+
+

भदौ र असोजमा १ खर्ब १४ अर्बले बढ्यो निक्षेप, कति पुग्यो कर्जा लगानी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते २०:४५

४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब ७१ करोडले वृद्धि भएको छ । यो अवधिमा कर्जा भने ४५ अर्ब ४७ करोडले बढेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार २०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब १५ करोड पुगेको छ । साउनमा उच्च दरमा निक्षेप घटेपनि पछिल्ला २ महिनाहरूमा १ खर्ब १४ अर्ब निक्षेप संकलन भएकाले समग्रमा निक्षेपमा सुधार देखिएको हो ।

असार मसान्तमा ४१ खर्ब  ७४ अर्ब ४४ करोड रहेको कर्जा लगानी असोज मसान्तमा आउँदा ४२ खर्ब २० अर्ब ३२ करोड पुगेको बैंकर्स संघले जनाएको छ । असोज मसान्तमा कर्जामा केही वृद्धिका बाबजुत निक्षेपमा पनि सुधार हुँदा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२० प्रतिशत रहेको बैंकर्स संघले जनाएको छ ।

चालु आर्थिक वर्ष सुरु भएपछि साउनमा उच्च गिरावट भएको निक्षेप भदौ र असोजमा सुधारउन्मुख देखिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संघीय सरकारको राजस्व तथा अन्य आम्दानीभन्दा खर्च बढी छ ।

यसले गर्दा राजस्व संकलन भएर संघीय सरकारको सञ्चित कोषमा जम्मा भएको पैसा पुनः खर्च भएर प्रणालीमा आएको छ । जसले भदौ र असोजमा निक्षेपमा सकारात्मक प्रभाव देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयकाअनुसार आर्थिक वर्षको पहिलो ३ महिनामा सरकारको बजेट खर्च २ खर्ब ७८ अर्ब १६ करोड पुग्दा राजस्व परिचालन तथा अन्य आम्दानी भने २ खर्ब  ३२ अर्ब १२ करोड मात्रै छ ।

सरकारले आम्दानी भन्दा ४६ अर्ब रुपैयाँ बढी खर्च गरेको छ । जसले गर्दा साउन र भदौमा बैंकहरुको निक्षेपमा पनि सकारात्मक प्रभाव परेको हो ।

अर्कोतर्फ साउनमा २२ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति भदौमा थप १ अर्बले मात्रै बढेर २३ अर्ब घाटामा पुगेको छ । शोधनान्तर घाटा स्थिरतातर्फ जाँदा  बैंकहरुको निक्षेपमा त्यसले सकारात्मक प्रभाव पारेको छ ।

रेमिट्यान्समा वृद्धि, सरकारको प्रतिबन्धले आयात संकुचित बनेको आयात र चुनाव तथा चाडपर्वले गर्दा सरकारको खर्च बढ्दा बैंकहरुको निक्षेप बढेको बैंकर्स बताउँछन् ।

साउन एकै महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप पछिल्लो २ महिनामा भने १ खर्ब १३ अर्ब ७८ करोडले बढेको छ । असार मसान्तको ४५ खर्ब ४१ अर्ब ४४ करोडबाट घटेर साउन मसान्तमा ४४ खर्ब ३३ अर्ब ३७ करोडमा झरेको थियो ।

तर, भदौ मसान्तमा आउँदा बढेर ४४ खर्ब ८५ अर्ब ५१ करोड पुगेको थियो भने असोज मसान्तमा थप बढेर ४५ खर्ब ४७ अर्ब १५ करोड पुगेको हो ।

पछिल्लो दुई महिनाको निक्षेपमा वृद्धि भएसँगै असोज मसान्तमा बैंकहरुको कर्जा लगानी पनि केही वृद्धि भएको छ । साउन र भदौमा कर्जा १५ अर्ब ४४ करोड मात्रै बढेकोमा असोजमा मात्रै  ३० अर्ब ४ करोडले बढेको हो ।

असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रहेकोमा साउनमा सामान्य बढेर ४१ खर्ब ७६ अर्ब ५२ करोड पुगेको थियो । यस्तै भदौमा ४१ खर्ब ९०  अर्ब २८ करोड पुगेकोमा असोज मसान्तमा आउँदा भने ४२ खर्ब २० अर्ब ३२ करोड पुगेको हो ।

‘त्रैमासिक क्लोजिङ’को  समय भएकोले  बैंकका ऋणीले  स्वीकृत गराएको कर्जाको सीमा प्रयोग गर्दै ब्याजदर भुक्तानी गर्दा त्रैमासको अन्तिममा लगानीमा रहेको कर्जा ह्वात्तै बढ्ने बैंंकर्स बताउँछन् । ३० असोजसम्म ४१ खर्ब ८२ अर्ब रहेको वाणिज्य बैंकको कर्जा ३१ असोजमा एकैदिन करिब ३८ अर्बले बढेको हो ।

निक्षेपमा एनआईसी अगाडि

आर्थिक वर्षको प्रथम त्रैमासमा एनआईसी एशिया बैंकले १३ अर्ब २० करोडले निक्षेप बढाउँदा कुल निक्षेप ३ खर्ब ८ अर्ब १८ करोड पुगेको छ ।

त्यस्तै नबिल बैंकको ९ अर्ब ७६ करोडले बढेर ३ खर्ब ३९ अर्ब ३३ करोड र नेपाल एसबीआई बैंकको निक्षेप ७ अर्ब ६९ करोडले वृद्धि भएर १ खर्ब २७ अर्ब ३५ करोड पुगेकेा छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पनि निक्षेप ७ अर्ब ३६ करोडले बढेर १ खर्ब ९३ अर्ब ५७ करोड पुगेको भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७ अर्ब ३५ करोडले बढेर १ खर्ब ९ अर्ब ३० करोड पुगेको हो ।

यता आर्थिक वर्षको प्रथम त्रैमासमा एनसीसी बैंकको निक्षेप सबैभन्दा धेरै  १० अर्ब  ५१ करोडले गिर्दा प्रभु बैंकको ८ अर्ब ३१ करोड, सनराइज बैंकको ६ अर्ब ४१ करोड, सानिमा बैंकको ५ अर्ब ६९ करोड र कुमारी बैंकको ५ अर्ब ४९ करोडले निक्षेप घटेको बैंकर्स संघले जनाएको छ ।

कर्जा घट्नेमा पनि एनसीसी अगाडि

सबैभन्दा धेरै निक्षेप घट्ने एनसीसी बैंक कर्जा घट्ने बैंकको सूचीमा पनि अग्रस्थानमा देखिएको छ । बैंकको  कर्जा ८ अर्ब ८ करोडले घटेर १ खर्ब १८ अर्ब ८५ करोडमा झरेको छ ।

यस्तै नेपाल बैंकको कर्जा ५ अर्ब ७ करोड र सेञ्चुरी बैंकको ४ अर्ब २ करोडले घटेको छ । त्यस्तै बैंक अफ काठमाण्डुको १ अर्ब १३ करोडले घटेको छ ।

पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै १० अर्ब ३५ करोड रुपैयाँ कर्जा विस्तार गरि १ खर्ब ७८ अर्ब ५१ करोड पुर्‍याएको छ ।

त्यस्तै सानिमा बैंकले ७ अर्ब ११ करोडले कर्जा विस्तार गरेर १ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाँ पुर्‍याउँदा नेपाल एसबीआई बंैकले पनि ५ अर्ब ७१ करोड र नबिल बैंकले ५ अर्ब ३३ करोड कर्जा विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?