+
+

दिनेश कोइराला भन्छन्– अब चितवनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्छ

‘माओवादी केन्द्रको समेत समर्थन हासिल गर्ने प्रयास गरिहेका छौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते ९:१६

२९ असोज, चितवन । नेकपा एमालेको समर्थनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले माओवादी केन्द्रको समेत समर्थन हासिल गर्न प्रयास गरिरहेको बताएका छन् ।

आफ्नो उम्मेदवारीबाट तरंग सिर्जना भएको भन्दै उनले अब चितवनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने दाबीसमेत गरेका छन् ।

उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, ‘अब राष्ट्रिय राजनीति पहिले जस्तो हुँदैन । अब राष्ट्रिय राजनीतिलाई केही गिरोहको हातमा छाड्न सकिँदैन । अब नेपाली कांग्रेसलाई भत्काउन दिइँदैन । अब सशक्त हस्तक्षेप गरिन्छ । यही हस्तक्षेपका लागि उम्मेदवारी हो ।’

सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई अघि सारेको बेला कांग्रेस नेता कोइरालाले बागी उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको समेत उम्मेदवारी परे पनि एमालेले न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको थियो ।

आफ्नो उम्मेदवारीको औचित्यबारे प्रष्ट्याउने प्रयास गर्दै पत्रकार सम्मेलन गरेका कोइरालाले अन्य दलहरुबाट समेत मौन समर्थन प्राप्त गरेको दाबी गरे । माओवादी केन्द्रसहित अन्य दलबाट पनि समर्थन पाउने उनले विश्वास व्यक्त गरे ।

‘शान्तिपूर्ण तथा रचनात्मक क्रान्तिलाई समर्थन गर्न सबै राजनीतिक दललाई अपिल गरेका थियौं । त्यस क्रममा नेकपा एमालेले औपचारिक रुपमा समर्थन गरिसकेको छ भने अन्य कतिपय दलहरुले मौन समर्थन गरिसकेका छन्,’ कोइरालाले भने, ‘बाँकी रहेका दलहरुले पनि हामीलाई समर्थन गर्ने दृढ विश्वास लिएका छौं ।’ यसका लागि विभिन्न राजनीतिक दलहरुसँग हाम्रो वार्ता चलिरहेको छ ।’

उनले अगाडि भनेका छन्, ‘हामीले माओवादी केन्द्र बाहेकका राजनीतिक दलहरुको समर्थन हासिल गर्ने विश्वास लिएका छौं । तैपनि माओवादी केन्द्रको समर्थन हासिल गर्न भने प्रयास गरिरहेका छौं ।’

नेपाली कांग्रेस पार्टीलाई निजी जस्तो बनाउन खोजिएको भन्दै उनले अब कांग्रेसलाई माओवादीको भ्रातृ संगठन जस्तो बनाउन नदिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?