रतियोगिता सुरु गर्दा प्रत्येक २/२ वर्षमा र त्यसको बीच-बीचमा अन्तर नगरस्तरीय प्रतियोगिता योजनासहित काठमाडौंको दशरथ रंगशालामा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । तर, बीचमा विविध कारणले ४ दशक बढी भइसक्दा पनि बल्ल नवौं संस्करण हुँदैछ ।

पूर्व राष्ट्रिय खेलाडी तथा प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव तेज गुरुङका अनुसार नेपालको खेल विकासको ‘टर्निङ प्वाइन्ट’ नै २०३८ साल हो । ‘त्यहाँबाट सुरु भएको खेलकुदले संस्थागत रुपमा नेपालको खेलकुद प्रतियोगिता परिपाटीको विकास भयो,’ उनी भन्छन्, ‘उहाँको (शरदचन्द्र शाहको) योगदान नेपाली खेलकुद जगतमा सधैं स्मरणीय छ ।’

गुरुङ नेपालको मात्रै होइन, दक्षिण यसियाकै खेलकुद विकासका पिताका रुपमा शाहलाई सम्झन्छन् । ‘वास्तवमा उहाँ नेपालमै इतिहासको एउटा मुर्धन्य व्यक्तित्व हो । उहाँले खेलकुद क्षेत्रमा खेल्नु भएको भूमिका असाध्यै स्मरणीय छ,’ गुरुङ भन्छन्, ‘आधुनिक ओलम्पिकको जन्मदाता भनेर पिएर्र दि कबर्टनलाई मानिन्छ । त्यस्तै साउथ एसियन खेलको पिताको रुपमा पनि शाहलाई सम्झिनु उपयुक्त हुन्छ जस्तो लाग्छ ।’

शुक्रबारबाट औपचारिक सुरु हुन लागेको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता भने गण्डकीमा पहिलो होइन । यसअघि २०३९ सालमा पहिलोपटक दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । तत्कालीन समयमा पनि राष्ट्रिय खेलकुदलाई गण्डकीमा ल्याउन शरदचन्द शाहले नै जोडबल गरेको पूर्वखेलाडीहरु स्मरण गर्छन् ।

त्यतिबेला नै हालको पोखरा रंगशालाले पनि थुप्रै भौतिक संरचना पाएको थियो । दोस्रो राष्ट्रिय खेलकुदका लागि तयार पारिएको फुटबल स्टेडियम ०७२ सालको भूकम्पले क्षति पुर्याएपछि अहिले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्यारापिट बनाइएको छ ।

पोखरा रंगशाला

लोकदोहोरी गायक प्रजापति पराजुली स्व. शाहकै जोडबलका कारण दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछि गण्डक क्षेत्रमा खेल विकासले फड्को मारेको दाबी गर्छन् । ‘साँच्चिकै खेलकुदलाई फड्को मार्ने प्रेरणा नै दोस्रो राष्ट्रिय खेलकुद भएपछि पोखराबाटै मिलेको हो भन्ने मैले सम्झन्छु,’ उनी भन्छन् । तत्कालीन समयमा लोक गीतलाई पनि प्रतियोगितामा समावेश गरिएको थियो ।

पूर्वराष्ट्रिय खेलाडी खड्गबहादुर रानाभाट आफूले स्व. शाहलाई पहिलोपल्ट २०२६ सालमा भेटेको स्मरण गर्छन् । ‘उहाँसँगसँगै हिँड्न पनि डर लाग्थ्यो । तर, सँगै हिँड्दा कहिल्यै बोर फिल पनि हुँदैन थियो,’ उनले सम्झिए ।

अहिले शाहको भौतिक शरीर नभए पनि उनको योगदान पछिल्लो पुस्तालाई मार्गदर्शक बन्ने तेज गुरुङ सुनाउँछन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?