+
+
नवौं राष्ट्रिय खेलकुद :

३८ वर्षीया विन्द्राले छोरीका लागि जितेको स्वर्ण

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ कात्तिक १ गते १२:३५

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार बिहान पोखरामा सम्पन्न म्याराथन स्पर्धाको महिलातर्फ स्वर्ण जित्नु एपीएफकी विन्द्रा धन्के श्रेष्ठ देसारका लागि डेढ दशकको करिअरमा एक अविष्मरणीय उपलब्धि रह्यो ।

८ वर्षीया छोरीलाई ललितपुरस्थित घरमै छाडेर आएकी विन्द्राले पहिलो म्याराथन स्वर्ण छोरीकै लागि समर्पित गरिन् । ‘छोरी घरमा मेरा लागि प्रार्थना गरेर बसेकी छन्,’ विन्द्राले आफूलाई छोरी भेट्न हतार भएको बताइन् ।

एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनर (एम्स)का प्रतिनिधिले गत महिना निर्धारण गरेको आधिकारिक रुटलाई पहिलोपल्ट नवौं खेलकुदमा प्रयोग गरिएको छ । २ घण्टा ५७ मिनेट २३ सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण जितेकी विन्द्राले रुट गाह्रो लागेको बताइन् ।

रजत जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ००.३५ सेकेण्डको टाइमिङ निकालिन् । नेपाल पुलिसकी रेखा विष्टले ३ घण्टा १ मिनेट ३५ सेकेण्डमा दूरी पूरा गरी कांस्य जितिन् ।

३८ वर्षको उमेर, एक सन्तानकी आमा र ४२.१९५ किलोमिटरमा पहिलोपल्ट प्रतिस्पर्धा । त्यसमाथि आठौं राष्ट्रिय खेलकुदकी रजत तथा १३औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता एपीएफकै पुष्पा भण्डारी, आर्मीकी विश्वरुपा बुढा लगायतका युवा धावकलाई उछिनेर स्वर्ण जित्नु चानचुने सफलता होइन ।

उनी आफैंलाई पनि स्वर्ण जित्छु भन्ने आश थिएन । ‘कम्तिमा पदक जित्छु भन्ने थियो,’ सुरुदेखि एउटै पेसमा दौडिएर सफलता पाएकी उनले भनिन्, ‘सुरुमा आर्मीकी बहिनी (विश्वरुपा बुढा) अगाडि जानुभयो । पुष्पा र म सँगै दौडिरहेका थियौं । पुष्पालाई उछिनेर विश्वरुपालाई पछ्याउन थालें । ३२ किलोमिटरपछि उनलाई उछिनें ।’

१६ वर्षदेखि व्यवसायिक खेलाडीका रुपमा रहेकी विन्द्रा हाफ म्याराथनमा भने नेपालका स्थापित धावकमध्ये एक हुन् । उनले २०७२ सालमा आमा बनेपछि पनि दौडलाई निरन्तरता दिइन् । गत जेठमा एसियाडका लागि राष्ट्रिय टिम छनोट हुँदा म्याराथनको विजेता बनेपछि उनले नवौंका लागि तयारी थालिन् । ‘हाफ म्याराथन खेलिरहेको भएर गुरुहरुले म्याराथन पनि सक्छौ भनेर हौसला दिनुभयो । एकपल्ट हेरौं न त भनेर दौडिएको हुँ,’ विन्द्रा भन्छिन् ।

पाँचौं संस्करणदेखि राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेकी विन्द्रा मध्यम र लामो दूरीका धेरै स्पर्धामा सहभागी सफल छिन् । २०६५ मा काठमाडौंमै भएको पाँचौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलका लागि १० हजार मिटरमा सहभागी विन्द्रा पदकको छेउछाउ पुग्न सकिनन् । लगत्तै विभागीय टोली एपीएफमा अनुबन्ध भएसँगै उनको प्रदर्शनमा उल्लेख्य सुधार आयो ।

२०६८ मा सुदूरपश्चिममा आयोजित छैटौं राष्ट्रिय खेलकुदको समयमा उनी करिअरकै उच्च लयमा थिइन् । त्यतिबेला एपीएफका लागि उनले ३ स्वर्ण र १ कांस्य पदक जितेकी थिइन् । ८०० मिरटर, १५०० मिटर र ४ गुणा १०० मिटर रिलेतर्फ स्वर्ण विजेता उनी १० हजार मिटरमा कांस्य विजेता हुन् ।

छोरी सानी भएका कारण २०७३ मा पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुद गुमाएकी विन्द्राले तत्कालीन प्रदेश ५ मा आयोजित आठौं राष्ट्रिय खेलकुदमा पुनरागमन गर्दै ५ हजार मिटरतर्फ कांस्य जितिन् । नवौंलाई नै आफ्नो करिअरको अन्तिम प्रतियोगिता भनेर तयारी गरेकी विन्द्राले आगामी दिनमा विश्राम लिने/नलिनेबारे निर्णय गरिसकेकी छैन । ‘सन्यास नै लिन्छु भनेर अहिले नै सोचेको त छैन । शरीरले साथ दियो भने अझै खेल्न सक्छु,’ उनले भनिन् ।

उनले आफ्नो सफलता छोरीसहित श्रीमान, एपीएफ टिम र आफ्नो पहिलो प्रशिक्षक सुशील नरसिंह राणालाई समर्पण गरिन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?