+
+

केराको खम्बा, १०० रुपैयाँ जम्मा

सुरेश बिडारी सुरेश बिडारी
२०७९ कात्तिक ७ गते १८:२२

७ कात्तिक, वीरगञ्ज । ‘सय रूपैयाँमा दुई वटा । सस्तो छ, लिएर जानुस्,’ वीरगञ्जको घण्टाघर नजिकै विन्दवासिनी–२ गर्दौलका विनोद पासवान ग्राहक बोलाउँदै थिए ।

छेउमै ट्याक्टरमा स–साना केरोको खम्बा थिए, पैसाको ब्याग घाँटीमा झुण्ड्याएर उभिएका पासवान ग्राहक बोलाइरहेका थिए । ट्याक्टरमा बसेका एकले भने ग्राहकले रोजेको केराको खम्बा निकालेर दिइरहेका थिए ।

पासवान यसवर्ष पहिलो पटक केरोका खम्बा बिक्री गर्न वीरगञ्ज आएका हुन् । आइतबार बजार गर्न आउँदा लक्ष्मी पूजाका लागि वीरगञ्जमा केराको खम्बा खुबै बिक्री सुनेका उनी घर फर्कदा साँझ परिसकेको थियो । बेलुका ८ बजेतिर खेतमा गएर केराको खम्बा काटे र राति १२ बजेतिर वीरगञ्ज आइपुगे ।

केराको बोट स–सानो भएकाले १०० रूपैयाँमा दुईवटा बेचेका उनले सुनाए । अरुले भन्दा सस्तो दिएपछि ग्राहकको अभाव भएन । बोट नै मासेर खम्बा बेच्ने उनको रहेर होइन ।

पेशाले सवारी चाकल रहका पासवानले उत्तर प्रदेशका महेन्द्र कुशवाहसँग संगक गर्ने क्रममा पाँच कठ्ठा जमिनमा केरा खेती थालेका थिए । राम्रै फलेको पनि थियो । तर एक लट बेच्न पाउँदा नपाउँदै भारतबाट केरा आएपछि उनले सोचेअनुसार भाउ पाएनन् । ‘४५६ बोट लगाएको थिएँ, १४ महिनामा फल्यो । बेच्ने बेलामा भारतबाट केरा आयो । २० रूपैयाँ दर्जन बेच्यौं,’ उनले सुनाए, ‘वर्षाको पानी खेतमा जमेर नोक्सानी भयो । सोचेजति फाइदा भएन ।’

उनका अनुसार ६ लाखको अनुमान थियो, तर डेढ लाख रुपैयाँको मात्र केरा बिक्री भयो ।

अहिले तिहारको बेलामा केराको खम्बा बिक्री गर्न पाएपछि भने उनलाई केही राहत भएको छ । ‘केरा घारीमा बच्चा निस्किएको थियो । वीरगञ्जमा केराको बोट बिक्री हुन्छ भन्ने थाहा भएपछि राति ८ बजे केरा काट्यौं । राति १२ बजे तिर वीरगञ्ज आइपुग्यौं,’ उनले भने ‘दुःख गरे वापत ज्याला मिल्छ भन्ने छ ।’

सोमबार साँझ लक्ष्मी पूजा छ । वीरगञ्जमा केराको खम्बा गाडेर पुजाआजा गर्ने चलन छ ।

धार्मिक कार्यका लागि केराको खम्बालाई पवित्र बनस्पति मानिने कर्मकाण्डी ब्राम्हण समाज वीरगञ्जका सचिव उत्तमदेव उपाध्याय बताउँछन् । ‘लक्ष्मी घरमा प्रवेश गर्दा कुनै विग्न बाधा नहोस् भनेर द्वारमा केराको खम्बा गाड्ने गरिन्छ,’ उनले भने ।

लक्ष्मी पूजालाई लक्षित गरेर रौतहटको गौर लगायत विभिन्न ठाउँबाट केराको खम्बा ल्याएर बिक्री गर्ने गरिएको छ ।

गौर नगरपालिका ४ का उमेश सहनी पहिलोपटक केरा लिएर वीरगञ्ज आएका हुन् । बिहान ५ बजे वीरगञ्ज झरेका उनले २५ रूपैयाँप्रति गोटामा केराको खम्बा किनेर ल्याएका थिए, वीरगञ्जमा ८० देखि २५० रुपैयाँमा जोडी बिक्री हुन्छ । ‘९ हजार ट्याक्टर भाडा लागेको छ, लोड गर्ने मजदुरको ज्याला, खानाको खर्च कटाएर बचेको पैसा ४ भाग लाग्छ’ उनले सुनाए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?