+
+

सर्वोच्च नागरिक : हरदिन सक्रिय रहे, शानले गए

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ असोज ३० गते २०:३०

३० असोज, काठमाडौं । बिहान एक कप कालो चिया । साँझ टुच्च एक पेग ब्ल्याक लेबल । नत्र अय्ला । सत्यमोहन जोशीले यो पंक्तिकारसँग केही समय अगाडि भनेका थिए, ‘चिया र रक्सी दुवै अम्मल हो । तर जीउलाई मिलाउन जान्नुपर्छ ।’

डाक्टरलाई भेट्नैपर्ने बाध्यता आइनलागुन्जेल सत्यमोहन जोशी डाक्टर भेट्न चाहँदैनथे । ‘डाक्टरले केही न केही समस्या देखाइहाल्छ, उसको कामै हो,’ उनी भन्थे, ‘बरु यत्तिकै नांगो पैतालाले बिहानको शीतमा दुबोतिर हिँड्यो, आफूलाई तन्दुरुस्त राख्यो । यसैले काम गर्छ ।’

उनले मोबाइल फोन बोकेनन् । मोबाइल आएपछिका सुरुका केही महिना गोजीमा हालेर हिँडेछन् । जतिखेरै ट्याङट्याङ गर्ने, गरिराखेको कामलाई डिस्टर्ब गर्ने जिनिस् भन्ठानेर त्यसलाई बिदाबादी गरेछन् । अलिक महिना अगाडिसम्म उनलाई घरको ल्यान्डलाइनमा भेटिन्थ्यो । ‘फोनले दिक्क लगाउँछ, बरु यत्तिकै यत्तिकै शान्त बस्नु ठिक छ,’ उनी भन्थे । पत्नी राधादेवीसँग खित्खित् हाँस्दै बसिरहेका भेटिन्थे । ‘वी आर ह्याप्पी,’ घरिघरि अंग्रेजी बोल्न मन पराउँथे ।

बुढिँदै गएकी पत्नीलाई दिक्क नलागोस् भनेर टोलकै सहेलीहरुसँग झ्याम्मिने चाँजो मिलाएका थिए । ‘उसले पढेलेखेकी त छैन, तर सुन्न र बोल्न त सक्छे नि,’ सत्यमोहनले यो पंक्तिकारलाई भनेका थिए । आफ्नो घरमा उनीहरुका बीचमा प्रज्ञापारमिता लगायत सत्संग गराउने गर्थे ।

र, आफू अर्को कुनामा व्यस्त रहन्थे । सत्यमोहनलाई भेट्न समय लिनुपर्थ्यो । किनभने उनी सधैं भाषा, संस्कृति, इतिहास र वाङमयका काममा कहीँ कतै पुगिरहेका हुन्थे । उनी हरेक दिन काम गर्थे । ०७१ सालको कुनै बिहान यो पंक्तिकारले उनलाई कीर्तिपुरको माइक्रोबसमा भेट्यो । ‘म बाघभैरव जान लागेको,’ उनले भनेका थिए ।

माइक्रोमा वृद्ध अशक्तहरुका लागि सिट छुट्याएको हुन्छ । उनलाई त्यसमा बस्न मन लाग्दो रहेनछ । पाटन बखुःबहालको घरबाट कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीसम्मको सात किमि बाटो पैदल हिँड्ने गर्दा रहेछन् । पछिल्ला वर्षमा चाहिँ बिसन्चोले त्यत्रो बाटो हिँड्ने अवस्था रहेन ।

तीनपल्ट मदन पुरस्कार पाउने एकमात्रै लेखक हुन् सत्यमोहन । २०१४, २०१८ र २०२८ सालमा उनले ती पुरस्कार पाए ।

पछिल्ला वर्षमा उनका तीन नाटक देखाइए । मण्डला थिएटरले कर्णालीको लोककथामा आधारित ‘सुनकेशरी’ धेरै हप्तासम्म देखायो । थिएटर भिलेजले चारुमती, अनि शिल्पी थिएटरले प्रस्तुत गरेको महिपाः लाखे निकै चर्चामा रहे ।

प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका बेला उनले नेपाली खस सभ्यताको व्युत्पत्ति थलो कर्णालीस्थित सिँजाखोलामा गएर अनुसन्धान थाल्ने निधो गरे । त्यहाँको भाषा, लोकजीवन, संस्कृतिलाई समाजशास्त्रीय, अर्थशास्त्रीय आँखाबाट चिहाए । कर्णार्ली विकट छ, गरिब छ भन्ने सबैलाई थाहा थियो, तर कर्णाली धनी छ भन्ने थाहा कमैलाई थियो । जोशीसहितका पाँच अनुसन्धाताको टिमले लामो समय दिएर अध्ययन गर्यो । यही अनुसन्धानको प्रतिफल २०२७ सालमा कर्णाली लोकसंस्कृति नामक पुस्तक पाँच भागमा प्रकाशित भयो ।

सत्यमोहनले पुरातत्व विभागको पहिलो डाइरेक्टरका रूपमा प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामग्री संरक्षणका लागि पहल लिएका थिए ।

सँस्कृतिकर्मीको रुपमा उनका धेरैजसो चिन्तनहरु  मौलिक  थिए । भूकम्प जाने बित्तिकै यो पंक्तिकार सत्यमोहनलाई भेट्न गएको थियो । भूकम्पले धरहरा ढलेकोमा धेरैको चासो थियो । मिडियाहरुमा पनि धरहराले नै प्राथमिकता पाइरहेको थियो । तर सत्यमोहनको चासो भने काष्ठमण्डपमा थियो । धरहरा भत्किएको भन्दा बढी काष्ठमण्डप भत्किएकोमा चिन्तित थिए उनी । हाम्रो मौलिक सम्पदा धरहरा होइन, काष्ठमण्डप हो भन्थे उनी । धरहरा ढल्दा धेरै मानवीय क्षति भएकोमा भने उनी दुःखी थिए ।

सत्यमोहनले रेडियो पेकिङ चीनमा छ वर्ष बिताए । नेपाली भाषामा समाचार प्रसारण गर्ने र  चिनियाँलाई नेपाली भाषा सिकाउने काम गरे । चीनका केही साहित्यिक कृति नेपालीमा उल्था पनि गरे । उनले नेपाली र नेवारी भाषामा सम्पादन गरेका, संकलन गरेका र लेखेका सबै पुस्तकको संख्या जोडा ६० नाघ्छ ।

राज्यले उनलाई वाङमय शताब्दी पुरुष भनी सम्मानित गरेको छ । नागरिकस्तरमा उनले सिंगै देशदेशावरको माया पाएका छन् । बुढेसकाललाई वरदान भनी अर्थ्याउने सत्यमोहनले अन्तिम घडीसम्म काम गरे । कामको जीवन नै शानको जीवन हो । उनले हरेक दिन काम गरे । शानका साथ बिदा भए ।

उनको शरीर जलाइने छैन, अध्ययनका लागि राखिने छ । सय वर्ष नाघेर बिदा भएका यी सक्रिय सर्वोच्च नागरिकको लागि योभन्दा सार्थक जुनी के हुन्छ !

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?