+
+
कथा :

भृकुटीमण्डपमा भेटिएकी युवती

डा. डिजन भट्टराई डा. डिजन भट्टराई
२०७९ कात्तिक ३ गते १२:२७

एकदिन अघि मात्रै भएको स्थानीय तहको निर्वाचन सकिएर मतगणना सुरुवात भएकाले होला, भृकुटीमण्डप परिसरको भीडभाड हेर्नलायक नै थियो । त्यो भीडबाट थोरै अलग एउटा बुढो रूखमा अडेस लागेर मानौं म उनलाई मात्र नियालिरहेको थिएँ । कालो कुर्ता-सुरुवाल, कालै रंगको स्पोर्टस् सूज, पछाडिपट्टि कालै रबरले बाँधेको लामो कपाल राम्रैसँग सुहाएको थियो । भृकृटीमण्डपको गेट छेउमा उभिएर मान्छेको झुण्डलाई हेर्दै चिच्याउँदै एकनास कराइरहेकी थिइन् उनी । उनको अनुहार असिनपसिन बन्दै गयो । विस्तारै पसिनाको थोपाहरू गाला हुँदै चिउँडोबाट तप्प तप्प झरिरहेका थिए !

उनले लामो श्वास लिइन् । आकाशतर्फ हेर्दै टोलाउँदै शान्त भावमा बोल्न हो कि बर्बराउन थालिन् !

म उनलाई सुन्न थालें ।

‘काठमाडौंमा बस्न थालेको केही समय भइसकेको थियो । म सिनेमा हल गएकी थिएँ । सिनेमा सकिएर बाहिर निस्कँदै गर्दा भीडभाडमा कसैले पछाडिबाट मेरो स्तन नियतवश स्पर्श गर्‍यो । म झस्किएँ, पछाडि फर्किएर हेरें, तर भीडमा कसले स्पर्श गर्‍यो पत्ता लगाउन गाह्रो भयो । म केही अगाडि बढें । मलाई उकुसमुकुस भएर आयो । हत्त न पत्त ट्वाइलेटमा पसें । आफूले आफैंलाई सम्हाल्न सकिनँ, अनायासै आँखाबाट आँशुका थोपाहरू तप्प तप्प झर्न थालें । ऐनामा आफ्नो अनुहार हेरें । कपाल छरिएको थियो अनि उदास अनुहार ! मलाई आफ्नै मलिन अनुहारसँग टिठ लागेर आयो । अनायासै दाह्रा किट्न थालें । आँखामा आगो बलेको थियो ।

म तत्कालै सरासर प्रहरी कार्यालयमा गएर अनुसन्धान गरी कारबाहीका लागि अनुरोध गरें । प्रहरीले पनि बडो सजगतापूर्वक अनुसन्धान गर्‍यो । सीसीटीभीको फुटेज हेर्ने लगायतका अनुसन्धानमार्फत उसले त्यो अपराधीलाई पक्राउ गर्‍यो । उसमाथि मुद्दा चल्यो । त्यो अपराधीको सर्वनाश भएको मेरै आँखा अगाडि देख्न पाउँदा म खुसीले विभोर भएकी थिएँ । मलाई त्यो स्पर्शले भौतिक पीडा त दिएको थिएन, तर … त्यो मेरो मानवीय अस्तित्व र अस्मितामाथिको ठूलै प्रहार थियो ।

पूँजीवादको यो विश्वव्यापी साम्राज्यमा आर्थिक विषयहरूलाई अपराधीकरण गरियो भने पूँजीवाद तासको महल जस्तै ढल्नेछ । यहाँका महान् व्यवसायी, उद्योगपति तथा व्यापारिक घरानाको मुखमा मेरो स्तन स्पर्श गर्नेको जस्तै कलंकको टीका लाग्नेछ ।

मेरी हजुरआमाका पालामा मनपरेकी महिलालाई जबरजस्ती उठाएर लगिन्थ्यो रे ! एक पटक उठाएर खोला कटाएपछि उक्त महिलालाई त्यही अपहरणकारीको श्रीमती हुन बाध्य पारिन्थ्यो रे ! आमाका पालामा समेत ममाथि गरिएको जस्तो यौन दुराचारका विषयहरू सामान्य मानिन्थे रे ! आजका दिनमा ममाथि यौन दुव्र्यवहार गर्ने उक्त अपराधीलाई सजाय काटेर जेलबाहिर आइसक्दा पनि समाजले अझै पनि यौन दुराचारी नै भनेर सम्बोधन गरेको सुन्दा मन आनन्दित हुँदोरहेछ । त्यसैले मानवीय अस्तित्व र अस्मिताको रक्षाका लागि आजको विकसित आधुनिक कानुन र संस्कृतिप्रति साँच्चै आभारी छु ।’

उनी आकाशतर्फ हेर्दै सायद त्यही भीडलाई लक्षित गर्दै उस्तै गरी बर्बराइरहेकी थिइन् … ।

‘तिमीहरूले मानवअधिकारको कुरा गर्‍यौ, महिला अस्मिता रक्षाको कुरा गर्‍यौ ।

यस्ता वाक्यहरू सुन्दा म भित्रभित्रै गद्गद् हुन्थें । तिमीहरूले स्वतन्त्रताको कुरा गर्‍यौ, मानवीय आत्मसम्मानको कुरा गर्‍यौ, त्यति मात्रै होइन, सामाजिक, सांस्कृतिक रूपान्तरणमा तिमीहरूले साँच्चै नै क्रान्ति नै ल्यायौ । यो थाहा पाउँदा मैले दरिला मुट्ठीसहित तिमीहरूको यो व्यवस्थालाई सलाम गरेकी थिएँ ।

मानवीय अस्तित्व र मूल्यको खोजीमा निर्माण गरिएको यो संस्कृति इतिहासकै गर्व थियो । तिमीहरूले रंगभेद र जातिवाद विरुद्धका कुराहरू उठायौ । महिलामाथि हुने बलात्कार, घरेलु हिंसा, बालविवाह, यौन दुराचारका विरुद्ध कुरा उठायौ । मानवीय स्वतन्त्रता, नागरिक अधिकार, यातना विरुद्धको अधिकारको कुराहरू जोडदार रूपमा उठायौ, सोही अनुसारका कानुन र नयाँ संस्कृतिको निर्माण गरिरहेका छौ । मैले सानदार रूपमा तिमीहरूको यस कार्यलाई स्वागत गरिरहेकै थिएँ । मानवीय आत्मसम्मान, अस्तित्व र मूल्यको रक्षाप्रति तिमीहरूले गरेको संघर्ष र योगदानप्रति नतमस्तक छु … ।’

अचानक उनको अनुहारमा आवेश र आक्रोश देखिन थाल्यो । उनी चिच्याइन् ।

‘आज बल्ल मैले तिमीहरूको राजनीति बुझें । तिमीहरूले मानवीय मूल्य र अस्तित्वमाथि गरेको परिभाषा खोक्रो र आडम्बरपूर्ण रहेछ । त्यसैले मलाई तिम्रो यो व्यवस्थाप्रति घृणा छ । तिमीहरू सुनको लेपनमा फलाम र खसीको टाउको देखाएर कुकुरको मासु बिक्री गर्दा रहेछौ । तिम्रा धोका र षड्यन्त्रहरू ऐतिहासिक मूल्यका दृष्टिले अपराधपूर्ण छन् ।’

(मानौं एकछिनका लागि उनको आवेग र आक्रोशको अग्नि निस्तेज हुँदैथियो ।)

‘कथा मेरै हो । गाउँबाट शहर आएकी म एउटा रेस्टुराँमा काम गर्थें । सरकारले मासिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ ज्याला तोकेको थियो तर रेस्टुराँको मालिकले मलाई १२ हजार रुपैयाँमा काम गर्ने भए गर, नभए काम दिन सकिंदैन भने । म विवश थिएँ, लाचार थिएँ । मेरो विवशता र लाचारीको फाइदा उठाएर उनीहरूले मलाई सरकारले तोकेको भन्दा कम ज्यालामा काम लगाउन थाले ।

म बडो संघर्षले काठमाडौंमा बसिरहेकी थिएँ । १२ हजार रुपैयाँको तलबमा कोठा भाडा, खाना तथा अन्य खर्च ! मलाई अहिले थाहा छैन मैले कसरी पुर्‍याइरहेकी थिएँ । दुई महिनापछि मेरो महिना मरेको दिन तलब आएन । एक दुई दिन म चुप लागें । समयमा नै तलब नआउँदा मलाई कोठाभाडा तिर्न, खाद्यान्न किन्न गाह्रो परेको थियो ।

एक दुई दिन पछाडि मैले रेस्टुराँको म्यानेजरसँग तलब मागें । उनले केही दिन ‘पख’ भने । म चुप रहें । एक दिन रेस्टुराँको मालिक आएकै दिन मैले उससँग तलब मागें । त्यो मालिकले मलाई खाउँला जस्तै आँखाले हेर्‍यो । मैले उसँग पैसा माग्दा ठूलै अपराध गरेको भावमा भन्यो, ‘म्यानेजरसँग माग्ने हो, मसँग होइन ।’

मेरा आँखाबाट आँशुका थोपाहरू झर्न थालें । मेरो भक्कानो परेको भावलाई रोक्न सकिनँ । म एउटा कुनामा गएर कसैले नसुन्ने गरी डराईडराई रोएँ । भोलिपल्ट म्यानेजरले मलाई बोलाएर ठूलै निगाहा गरेको भावमा १२ हजार रुपैयाँ तलब दियो र भन्यो, ‘भोलिदेखि काम गर्न नआउनू ।’

केही दिनपश्चात् मैले कपडाको होलसेल पसलमा काम पाएँ । त्यस पसलमा पनि मलाई १२ हजार रुपैयाँ नै दिने भयो । कामको खोजीमा रहेकी मैले तलबको विषयमा केही भनिनँ । काम गरेको ६ महिना बित्यो । ६ महिनापश्चात् पनि मेरो तलबमा वृद्धि भएन ।

मलाई घर खर्च चलाउन साह्रै गाह्रो भएको थियो । त्यही गरिबीमा मैले एक छाक खाना पकाएर दुवै छाक पुर्‍याउनुपर्ने अवस्था भएको थियो । सातौं महिनाको तलब १२ हजार रुपैयाँमा सही छाप गराएर दिइएको थियो । ममा केही विद्रोहको भावना जागृत भयो । मैले त्यही सही छापसहित मलाई न्यूनतम ज्याला भन्दा कम ज्याला दिएको आरोपमा उक्त पसल विरुद्ध श्रम कार्यालयमा उजुरी गरें । श्रम कार्यालयले उक्त पसलको मालिकलाई बोलाएर मलाई १५ हजार रुपैयाँ ज्याला दिलायो । श्रम कार्यालयको बाहिर निस्कँदा निस्कँदै मलाई उसले पसलको कामबाट निकालिसकेको थियो ।

यस्तै यस्तै परिवेशमा मेरो संघर्ष चल्दैथियो । केही समयको संघर्षमा मैले दुःखले १० हजार रुपैयाँ जम्मा गरेकी थिएँ । घरमा आमा बिरामी हुनुहुन्थ्यो । उक्त जम्मा भएको १० हजार रुपैयाँले आमालाई उपचार गराउन काठमाडौं ल्याउन लागेकी थिएँ । मेरो एकजना मित्रले ‘अत्यन्तै जरुरी पर्‍यो, म एक हप्तामा नै रकम फिर्ता गरिदिन्छु’ भनेर पैसा मागे । मैले उनलाई विश्वास गरें र पैसा दिएँ । उनले मलाई एक हप्तामा पैसा फिर्ता गरेनन् । उनीसँग मैले पैसा माग्दा खेरि विभिन्न बहाना बनाउँथे ।

एक हप्तामा फिर्ता गर्छु भनेको पैसा तीन महिनासम्म पनि फिर्ता नगर्दा मलाई असह्य भयो । मैले उनलाई एकदिन धोको फुकाएर गाली गरें । उनले जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा पाऊँ भन्ने निवेदन दिएछन् । केही दिन पश्चात् मैले काम गर्ने ठाउँमा प्रहरी गयो । मलाई सिडियो साबले बोलाउनुभएको छ, हिंड्नुहोस् भन्यो ।

सामाजिक मूल्यहरू, जुन अर्थव्यवस्थासँग जोडिएका हुँदैनन् वा जुन कार्यले तिमीहरूको अर्थव्यवस्थाको सत्तामाथि प्रहार गर्दैन, त्यसमा तिमीहरू निर्ममतापूर्वक नै मानवीय मूल्यको खोजीमा हिंडेका छौ । तर तिमीहरूको अर्थव्यवस्थामाथि प्रश्न उठ्ने तथा जग भत्काउन सक्ने मानवीय मूल्यको संरक्षणलाई कुल्चेका छौ ।

म काम गरेको ठाउँबाट अपराधी जस्तै प्रहरीको अघि अघि लागेर जिल्ला प्रशासन कार्यालय आएँ । सिडियो साबको अगाडि मलाई उसले ठूलो अपराध गरे झैं गरी मैले बोलेका केही गाली मिश्रित शब्दहरू बोलेको हो कि होइन भनी स्वीकार गर्न लगाए । मैले स्वीकार गरें ।

सिडियोले मलाई उसका अगाडि माफी माग्न लगाए । साथै, उसलाई तत्काल पैसा फिर्ता दिन पनि समेत आग्रह गरे । तर उसले सिडियो सावसँग लेनदेनको विषयमा प्रवेश गर्ने अधिकार नभएकोले कानुनी व्यवस्था स्मरण गरायो । त्यसपश्चात्, मलाई सिडियो साबले पैसा उठाउनका लागि अदालत जानका लागि सुझाव दिए ।

१० हजार रुपैयाँका लागि अदालत गएर मुद्दा लड्ने मलाई आँट भएन । त्यसपछि त्यस मानिससँग मेरो बोलचाल बन्द भयो । पछि त्यस्तै ६ महिनापश्चात् मेरो बैंक खातामा उक्त मानिसले १० हजार रुपैयाँ हालिदिएको रहेछ ।

त्यस पछिदेखि मलाई लाग्न थाल्यो, ‘के हो आत्मसम्मान ? के हो मानवीय मूल्य ? के हो मानवीय अस्तित्व ? तिमीहरूले बनाएका सामाजिक मूल्यमा मात्रै यसको खोजी हुने हो ? काम गर्ने मजदुरलाई समयमा नै तलब नदिनु चाहिं तिमीहरूको मानवीय मूल्य विरुद्धको अपराधभित्र पर्छ कि पर्दैन ? मजदुरलाई सरकारले तोकेको भन्दा कम ज्याला दिनु चाहिं तिमीहरूको मानवीय मूल्य विरुद्धको अपराध भित्र पर्छ कि पर्दैन ? रोजीरोटीका रूपमा रहेको कामबाट तत्काल विना कुनै कारण हटाउनु तिमीहरूको मानवीय मूल्य विरुद्ध पर्छ कि पर्दैन ? एक हप्तामा दिन्छु भनेर लिएर सापटी रकम नदिई उल्टै सिडियोमा उजुरी गर्ने कार्य तिमीहरूको मानवीय मूल्य विरुद्धको अपराध भित्र पर्छ कि पर्दैन ? एक हप्तामा फिर्ता दिन्छु भनेर लगेको रकम नौ महिना पछि फिर्ता दिनु तिमीहरूको मानवीय मूल्य विरुद्धको अपराधमा पर्छ कि पर्दैन ?’

तिमीहरू चिच्याएर भन्नेछौ, ‘पर्दैन’ भनेर । किनकि अर्थ-व्यवस्थासँग जोडिएका मानवीय मूल्य विरुद्धका अपराधलाई तिमीहरूले अपराधीकरण गरेका छैनौ । यसलाई अपराधीकरण गर्दा तिमीहरूको आर्थिक सत्ता ढल्नेछ । त्यसैले तिमीहरूले आर्थिक अपराधहरूलाई आपसी लेनदेनका नाममा अपराधीकरण गर्नबाट मुक्त राखेका छौ । विश्वव्यापी पूँजीवाद नै यही सिद्धान्तमा चलेको छ ।

सामाजिक मूल्यहरू, जुन अर्थव्यवस्थासँग जोडिएका हुँदैनन् वा जुन कार्यले तिमीहरूको अर्थव्यवस्थाको सत्तामाथि प्रहार गर्दैन, त्यसमा तिमीहरू निर्ममतापूर्वक नै मानवीय मूल्यको खोजीमा हिंडेका छौ । तर तिमीहरूको अर्थव्यवस्थामाथि प्रश्न उठ्ने तथा जग भत्काउन सक्ने मानवीय मूल्यको संरक्षणलाई कुल्चेका छौ ।

एक अपरिचितले पछाडिबाट बदनियतपूर्वक मेरा स्तनलाई स्पर्श गर्दा मेरो अस्तित्वमाथि नै कसैले धावा बोल्यो भनेर मलाई असाध्यै पीडा भएको थियो, तर उत्तिकै पीडा साहुले मलाई १५ दिनभन्दा बढी पैसा नदिंदा भएको थियो, विना कुनै कारण एक क्षणमा मलाई कामबाट निकाल्दा भएको थियो, आफ्नै साथीले एक हप्तामा दिन्छु भनेर पैसा तीन महिनासम्म नदिई उल्टै प्रहरीद्वारा मलाई पक्राएर जिल्ला प्रशासन कार्यालय पुर्‍याउँदाका बखत भएको थियो । मैले आमाको उपचार गर्न नसकी आमा छट्पटाएको र छोरी मलाई उपचार गर्न कहिले लग्छेस् भनेर उदास भावले मोबाइलमा बोलेका आवाज सुन्दा भएको थियो ।

बदनियतपूर्वक मेरो स्तन स्पर्श गर्ने व्यक्ति अपराधीको रूपमा जेल गयो । समाजमा इज्जत प्रतिष्ठा गुमायो । घरपरिवारको विश्वास गुमायो । आज पनि समाजमा कलंकित भएर बसेको छ । यसमा मलाई सन्तोष छ ।

तर, तलब नदिएर पीडा दिने रेस्टुराँको म्यानेजर, मालिक, होलसेल पसलको मालिक र मेरो पैसा सापटी लगेर समयमा नै नतिर्ने मान्छे सबै आज पनि समाजमा सम्मानित छन् । यसमा मलाई असन्तोष छ । तिमीहरूको यस व्यवस्थामा उनीहरू अपराधी होइनन्, व्यापारी हुन् । के यसको मतलब यो व्यवस्थामा सामाजिक प्रणालीमा मात्र मानवीय मूल्यको खोजी गरिने हो ? के आर्थिक विषयहरूले मानवीय संवेदनामा प्रहार गरेका छैनन् ?

गरेका छन् त ! तर, पूँजीवादको विश्वव्यापी साम्राज्यमा आर्थिक विषयहरूलाई अपराधीकरण गरियो भने यो पूँजीवाद तासको महल जस्तै ढल्नेछ । यहाँका महान् व्यवसायी, उद्योगपति तथा व्यापारिक घरानाको मुखमा मेरो स्तन स्पर्श गर्नेको जस्तै कलंकको टीका लाग्नेछ । त्यसैले यहाँ आर्थिक विषयलाई मानवीय संवेदना, मानवीय मूल्य र अस्तित्वसँग जोड्ने गरी राज्यलाई न कानुन बनाउन दिइनेछ, न आर्थिक विषयलाई अपराधीकरण गर्ने संस्कृतिको निर्माण नै गरिनेछ ।

सामाजिक विषयमा मानवीय संवेदनामाथि भएको प्रहारलाई अपराधीकरण गरी मुद्दा चलाइन्छ, जेलमा कोचिन्छ तर आर्थिक विषयले मानवीय संवेदनामाथि गरेको प्रहारलाई पैसाले परिपूरण गरिन्छ । के यो न्यायसंगत छ ? आर्थिक विषयमा भएको संवेदनालाई किन महत्व दिइएको छैन ? आर्थिक विषयबाट मानवीय अस्तित्व र मूल्यमाथि भएको प्रहारलाई चाहिं किन अपराधीकरण गरिंदैन ? आखिर किन ?’

उनी चिच्याउँछिन् ।

‘के तिमीहरू बलात्कारी जत्तिकै घृणित छैनौ र ? तिमीहरूले पनि बलात्कारीले दिएको जस्तै पीडा श्रमको मूल्यमा ठगेर श्रमिकलाई दिएका छौ । तिमीहरू कानुनलाई गुमराह बनाएर चोर्छाै तर खान नपाएर तिमीहरूकै पसलबाट ५० रुपैयाँको बिस्कुट चोर्नेलाई अपराधीकरण गरी चोरीको आरोपमा जेलमा हाल्छौ । तिमीहरू कानुनलाई गुमराहमा पारी सफेद डकैती गर्छाै तर डाकाको आरोपमा अरूलाई नै जेलमा हाल्छौ । तिमीहरू अर्थव्यवस्थाको माखेसाङ्लोमा पारेर मानिसलाई झुण्डिन बाध्य बनाउँछौ, अनि शोषणले कमाएको पैसाले किनेको बिस्कुट वृद्धाश्रममा दिएर मानवीय मूल्य जोगाएको भाषण गर्छाै । त्यसैले तिमी उत्तिकै घृणित छौ ।

तिमीहरूले मेरा विरुद्ध आर्थिक विषय जस्तो सामान्य विषयलाई मानवीय मूल्यको कलंक भएको बलात्कारसँग तुलना गरेको भनी चर्को आलोचनासहित घृणाको भाव प्रस्तुत गर्नेछौ । मलाई थाहा छ, तिमीहरूले वर्षौंदेखि बनाएको मूल्य नै यही हो । यही मूल्यको सहारा लिएर तिमीहरूले समाजका सोझासादा मानिसलाई म विरुद्ध आगो ओकल्न लगाउने छौ । तर, इतिहासको कालखण्डमा याद राख ! तिमीहरूले गरेको आर्थिक शोषण र यस शोषणलाई मानवीय मूल्यबाट अलग्गै राख्न गरिएको प्रयास लामो समय टिक्ने छैन ।

तिमीहरू विद्यमान कानुन र संस्कृतिका सापेक्षमा सम्मानित छौ । तिमीहरू पैसाको लागि जे पनि गर्न सक्छौ । रक्सी तथा चुरोटको उद्योग खोल्छौ । मानिसलाई बिरामी पार्छौं । उपचार गर्ने अस्पताल तथा औषधिहरू पनि बनाउँछौ । रक्सीबाट पनि पैसा कमाउँछौ, अनि अस्पताल तथा औषधिबाट पनि पैसै कमाउँछौ ।

तिमीहरू क्यासिनो खोल्छौ, मानिसलाई जुवाको लतमा लगाउँछौ र सम्पत्ति लुट्छौ । तिमीहरू महिला अस्मिताको कुरा गरेर कहिले थाक्दैनौ । मानवीय स्वतन्त्रताका नाममा महिलाको आर्थिक विवशताको फाइदा उठाई उसलाई वेश्यावृत्ति गराउँछौ ।

सरकारलाई प्रभावमा पारेर कानुन बनाउँछौ र कर तिरेर उन्मुक्तिको यात्रा तय गर्छाै । अनि तिमीहरूको इशारामा चल्ने राज्य व्यवस्थाले रक्सीको उद्योग खोल्न, जुवाघर चलाउन र वेश्यावृत्ति गर्नका लागि लाइसेन्स दिन्छ ।

अनि तिमीहरू भन्छौ, हामी त कानुनसम्मत ढंगले चलेका छौं । कानुनको परिधिमा रहेर सम्पत्ति कमाएको छौं । तर, के यो मानवीय मूल्यसंगत छ ? तिमीहरूले जे कानुन बनायौ, जुन मूल्यहरू निर्माण गर्‍यौ, सधैं हामीले विना शर्त स्वीकार गर्नुपर्ने ?’

अचानक उनी दार्शनिक जस्तै शान्त हुन्छिन् । छेउमा राखिएको बोतलको पानी घुटुक्क पिउँछिन् । अनि फेरि बोल्न थाल्छिन् ।

‘मलाई थाहा छ, मेरो पूर्ण जीवन मानव सभ्यताको इतिहासमा ११ बजेर ५९ मिनेट ५९ सेकेण्ड पछिको एक सेकेण्ड हो । सायद मेरो जीवन पश्चात् १२ बज्नेछ मेरा लागि, तर हर जीवनका लागि त्यो अन्तिम सेकेण्ड रहिनै रहनेछ । त्यसैले मेरो बुझाइ र विचारमा कुनै नयाँपन छैन, बरु मेरो पुस्ताभन्दा अघिका हजारौं पुस्ताको जगमा उभिएको एउटा सुन्दर फूल मात्र हो, मेरो जीवन ।

मेरो लागि मेरो जीवन मेरो संसार हो । मेरो अन्त्यसँगै मेरो संसारको अन्त्य त हुनेछ, तर मानव जीवनको घुमेको घडीमा त्यो एक सेकेण्डका अनुभूति, खुसी, संघर्ष र व्यवस्थाका षड्यन्त्रलाई प्रस्तुत गर्नु नै मानव सभ्यतामाथिको ऐतिहासिक दायित्व हुनेछ भन्ने मैले बुझेको छु । त्यसैले बाँचेको इतिहासको एक सेकेण्डको एउटा षड्यन्त्रकारी चित्रलाई प्रस्तुत गरेकी छु ।

मलाई तिमीहरूले गाली मात्रै होइन, भित्रभित्रै मेरो मृत्युको कामना गरी सराप्ने छौ, किनकि त्यो तिमीहरूको धर्म हो ।’

उनी आक्रोशित हुँदै बोलिरहिन् ।

‘तिमीहरूको स्वर्ग यही व्यवस्थाको जगमा उभिएको छ । अरूलाई इष्र्याको आगोमा जलाउनु भनेको आफू उनीहरूबाट श्रापित हुनु हो । अर्थव्यवस्थालाई मानवीय मूल्यपरक बनाउने मेरो यो लडाइँमा तिमीहरूको श्राप स्वीकार्य छ … ।’

एकछिन पछि उनी कतै लागिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?