+
+

केन्द्रीय राजनीति गर्नेले जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्नुपर्छ : लक्ष्मणलाल कर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १६:१५

८ कात्तिक, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले राष्ट्रिय राजनीति गर्ने नेताले देशको जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्नुपर्ने बताएका छन् ।

वीरगञ्जमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कर्णले निर्वाचन क्षेत्र परिवर्तन गर्ने आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

नेता कर्ण ०७४ को निर्वाचनमा पर्सा क्षेत्र नं ४ बाट प्रतिनीधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । तर यसपटक उनी पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट पर्सा क्षेत्र नं १ मा प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार छन् ।

आफ्नो निर्वाचन क्षेत्र छोडेर क्षेत्र नं १ मा आएपछि उनको आलोचना भइरहेको छ ।

‘चार नम्बरबाट किन आएको भनेर सोध्छन्, टुरिष्ट नेता पनि भनिदिए मलाई । म एउटै कुरा भन्छु, केन्द्रीय राजनीति गर्ने हो भने सम्पूर्ण नेता तयार हुनुपर्छ । देशको कुनैपनि क्षेत्रमा गएर लड्नको लागि’ उनले भने ।

अन्तिम समयमा आएर पार्टी लोकतान्त्रिक गठबन्धनमा सामेल भएका कारण आफूले निर्वाचन क्षेत्र परिवर्तन गर्नुपरेको उनको भनाई छ । ‘मेरो पार्टी लोकतान्त्रिक समाजवादी पार्टी लोकतान्त्रिक बाम गठबन्धनमा अन्तिम समयमा प्रवेश ग¥यो । गठबन्धनको निर्णय अनुसार मैले ४ नम्बर पाइन, १ नम्बरबाट टिकट पाएँ । सहज रुपमा स्वीकार गरें’, उनले भने ।

नेता कर्णले आफू कोहसँग प्रतिस्पर्धा गर्न नभई जित्न उठेको बताए । ‘कसैलाई हराउन हैन, म आफू जित्नलाई उठेको छु, जितेर देखाउँछु । अब कोही हार्छ भने मेरो भन्नु केही छैन’, उनले भने ‘यो लोकतन्त्र हो । जसलार्ई इच्छा छ लड्न सक्छन् । मैले कसैलाई नलड भन्न सक्दिन, भन्दा पनि भन्दिन ।’

३० वर्ष वकालत गरेको वीरगञ्जमा डुल्दा सबैले वकिल साहेब नै भन्ने गरेको बताउँदै उनले आफ्नो शाश्वत परिचय पनि त्यही भएको बताए ।

वीरगञ्जमा उच्च अदालत जनकपुरको अस्थायी इजलास पनि आफूले नै ल्याएको उनले बताए ।

‘कानुन समितिमा थिएँ, न्याय परिषद ऐन बन्दा दुई वटा मात्रै प्रावधान थियो, जहाँ उच्च अदालतको सेन्टर हुन्छ, त्यहाँ उच्च अदालत रहन्छ, जहाँ पुनरावेदन अदालतहरु छन् । त्यहाँ पुनरावेदन अदालत रहन्छन् । मैले एउटा कुरा थपेँ, जनतालाई पायक पर्ने ठाउँमा उच्च अदालत रहनुपर्छ । वीरगञ्जका वकिललाई डेलिगेशनमा डाकेँ, वीरगञ्जमा उच्च अदालतको अतिरिक्त बेञ्च ल्याएँ’ उनले भने ।

उच्च अदालतको अस्थायी इजलासका लागि वीरगञ्ज चिनी कारखानाको ६ विघा जग्गा आफूले नै उपलब्ध गराएको नेता कर्णले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?