+
+

राप्रपा नेपालका पदाधिकारीहरु एकाविहानै किन पुगे प्रचण्ड निवास ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १५:०३

१ कात्तिक, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको चुनाव चिह्न लिएर मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

चुनाव प्रचार अभियानका क्रममा उनी अरु दलका नेता कार्यकर्तालाई एमाले प्रवेश समेत गराइरहेका छन् । तर उनकै दल राप्रपा नेपालका पदाधिकारीहरु भने मंगलबार विहान ६ बजेतिरै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, खुमलटार पुगे ।

राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार गएका हुन् ।

भेटमा सहभागीहरुका अनुसार माओवादी नेताहरुकै पहलमा यो भेटवार्ता तय भएको हो ।

४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा १०० भन्दा बढी चुनाव क्षेत्रमा उम्मेदवार उठाएर अध्यक्ष थापा आफू चाहिँ एमालेको चिह्नबाट उठेकोमा राप्रपा नेपालमा असन्तुष्टि छ । खुमलटार पुगेका एक पदाधिकारीका अनुसार एमालेकै चुनाव चिह्नबाट उम्मेदवार भएका थापाले चुनाव जिते राप्रपा नेपाल पार्टी के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ ।

उनी भन्छन्, ‘भोलि केपी ओलीले तपाई संसदीय दलको फलानो पदमा बस्नुस् भन्नुभयो भने उहाँ (कमल थापा)लाई इन्कार गर्न गाह्रो होला । त्यो बेला उहाँको राप्रपा नेपालसँग सम्बन्ध नै टुट्छ कि भन्ने डर छ ।’

हुन पनि चुनाव जिते भनेपनि थापा वैधानिक रुपमा एमालेकै सांसदका रुपमा रहनेछन् । यदि राप्रपा नेपालले समानुपातिक पद्धतितर्फ न्युनतम मत सीमा (थ्रेस होल्ड) कटायो भने पनि थापाले त्यो दलबाट निर्वाचित सांसदको नेतृत्व गर्न सम्भव हुन्न ।

राप्रपा नेपालका नेताहरुमा बन्दै गएको त्रासको मनोविज्ञानलाई बुझेर नै प्रचण्डले पदाधिकारीहरुलाई भेट्न चाहेका थिए ।

छलफलका क्रममा पनि उनले राष्ट्रिय राजनीतिबारे मात्र कुरा गरेनन्, राप्रपाको विगत सम्झिए, पार्टीको टुटफुट र राप्रपा नेपालबारे समेत चासो राखे । उनले आसन्न चुनावमा समेत सहयोगको समेत अपेक्षा राखेका थिए ।

‘हामीले सुरुमै पार्टी प्रवेश गर्ने उद्देश्यले भेटेको होइनौं है भनेर प्रष्ट पारेका थियौं,’ भेटमा सहभागी अर्का एक पदाधिकारी भन्छन्, ‘उहाँले पनि त्यस्तो आग्रह गर्नु भएन । तर चुनावमा सहयोगको अपेक्षा गरेका छौं चाहिँ भन्नुभयो ।’

उनका अनुसार राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा कुन दललाई समर्थन गर्ने भनेर निर्णय गरेको छैन । त्यसैले नेताहरुले कहाँ सहयोग आवश्यक पर्छ भनेर भनेको अवस्था सोच्छौं भन्ने सकारात्मक जवाफ दिएका छन् ।

भेटमा सहभागी सहमहामन्त्री दमन बस्नेत भने प्रचण्डसँग व्यक्तिगत सम्बन्ध पनि भएकाले दशैं तिहारको शुभकामना दिन मात्र गएको बताउँछन् ।

‘पार्टीगत रुपमा भेटेका होइनौं, चियाँ खाउँ न भन्ने भएपछि गएका हौं,’ उनले भने, ‘दशैंतिहारसँगै उहाँलाई गोरखामा जितका लागि शुभकामना दियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?