+
+

वार्षिक ६५ लाख तलब दिइने सुपरभाइजरको जागिर खाने मान्छे भेटिएन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १५:०५

प्रकृतिप्रेमी व्यक्तिका लागि एक शानदार जागिर खुलेको छ । तलब वार्षिक झण्डै ६५ लाख रुपैयाँ छ । तर अनौठो के भने यस्तो गज्जबको जागिर खानका लागि अहिलेसम्म कोही पनि उपयुक्त मानिस फेला परेको छैन ।

केवल तीन जनाले मात्र अहिलेसम्म उक्त जागिरका लागि आवेदन दिएका छन् । न्युयोर्क पोष्टमा प्रकाशित रिपोर्टअनुसार यो अनौठो जागिर न्युजिल्याण्डमा खुलेको हो । त्यहाँको संरक्षण विभागले बायोडाइभर्सिटी सुपरभाइजरको पदमा विज्ञापन खोलेको छ ।

न्युजिल्याण्डको हास्ट क्षेत्रमा खुलेको उक्त जागिरमा छनोट हुने उम्मेदवारले त्यहाँको साउथ आइल्याण्डको पश्चिमी भागमा अवस्थित माउन्ट एस्पाइरिङ नेसनल पार्कमा गएर काम गर्नुपर्नेछ । त्यो ठाउँ न्युजिल्याण्डको सबैभन्दा सुन्दर ठाउँमध्येको एक हो । कर्मचारीले त्यहाँ गस्ती गर्नुपर्नेछ भने जेट बोटिङ र हेलिकप्टर यात्रा गर्ने मौका पनि प्राप्त हुनेछ ।

संरक्षण विभागका अपरेसन म्यानेजर भेन कोस्टेलोका अनुसार उक्त जागिरमा चयन हुने मानिसले प्राकृतिक रुपमा निकै सुन्दर इलाकामा काम गर्ने अवसर प्राप्त गर्नेछ । जागिरका लागि आवेदन गर्न चाहने व्यक्ति आत्मनिर्भर हुनुपर्ने र घरबाहिर गएर काम गर्न सक्षम हुनुपर्ने सर्त राखिएको छ । साथै समूह व्यवस्थापन गर्न सक्षम, नेभिगेसन, म्याप रिडिङ र जीपीएस सीप समेत भएको हुनुपर्नेछ ।

तर यतिधेरै तलब दिइने उक्त जागिरका लागि पर्याप्त आवेदक नै फेला परेका छैनन् । छिमेकी देश अष्ट्रेलियाबाट समेत इच्छुक व्यक्तिले आवेदन गरुन् भन्नका लागि तलब निकै उच्च राखिएको थियो । तर अहिलेसम्म तीन जनाले मात्र दरखास्त हालेका छन् ।

जागिर खुलेको हास्ट क्षेत्र न्युजिल्याण्डका आदिवासी समुदाय बसोबास गर्ने क्षेत्र हो । उनीहरु कृषि तथा माछापालन गर्छन् भने जनसंख्या करिब २०० जति मात्रै छ । त्यहाँबाट नजिकको बजारमा जानका लागि अढाई घण्टा गाडीको यात्रा गर्नुपर्छ । उक्त क्षेत्रमा पाइने हास्ट टोकोइका अर्थात् खैरो किबी चराको संरक्षणका लागि जैविक विविधता सुपरीवेक्षकको उक्त पदमा कर्मचारी भर्ना गर्न खोजिएको हो । उक्त किबी चरा निकै दुर्लभ मानिन्छ । साथै सुपरभाइजरले सिलको निगरानी पनि गर्नुपर्नेछ भने छेपाराहरुको सर्भेक्षणका साथै सिकारीहरुको नियन्त्रण गर्नुपर्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?