+
+
स्थलगत :

धरानमा सूर्य बिनाको छरपस्ट एमाले

धरानमा बलियो जरा गाडेको नेकपा एमाले ३१ वर्षपछि सूर्य चिहृनविहीन भएर चुनावमा होमिँदैछ । जसपासँग तालमेल गर्दै अशोक राईलाई समर्थन गर्दै जनमनमा भिजेको सूर्य चिह्न अलप पार्ने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्ट स्थानीय नेता कार्यकर्ताको मत नै आगामी चुनावमा निर्णायक बन्ने देखिन्छ ।

सइन्द्र राई हरि अधिकारी सइन्द्र राई, हरि अधिकारी
२०७९ कात्तिक ८ गते २०:२०
एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका मनोज मेन्याङ्बो भोट माग्दै ।

७ कात्तिक, धरान । धरानका पूर्वमेयर मनोज मेन्याङ्बो शनिबार बिहान बुढासुब्बा मन्दिर परिसरमा केही मतदाताबीच भेटिए । धार्मिक स्थल बुढासुब्बा परिसरमा उनी मतको बदला प्रतिबद्धता जनाउन पुगेका थिए । ‘१५ वर्षपछि फेरि आउनुपर्ने स्थिति बन्यो, तपाईंहरुले बुझ्नै भएको छ’, हात जोडेरै मेन्याङ्बोले भोट मागे ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्र (सुनसरी-१) बाट नेकपा माओवादीका किरण राईसँग पराजित भएपछि मेन्याङ्बो राजनीतिक गतिविधिमा निष्कृय जस्तै थिए । यसपटक पनि उम्मेदवार बन्ने आकांक्षामा उनी थिएन । ‘हामीले धरानबाट जयकुमार राईको नाम सर्वसम्मत सिफारिस गरेको हो । मेरो त मनसाय नै थिएन’, मेन्याङ्बोले अनलाइनखबरसँग प्रष्टोक्ति दिए ।

तर पार्टी नेतृत्वले धरान एमालेको आग्रह नसुनेपछि स्वतन्त्र उम्मेदवार बन्नु परेको उनले बताए । ‘४० वर्ष लामो सामिप्यता र संघर्ष गरेको पार्टीबाट अलग भएको छु । यो कुरा जनताले राम्रोसँग बुझ्नुभएको छ’, मेन्याङ्बोले भने ।

धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म र रामधुनी नगरपालिकाको वडा नम्बर ६ र ७ पर्ने सुनसरी-१ मा एमालेको आधिकारिक उम्मेदवार अशोक राई हुन् । जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्ने २१ असोजको निर्णय अनुसार, यो क्षेत्रबाट जसपाका संघीय परिषद् अध्यक्ष राई एमालेको पनि साझा उम्मेदवार बनेका हुन् ।

‘तालमेलको निर्णय निकै ढिलो गरी भयो । जुन बेला अशोक राई हाम्रो पनि उम्मेदवार हुने सूचना पायौं, त्यो बेला हामी निकै अगाडि बढिसकेका थियौं’ सुनसरी एमालेका एक नेताले भने । पार्टीले चुनावमा एक्लै होमिने निर्णय गरिसकेको र अध्यक्ष केपी शर्मा ओलीको लगातारको सार्वजनिक अभिव्यक्ति पनि त्यसैअनुसार आएकाले धरानमा केही पहिलेबाटै चुनावी तयारी भएको उनी बताउँछन् ।

‘सत्तारुढ गठबन्धनबाट अशोक राई उम्मेदवार बन्ने निश्चितजस्तै थियो, त्यसैअनुसार हामीले रणनीति बनाएका थियौं’ ती नेता भन्छन्, ‘तर जसकाविरुद्ध प्रचार गरिरहेका थियौं, अकस्मात उनी नै हाम्रो उम्मेदवार बन्न आउनुभयो ।’ ०७४ को चुनावमा पनि एमालेविरुद्ध नेपाली कांग्रेसले अशोक राईलाई नै उम्मेदवार बनाएको थियो । तर एमालेका जय राईसँग दोब्बरबढी मत अन्तरले पराजित भए । त्यसबेला अशोकले २२ हजार १२३ मत पाउँदा जयले ४४ हजार ५२८ मत ल्याएर जितेका थिए । तिनै अशोक राई यसपटक पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाटै उम्मेदवार बन्ने देखेरै धरान एमालेले फेरि जय राईलाई अगाडि बढाउने निर्णय गरेको थियो ।

एमालेको समर्थन पाएका जसपाका उम्मेदवार अशोक राई ।

तर जसपाले सत्ता गठबन्धन तोड्दै राजनीतिक समीकरण बदलेपछि अशोक राई एमाले कित्तामा आइपुगे । ‘राजनीतिक उतारचढाब अचम्मै हुने रहेछ, ३१ वर्ष अगाडि मैले नै अशोक राई यहाँको (सुनसरी-१ बाट) उम्मेदवार हुनुपर्छ भनेर अडान लिएको थिएँ’ पूर्वमेयर मेन्याङ्बोले अतित सम्झिए, ‘तर त्यसबेला मनमोहन अधिकारीले धरानबाट चुनाव लड्ने चाहना राखेपछि अशोक राई खोटाङतिर लाग्नुभयो ।’ पञ्चायत अन्त्यपछि २०४८ मा भएको त्यो चुनावमा अधिकारीले धरानबाट जित्दा राईले खोटाङबाट जिते ।

तिनै अशोक राई अहिले धरानबाट एमालेकै मत पाएर संसद भवन छिर्ने दौडमा निस्कदा मनोज भने जसरी पनि रोक्न लागिपरेका छन् । ‘यो मेरो मात्रै निर्णय होइन, नेतृत्वको मनपरी मन नपराउने धेरैको समर्थन छ’, मनोजले भने ।

एक स्थानीय नेताकाअनुसार, सुनसरी-१ जसपालाई छोड्ने एमाले नेतृत्वको निर्णयप्रति असन्तुष्ट नेताहरुले २२ असोजमा भेला राखेरै मनोज मेन्याङ्बोलाई स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेका थिए । अर्थात्, खरायो चिह्न पाएका मेन्याङ्बो एमालेकै असन्तुष्ट पक्षधर नेताहरुका उम्मेदवार हुन् ।

एमाले केन्द्रीय सदस्य एवम् सुनसरी सहइन्चार्ज मञ्जु भण्डारी भने केपी ओलीलाई प्रधानमन्त्री बनाउन अशोक राईलाई मतदान गर्नुको विकल्प नरहेको बताउँछिन् । ‘पार्टीको निर्णय नमान्ने भए पहिले एमाले छोड्नुपर्छ, एमालेमै बसेर आफूखुशी उम्मेदवार भन्ने हुन्न’, भण्डारीले अनलाइनखबरसँग भन्छिन् । अशोक राईले पूरा एमाले पंक्तिको मत पाउने उनी दाबी गर्छिन् ।

भण्डारीको दावीजस्तो दृष्य भने धरान एमालेमा देखिँदैन । विकसित राजनीतिक समीकरणले धरानमा थरिथरि भूमिकामा एमालेहरू उभिन पुगेका छन् । ‘पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय नलिनुको ठूलो असर यहाँ देखिएको छ । मुख्य कुरा ३१ वर्षपछि एमालेको सूर्य चिह्न धरानबाट हरायो’, धरान एमालेका एक पदाधिकारी भन्छन् । सूर्यविहीन एमाले बन्न पुगेकै कारण अनेक भूमिकामा नेता-कार्यकर्ता विभाजित हुन पुगेको तर्कमा यहाँका धेरै नेताहरु सहमत छन् ।

थरिथरि एमाले र खरायोको डर

खरायो चिह्न पाएका स्वतन्त्र उम्मेदवार मनोज मेन्याङ्बो ।

यो निर्वाचन प्रतिनिधिसभाततर्फ एमालेको सूर्य मात्रै नभएर कांग्रेसको रुख चिह्न लिएका उम्मेदवार पनि छैनन् । सत्ता गठबन्धनमा भएको भागवण्डा अनुसार कांग्रेसले माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) लाई समर्थन छ । कांग्रेसको रुख यसपटक मात्रै नभएको होइन, ०७४ मा पनि थिएन । त्यो बेला अशोक राईको छाता चिह्नमै यहाँका कांग्रेस कार्यकर्ताले मत हालेका थिए ।

धरानमा कांग्रेसको रुख नहुनु भन्दा सूर्य चिह्न नरहनुको ठूलो अर्थ रहने एमाले नेताहरु बताउँछन् । किनकि यो क्षेत्रबाट कुनै पनि संसदीय चुनाव कांग्रेसले जितेको छैन, तर एमालेले २०६४ बाहेक ०४८ यताका सबै चुनाव जितेको छ ।

०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्मा, २०७० मा कृष्णकुमार राई र २०७४ मा जय राईले जितेका थिए । सबै एमाले उम्मेदवार हुन् । २०६४ को चुनाव मात्रै माओवादी केन्द्रका किरण राईले जिते । ‘सूर्य चिह्न भएको भए मनोज मेन्याङ्बोको स्वतन्त्र उम्मेदवारी पर्ने थिएन । एमालेमा अहिलेको जति समस्या पनि हुन्थेन होला’, यहाँका पुराना पत्रकार प्रदीप मेन्याङ्बो भन्छन् ।

एमालेका एक जिल्ला नेता त ओलीलाई व्यंग्य गर्छन्, ‘नचिनेका मान्छेलाई काठमाडौंबाट फोन गर्ने नेताले वर्षौदेखि चिनेका आफ्नै कार्यकर्ताको कुरा सुनेको भए धरानमा यस्तो समस्या नआन सक्थ्यो ।’ मनोज मेन्याङ्बो धरानमा परिचित र परीक्षण भइसकेका नेता भएकाले पनि अरु उम्मेदवार दबाबमा छन् । ‘धरानमा उपमेयर र मेयर भएर मनोज मेन्याङबोले राम्रै छाप छोडेकाले पनि चासोका साथ हेरिएको हो’, यहाँका पुराना शिक्षक प्रल्हाद भट्टराई भन्छन् ।

मनोजले एमालेबाटै २०४९ मा उपमेयर र २०५४ मा मेयर जितेका थिए । धरानमा चिनाउने घण्टाघर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मनोजको सम्बन्ध जोडिएको भट्टराई बताउँछन् ।

धरान बजारमा रहेको घण्टाघर

यसको अर्थ एमालेको आधिकारिक उम्मेदवार अशोक राईलाई भर्खरै एमाले त्यागेका मनोज ठूलै चुनौती बन्ने देखिन्छ । त्यसै पनि गएको वर्ष २ भदौमा एमाले विभाजनको असर धरानले खेपेकै थियो । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले सुनसरी-१ (२) मा रेवतमरण राईलाई उम्मेदवार बनाएको छ, जसले केही समय अगाडि मात्रै एमाले त्यागेका थिए । स्थानीय नेताहरुका अनुसार, यो क्षेत्रमा एकीकृत समाजवादीको मत जसपाकै हाराहारी छ ।

मनोजले नपाउने एमालेको मत पनि अशोकलाई जान्छ भनेर ढुक्क हुने अवस्था छैन । किनकी एमाले समर्थकले कम्युनिष्टलाई नै मत हाल्ने मन गरे उनीहरुको रोजाईमा मुकेश विकल्प हुनसक्छ । यो पक्षलाई समेत ध्यान दिने हो भने सूर्य चिह्नको अभावसँगै यहाँ ‘छाता एमाले’, ‘खरायो एमाले’, ‘कलम एमाले’ र ‘वामपन्थी एमाले’ का प्रतिनिधि पात्र पर्याप्त भेट्न सकिन्छ ।

अशोक राई जिताउन गठित निर्वाचन परिचालन कमिटीका संयोजक मीन सुब्बा भने अहिले देखिएको दृष्य चुनावसम्म नरहनेमा विश्वस्त छन् । मनोनयन दर्ता हुँदै गर्दा देखिएको असन्तुष्टि धेरै घटिसकेको सुनाउँदै उनले भने, ‘आकस्मिक भएको निर्णयका कारणले असन्तुष्टि देखिएको हो, तर विस्तारै कुरा मिल्छ । चुनावसम्म एकताबद्ध हुन्छौं ।’

सुब्बाजस्तै जसपा धरानका संयोजक ताजबु लिम्बु पनि अशोकले नै चुनाव जित्ने दाबी गर्छन् । ‘एमाले अनुशासित र जनवादी केन्द्रीयतामा विश्वास गर्ने पार्टी हो । अनुशासित भएर सबै लाग्दा जित्न गाह्रो छैन’, लिम्बु भन्छन् ।

एमाले धरानको पार्टी कार्यालय
लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?