+
+

निर्माण रोकिंदा सिमेन्ट उद्योग समस्यामा

लगानीयोग्य रकम अभावमा निर्माणका कार्य प्रभावित हुँदा सिमेन्टको बिक्री गत वर्षको भन्दा आधाले घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १८:१०
सांकेतिक तस्वीर

१ कात्तिक, काठमाडौं । लगानीयोग्य रकम अभावमा निर्माणका कार्य प्रभावित हुँदा सिमेन्टको बिक्री पनि प्रभावित भएको छ । बजारमा खपत नभए पछि सिमेन्ट उद्योगहरु समस्यातर्फ अघि बढेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबराज थापाले बताए । थापाकाअनुसार सिमेन्टको बिक्री गत वर्षको भन्दा आधाले घटेको छ ।

‘सिमेन्टका खपत गतवर्ष भन्दा आधाले घटेको छ । उद्योग बन्द गर्नपुर्ने अवस्थामा पुगेका छौं,’ अध्यक्ष थापा भन्छन्, ‘न सरकार खर्च गर्छ, न निजी क्षेत्रलाई खर्च गर्न बैंकहरुसँग पैसा छ ।’

बजारमा नियमित मूल्यमा सिमेन्टको बिक्री नहुँदा बैंकको किस्ता र ब्याजदरका लागि सिमेन्ट कम्पनीहरुले लागत भन्दा पनि सस्तोमा बिक्ने सिमेन्ट बिक्री गरिरहेको संघले जनाएको छ । बैंकको ब्याजदर, कच्चा पदार्थको लागत मूल्यमा भारी बृद्धि र बिक्री घट्ने कारणले सिमेन्ट उद्योगहरु शिथिल भएको उनीहरुको दाबी छ ।

सिमेन्ट उद्योगी एवम् संघका कोषाध्यक्ष विकास दुगड पनि सिमेन्ट उद्योगहरु समस्यामा पर्दै गएको बताउँछन् । बैंकले लगानीयोग्य रकम लगानी गर्न नसक्दा निर्माणका काम ठप्प भएको र यसको असर सिमेन्ट उद्योगमा परेको उनले पनि बुझाइ छ ।

‘उद्योगहरुको उत्पादन नियमित छ बजारमा खपत छैन,’ दुगडले भने, ‘यसको मूख्यकारण बैंकहरुले होम लोनमा रकम दिन नसक्नु र सरकारी निर्माण पनि नहुनु हो ।’ बैंक ब्याजदर अझै बढ्ने हल्लाहरु आएको भन्दै दुगडले कोइलाको मूल्य तीन गुणा बढ्नु, डिजेलको मूल्य पनि आकासिनु अर्को दुर्भाग्य भएको बताए ।

सिमेन्ट ओभर प्रडक्सन हुँदा उत्पादित सिमेन्ट मौज्दात राख्ने अवस्था बनेको पनि बताए । बैंक किस्ता तिर्नका लागि उद्योगहरु जबरजस्त बिक्रीमा लाग्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको पनि उनको भनाई छ । सिमेन्टमा विदेशी लगानी रोक्न पर्ने अवस्था आएको र यसबारे सरकारले तत्काल कदम नचाले भएका उद्योगहरुको भविष्य जोखिममा पर्ने पनि उनको भनाइ छ ।

संघका अध्यक्ष थापा निर्यातमा अनुदान सम्बन्धी संशोधित निर्यात कार्यविविधिले साना सिमेन्ट उद्योगीलाई अन्याय गरेको बताउँछन् । निर्यातमा ८ प्रतिशतसम्म नगदअनुदान पाउन ५० करोड बजार बराबरको निर्यात गर्नुपर्ने मापदण्डले साना सिमेन्ट उद्योग लाभान्वित नहुने उनको तर्क छ ।

‘नेपालमा मात्रै सर्भाइव हुन नसके निर्यात नै विकल्प हो तर, यसमा पनि सरकारले भाँजो हाल्यो,’ अध्यक्ष थापा भन्छन्, ‘साना उद्योगले ५० करोडको सीमा कसरी पूरा गर्न सक्छन ? आफ्नै क्षमताले निर्यात गर्ने उद्योगलाई पनि अुनदान हुनु पर्ने थियो ।’

नेपाल निर्माण व्यवसायी महासंघले पनि अहिले निर्माण चक्र मन्दीको अवस्थामा रहेको बताएको छ । लगानीयोग्य रकम अभावमा बैंकहरु पर्दा तयसको असर उत्पादकदेखि निर्माणका उपभोक्तासम्म परेको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

सरकारबाट यथेष्ठ मात्रामा खर्च गर्न नसक्नु, काम भइरहेका आयोजनामा भुक्तानीका लागि झन्झटिलो प्रक्रिया हुनु र नयाँ आयोजना नहुनुले बजारमा नगद प्रवाहमै समस्या भएको उनको भनाइ छ । चुनावमा हुने खर्च र हिउँद लागेका कारण निर्माणका काममा केही गति बढे मात्रै निर्माणसंग सम्बन्धित औद्योगिक चक्र चलायमान हुने आशा बाँकी रहेको सिंहको भनाइ छ ।

नेपाल सिमेन्ट उत्पादक संघकाअनुसार नेपालमा अहिले ६६ वटा सिमेन्ट उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगमा कुल लगानी ३ खर्ब भन्दा धेरै छ । वार्षिक २५ मिलियन टन भन्दा धेरै उत्पादन क्षमता रहेका ती सिमेन्ट उद्योगहरु अहिले बजारको अभावमा कम क्षमतामा चलिरहेको पनि संघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?