+
+

अंशु सदा हत्या प्रकरण : अपहरणकारी पछ्याउँदा भेटियो पलङमुनि शव

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज २८ गते १७:२९

२८ असोज, विराटनगर । सिरहाबाट अपहरणमा परेका १७ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव भेटियो । सिरहाको गोलबजार घर भएका अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६ का राकेश ठाकुर छन् ।

कार्कीसँग ठाकुर र मण्डलको विराटनगरमै आएर चिनजान भएको देखिएको प्रहरीले बताएको छ ।

फिरौती निकाल्दा समातिए

सिरहाको गोलबजार नगरपालिका ३ बस्ने १७ बर्षीय अंशुलाई मंगलबार मोटरसाइकलमा आएका ३ जनाको समूहले लिएर गएका थिए । त्यसको भोलिपल्टै सदाको परिवारलाई फोन गरेर १ लाख रुपैयाँ फिरौती मागेका थिए । ‘फिरौती माग्न फोन गर्दा मैले पनि अपहरणकारीसँग कुरा गरेको थिएँ’ वडा सदस्य बेचन साह हलुवाई भन्छन्, ‘मान्छे गरीब छ, कहाँबाट यत्रो रकम दिन सक्छ भनेर भनेका थियौं । तर उनीहरुले नदिए मारिदिने बताएका थिए ।’

गाउँकै विद्यालयमा कक्षा ९ मा अध्ययनरत अंशुको हत्या गरिदिने धम्की पाएपछि परिवारजनले खोजेर अपहरणमा संलग्नमध्ये एकको खातामा १० हजार रुपैयाँ पठाइदिएका थिए ।

बिहीबार नै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा अंशुको खोजीका लागि निवेदन पनि दिएका थिए । फिरौती रकम जम्मा गरिदिएको खाताका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । त्यसका अधारमा शुक्रबार बैंकमा पैसा निकाल्न पुगेका कार्की र मण्डल पक्राउ परे । तर उनीहरुले अंशुको हत्या गरिसकेको पाइएको छ ।

बिहीबार अप्सरा गेष्ट हाउसभित्र इँटा प्रहार गरी उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । युवकको मुख रुमालले बाधेर इँटाले प्रहार गरी हत्या गरेको देखिएको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

पक्राउ परेकाहरुले प्रहरीलाई शव भएको ठाउँसम्म पुर्‍याएका थिए । ‘पक्राउ परेकाहरुलाई हामीले सोधपुछ गर्दा अपहरणपछि हत्या गरिसकेको बयान दिए’, एसपी कोइरालाले भने, ‘होटलमा शव भेटियो ।’ प्रहरीले ठाकुरलाई पनि होटलमै पक्राउ गरे ।

हत्या आरोपमा पक्राउ परेकाहरु ।

अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा २ वटा बेड छ । बिहीबार राति युवकको हत्यापछि शव एउटा बेडकोभित्र पट्टी हालेर उनीहरु त्यही कोठामा बसेको पाइएको छ ।

होटल फेरिफेरि बन्धक बनाए

अपहरणकारी समूहले हत्या गर्नुअघि विराटनगरमा होटल फेर्दै अंशुलाई बन्धक बनाएको खुलेको छ । प्रहरीका अनुसार यो समूहले अंशुलाई २४ असोजमा धनकुटा लजमा गएका थिए । २६ गते त्यहाँबाट निस्किएका उनीहरु अप्सरा गेष्ट हाउसमा पुगे ।

शुक्रबार बिहान कोठा सफा गर्न खोज्दा होटलका कर्मचारीलाई प्रवेश गर्न समेत दिएका थिएनन् । ‘विहान म आफैं कोठा सफा गर्न गएको थिएँ, तर आफैं सफा गर्ने भन्दै भित्र जान दिनु भएन’, होटलका कर्मचारी मानव श्रेष्ठले भने, ‘बरु अझै एक साता बस्छौं, अर्काे कोठा पनि दिनुप¥यो भन्दै थिए ।’

उनका अनुसार २६ गते बेलुका ६ बजेतिर चार जना आएका थिए, इन्ट्रीमा २ जनाको मात्र नाम छ । मानवले भने, ‘आउँदा सामान्य रुपमा आएका थिए, आज प्रहरी आएपछि मात्रै हत्या भएको थाहा पाएँ ।’ फिरौती बापतको रकम समयमा नदिएका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

अंशुका बुबा वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । मृतकका ५ दिदीबहिनी छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?