+
+

प्रचण्ड–बाबुरामको धार नै नेपालका लागि उपयुक्त : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते ११:२४
डा. बाबुराम भट्टराई । फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र पछिल्लो समय प्रचण्डबाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त भएको दाबी गरेका छन् ।

नेकपा एमालेतर्फ लक्षित गर्दै उनले अहिले प्रतिगमनको नेतृत्व गरिरहेको शक्तिले पुष्पलालले नेतृत्व गरेको धारभन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेको आरोपसमेत लगाए ।

काठमाडौं क्षेत्र नम्बर ७ मा आज बिहान आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘नेपालको वामपन्थी आन्दोलनको मूलधार पुष्पलालहरुले नेतृत्व गरेको जुन धार हो, त्यो भन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ । हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।

उनले प्रतिगमनकारी शक्तिले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरिरहेको भन्दै कुनैपनि हालतमा त्यो सह्य नहुने बताए । उनले प्रतिगमनलाई रोक्नका लागि पनि आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताए ।

पहिलो संविधान सभाबाट जुन एउटा गठबन्धनको सरकार बन्यो, त्यसले पनि ५ वर्ष पूरा गर्न सकेन । बरु उल्टै हिजो संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लडेका, लागेका हाम्रा कतिपय साथीहरुको मतिभ्रष्ट भएर भनौं, विभिन्न शक्तिहरुको चलखेलको कारणले भनौं, फेरि त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने खालका कामहरु भए । त्यसैलाई यो प्रतिगमन बिरोधी संघर्ष भनेर फेरि यो प्रतिगमनलाई रोक्नको निम्ति हामी एक ठाउँमा आयौं । त्यही क्रममा यो वाम र लोकतान्त्रिक गठबन्धन हामीले निर्माण गरेको हो ।

आगामी मंसिर ४ को निर्वाचनको पहिलो मुद्दा नै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु रहेको बताए । यो अग्रगमनकारी मोर्चाले जित्नैपर्छ । यसले हार्नु भनेको २००७ साल देखिको लडेर ल्याएको लोकतन्त्र धरापमा पर्नु हो, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?