+
+

बाह्य क्षेत्रका सूचकमा सुधारको संकेत, दबाव कायमै

अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि बाह्य क्षेत्रको दबाव भने कम नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अर्थ ब्यूरो अर्थ ब्यूरो
२०७९ कात्तिक ४ गते १७:२४

४ कात्तिक, काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रका सूचकमा सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन–भदौ) को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गएको देखिन्छ ।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा शोधनान्तर स्थितिको घाटा र चालु खाता घाटामा उल्लेख्य कमी आएको छ । विदेशी मुद्राको सञ्चिति थोरै घटेपनि पर्याप्तता सूचक ७.७ महिनाका लागि पर्याप्त रहेको देखिएको छ । रेमिट्यान्स र पर्यटनबाट हुने आयमा समेत सुधार हुँदै जाँदा अर्थतन्त्र सकारात्मक बाटोमा जाने संकेत देखिएको नेपाल राष्ट्र बैंकको आर्थिक अनुशासन विभागका प्रमुख प्रकाश श्रेष्ठ बताउँछन् ।

उनका अनुसार रेमिट्यान्स र भुक्तानी सन्तुलन सुधारोन्मुख देखिए पनि विदेशी विनिमय सञ्चिति घट्नुमा विगतको बक्यौता भुक्तानी हुनु मुख्य कारण हो । बक्यौता भुक्तानीमा सुधार र रेमिट्यान्सको अवस्था यस्तै रहे केही महिनामै अर्थतन्त्र पुरानै अवस्थामा आउने उनको भनाइ छ ।

‘अहिलेकै अवस्था केही महिना रह्यो भने आयात प्रतिबन्ध खुलाउने अवस्थामा पुग्न सक्छौ’ उनले भने । यद्यपि तत्काल नै प्रतिबन्धित आयात खुलाउने अवस्था भने नबनेको उनले बताए । अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि बाह्य क्षेत्रको दबाव भने कम भएको अवस्था नरहेको उनको भनाइ छ । ‘विदेशी विनिमय सञ्चिति घट्न क्रम रोकिएको छैन’ उनले भने ।

औसत बेसरेट १० र कर्जाको ब्याजदर १२ प्रतिशत माथि

कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौमा कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत पुगेको हो । २०७८ भदौमा ८.५७ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर एक वर्षमा करिब साढे ३ प्रतिशत बिन्दुले बढेको हो ।

२०७५ असारमा १२.४७ प्रतिशतसम्म पुगेको कर्जाको भारित औसत ब्याजदर कोभिड–१९ अगाडि फागुन २०७६ मा ११.८० प्रतिशतमा झरेको थियो । कोभिडसँगै कर्जाको माग घटेर बैंकहरुको अधिक तरलता हुँदा २०७८ असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशतसम्म झरेको थियो । तर, गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट बैंकिङ प्रणालीमा अभावसँगै बढ्दै गएको ब्याजदरले पुनः १२ प्रतिशत भन्दा माथि पुगेको छ ।

यस्तै बैंकहरुको औसत आधार ब्याजदर (बेसरेट) नै दोहोरो अंकमा पुगेको छ । भदौमा वाणिज्य बैंकहरुको औसत बेसरेट १०.०१ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ भदौमा औसत आधार ब्याजदर ६.८९ प्रतिशत रहेको थियो ।

२०७९ भदौमा निक्षेपको भारित औसत ब्याजदर ७.८१ प्रतिशत पुगेको छ । २०७८ भदौमा यस्तो ब्याजदर ४.९२ प्रतिशत रहेको थियो ।

रेमिट्यान्समा उल्लेख्य सुधार

भदौ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह करिब २० प्रतिशतले बढेको छ । साउन र भदौमा १८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यस्तै अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । यो वर्ष अमेरिकी डलरमा नै विप्रेषण आप्रवाह बढेको छ । अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले बढेर १ अर्ब ४७ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरको मूल्य बढ्दै गएपछि बढी मूल्य पाइने अवस्थाले नेपालमा रेमिट्यान्स बढ्न पुगेको देखिन्छ । चाडबाड अघिको समय भएकाले पनि यो अवधिमा रेमिट्यान्सको आप्रवाह अन्य अवधिको तुलनामा धेरै हुन्छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति –संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले बढेर १ लाख ३ हजार ८९८ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले बढेर ३९ हजार १८९ पुगेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले बढेर २०६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।

विदेशी मुद्रा सञ्चितिमा दबाव

सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिंदा पनि विदेशी विनिमय सञ्चितिमा भने उल्लेख्य सुधार देखिएको छैन । चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिति १९ करोड अमेरिकी डलरले घटेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा ९ अर्ब ३५ करोड डलरमा झरेको छ ।

नेपाली मुद्रामा यस्तो सञ्चिति असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रहेकोमा भदौ मसान्तमा २.२ प्रतिशतले कमी भई ११ खर्ब ८९ अर्ब १६ करोडमा झरेको राष्ट्र बैंकले जनाएको छ । विप्रेषण आप्रवाह (रेमिट्यान्स) गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड डलर पुगेको छ । नेपाली रुपैयाँमा रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड पुगेकोमा यस अवधिमा आयात घटेसँगै व्यापार घाटा ९.४ प्रतिशतले घटेर २ खर्ब ४४ अर्ब ९२ करोडमा झरेको छ । तर, पनि विदेशी विनिमय सञ्चिति भने घट्दो क्रममा नै देखिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १० खर्ब ५१ अर्ब ५३ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । सरकारले केही वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिंदा गत आर्थिक वर्षको तुलनामा आयात घटेको छ । जसले गर्दा विदेशी मुद्राको सञ्चितिमा गिरावट हुँदा पनि सञ्चिति पर्याप्तता सूचकमा भने सुधार देखिएको हो ।

गत आर्थिक वर्षको आयातलाई आधार मान्दा असार मसान्तमा बैंकिङ प्रणालीमा कायम विदेशी विनिमय सञ्चितिले ७ महिनाको पनि वस्तु तथा सेवाको आयात धान्न पर्याप्त नहुने अवस्था थियो । आयात घट्दा भदौमा उक्त सूचकमा सुधार देखिएको हो ।

शोधनान्तर स्थितिमा उल्लेख्य सुधार

मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षमा निकै उच्च थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो घाटा २२ अर्ब ६३ करोड थियो । एक महिनाको अवधिमा शोधनान्तर घाटा सामान्य बढेर २३ अर्ब ६८ करोडमा सीमित भएको छ । यसले शोधनान्तर घाटा उच्चदरमा बढ्ने क्रम रोकिएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांक अनुसार अहिले शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनामा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर यस वर्ष १८ करोड ५९ लाखले घाटामा देखिएको छ ।

चालु खाता घाटा समेत सुधार भइरहेको छ । यस वर्ष पहिलो दुई महिनामा चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । गत आवमा यस्तो घाटा १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा गत आवमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता यस आवमा २९ करोड १७ लाख रुपैयाँले घाटामा रहेको छ । यस वर्ष खुद प्रत्यक्ष लगानी भने अघिल्लो वर्षको तुलनामा घटेर ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ ।

दुई महिनामा विदेश पढ्न जानेले लगे १२ अर्ब ७६ करोड

नेपालबाट विदेशमा पढ्न जान नेपालीसँगै चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ) मा १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्म शिक्षाका लागि सो रकम बाहिरिएको हो । यस आवको दुई महिनामा नेपालको कुल सेवा खातातर्फको व्यय १७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । जसमध्ये शिक्षामा मात्र १२ अर्ब ७६ करोड बाहिरिएको हो ।

अन्य रकम नेपालीहरुको वैदैशिक भ्रमणमा विदेशिएको हो । यस अवधिमा नेपाल आउने पर्यटकबाट भने मुलुकले ५ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको पहिलो दुई महिनामा भ्रमण आय ३ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । दुई महिनाको अवधिमा खुद सेवा आय १८ अर्ब ६२ करोड रुपैयाँले घाटामा रहेको छ । गत आवको यसै अवधिमा खुद सेवा आय १७ अर्ब ५२ करोड घाटामा थियो ।

मूल्यवृद्धि उच्च

साउन र भदौ महिनामा नेपालको हिमाली र पहाडी क्षेत्रको तुलनामा तराईमा बढी मूल्यवृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) को आर्थिक विवरणमा उपभोक्ता मूल्यवृद्धि ५.१५ प्रतिशत बिन्दुले वृद्धि भएको छ । यो अवधिको कुल मूल्यवृद्धि ८.६४ प्रतिशत छ, गत आर्थिक वर्षमा भने यस अवधिको मूल्यवृद्धि जम्मा ३.४९ प्रतिशत थियो ।

गत साउन र भदौमा तराईको मूल्यवृद्धि दर सबैभन्दा धेरै ९.३३ प्रतिशत छ । पहाडमा ८.८२ र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । काठमाडौं उपत्यकाको मूल्यवृद्धि दर भने ७.६२ प्रतिशत छ । साउन र भदौमा खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैरखाद्य पदार्थ ९.०२ प्रतिशतले महँगिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षको भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल १७.२९, घिउ तथा तेल १४.५३, रेष्टुरेण्ट तथा होटलको सेवा १२.३०, मदिराजन्य पेय पदार्थ १०.२४ र तरकारी ९.९४ प्रतिशत महँगिएको छ । यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात २३.४१, स्वास्थ्य १०.५४, फर्निसिङ तथा घरायसी उपकरण ९.२५, शिक्षा ९.११ र घरायसी उपयोगका वस्तुको मूल्य ७.६९ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?