+
+

ल्याटिन अमेरिकी साहित्यलाई हल्लाउने किताब  

प्रवीण प्रवीण
२०७९ कात्तिक ८ गते १६:१८

थाहा छैन, भूलबस या जानीजानी ‘अर्नेस्ट हेमिङ्वे’ले आफ्नो खप्परमा बन्दुकको ट्रिगर दबायो । र, त्यसैदिन यता ‘गाब्रिएल गार्सिया मार्खेज’ मेक्सिको पुगेको थियो ।

एक दिन मार्खेज आफ्नो अपार्टमेन्टमा बसिरहेको थियो । ऊ बसिरहेको टेबुल अगाडि उसको एउटा साथीले एउटा सानो किताब हुत्याइदियो । र भन्यो–

‘यो पढ् र केही सिक् ।’

मार्खेजले आफ्नो टेबुल अगाडिबाट त्यो पुन्टे किताब टिप्यो । किताबको आवरणमा केहीबेर घोरियो । त्यो किताबको नाम थियो– ‘पेद्रो पारामो’ ।

जसले मार्खेजको निद्रा हराम गरिदियो । उसको बेचैनीलाई दोब्बर बढाइदियो । उसले त्यो किताबलाई त्यो रातभरमा दुईचोटि पढ्यो । तर पनि उसको मन अझै भरिएन । उसलाई यस्तो १० वर्षअघि ‘फ्रान्ज काफ्का’को ‘मेटामर्फोसिस’ पढ्दा मात्र भएको थियो । उसले योभन्दा अघि न त्यो किताबको नाम सुनेको थियो न लेखकको नै । पछि समय-समयमा त्यो कविता जस्तो उपन्यासलाई उसले कतिचोटि पढ्यो, कतिचोटि दोहोर्‍यायो– उसलाई सायद याद छैन ।

तर उसले त्यो किताबलाई काँच्चै चपायो । कण्ठ बनायो । ऊ त्यो किताबको हरेक पन्ना सुरुदेखि अन्तिमसम्म उल्टो-सुल्टो जसरी पनि नहेरीकनै व्याख्या गर्न सक्ने भयो । त्यो किताबले उसको मगजमा एउटा गहिरो छाप छोड्यो ।

त्यसलाई पढ्दासम्म ऊ लेखक त बनिसकेको थियो, तर आफ्नो अद्भूत किताब– ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्युड’ भने लेखिसकेको थिएन । ऊ आफूले पूर्ण लेखिसकेका किताब र पाण्डुलिपिबाट भाग्न चाहन्थ्यो । आफूले लेखिसकेको कुरा आफ्नो आउँदो किताबमा फेरि दोहोर्‍याउन चाहँदैन थियो । आफ्नो लेखाइलाई अझ रंगीन बनाउन चाहन्थ्यो । अझ कवितात्मक बनाउन चाहन्थ्यो । ऊ आफ्नो पुरानो लेखाइ र कथावाचन शैलीलाई सर्लक्कै त्यागेर कथावाचनको नयाँ बाटो खन्न चाहन्थ्यो ।

प्रवीण
जब यो किताब सन् १९५५ मा बजारमा आयो, यसले ल्याटिन अमेरिकी साहित्यलाई तरंगित बनाइदियो । यथार्थ, वास्तविकता बोकेर उभिएका कथाहरूको पर्खाललाई भत्काइदियो । कथा र कथावाचन शैलीमा नयाँ आयाम थपिदियो ।

अन्ततः ‘पेद्रो पारामो’ले उसको लेखाइको इन्द्रेणीमा आठौं रंग भरिदियो । त्यसपछि नै हो ऊ आफ्नो मस्तिष्कभित्र एक सय वर्षको एकान्तबास बस्न थालेको । उसले त्यो किताब पढेपछि त्यो वर्षभरि कुनै अर्को लेखकको किताब पढ्न सकेन । किनकि उसलाई लाग्यो अब ‘ख्वान रुल्फो’को अगाडि सबै फिक्का छन् ।

‘मेरो जिन्दगीमा जस्तै मेरो लेखाइमा पनि मौनता छ, सिर्फ मौनत’ –ख्वान रुल्फो

‘रुल्फो’ले आफ्नो मगजमा वर्षौंसम्म एउटा कथा बोकेर हिंडिरह्यो । उसले योभन्दा अगाडि कथाहरू मात्र लेखेको थियो । ऊ यो कथालाई भने उपन्यास बनाउन चाहन्थ्यो । बनायो, लेख्यो र फेरि च्यात्यो । उसलाई लाग्यो उपन्यास भनेको कथा जस्तो होइन । यो बारम्बार लेखिनुपर्छ र बारम्बार च्यातिनुपर्छ, फेरि लेखिनुपर्छ । आफ्ना पात्रहरूलाई खुल्ला छोडिदियो र पात्रहरूले कथालाई जताजता डोर्‍याए, लेखाइलाई पनि त्यतैत्यतै लैजान थाल्यो ।

उपन्यासमा ढाँचा चाहिन्छ । घर बनाए जस्तो मिलेको संरचना चाहिन्छ । बिस्तारै उसले कथाको संरचनालाई उपन्यासमा ढाल्दै लग्यो । तर उसको त्यो उपन्यास, त्यसभन्दा अघि अरुले लेखेका उपन्यास जस्तो बन्न सकेन । त्यो मौनताले अटेसमटेस भरिएको घर बन्यो । स-साना धागाहरूले बुनेको घर बन्यो । फोटो खिच्दाका खिचिक-खिचिक आवाजहरूको इँट्टा मिलेर बनेको घर बन्यो । यस्तो घर जहाँ समयको कुनै अस्तित्व छैन र त्यति नै बेला त्यहाँ समयले आफ्नो रहस्यमयी घडी पनि चलाइरहेको छ ।

यसरी ‘ख्वान रुल्फो’को ‘पेद्रो पारामो’ बन्यो । जसले छोटो समयमै मेक्सिकन साहित्यमा तहल्का मच्चायो । यसभन्दा अघि पनि उसले एउटा कथासंग्रह लेखेर छापिसकेको थियो । तर त्यो कतै गुमनाम भइसकेको थियो । उसलाई कसैले लेखक भनेर चिनिसकेको थिएन । त्यो सानो उपन्यास छापिसकेपछि एउटा सेल्सम्यान, जो किताब र संगीतको माध्यमबाट संसार घुम्ने गर्थ्यो, ऊ स्पेनिस साहित्यमा एउटा मौलिक आवाज बन्न पुग्यो । ऊ ल्याटिन अमेरिकी साहित्यमा म्याजिकल रियलिजमको सुरुवाती खाँबो बनेर उभियो ।

त्यसपछि उसले दोस्रो उपन्यास पनि लेख्यो । जसको नाम पनि तय भइसकेको थियो । यता प्रकाशकले पनि ‘रुल्फो’को दोस्रो किताब आउँदैछ भनेर हल्ला गरिदियो । तर त्यो किताबलाई रुल्फोले छाप्न चाहेन । आफू मर्नुभन्दा केही वर्षअघि नै त्यो किताबलाई आफैंले मारिदियो । ध्वस्त गरिदियो । किनकि उसलाई लाग्यो, किताब लेख्नु र छाप्नु मात्र लेखकको कर्म होइन, राम्रो किताब लेख्नु पनि हो । जसलाई पटकपटक पढ्न सकियोस् । उसले सोच्यो, एउटा किताबलाई बारम्बार पढ्न सकिंदैन भने त्यो किताब पहिलोपटक पढ्न पनि लायक हुँदैन ।

जसरी यो किताबले मार्खेजको निद्रालाई खाइदियो, त्यसरी नै यो किताब पढिसक्दा यसले मेरो निद्रा पनि चपाएर निलिसकेको थियो । वास्तवमै यो किताब पढिसकेपछि निदाउन सकस पर्छ । दोस्रोपटक पढ्ने हुटहुटी जाग्छ ।

‘ख्वान रुल्फो’ले आफ्नो जीवनकालमा एउटा मात्र उपन्यास लेख्यो– ‘पेद्रो पारामो’ ।

‘पेद्रो पारामो’ यो एउटा वास्तवमै निकै अजीव किताब छ । अनौठो छ । डरलाग्दो छ । तर्साउने छ । र थोरै गाह्रो पनि हो कि । एउटा एब्स्ट्राक्ट पेन्टिङ जस्तो ।

‘त्यहाँ एउटा सहर छ, जहाँ तेरो बाउ बस्छ, जसको नाम ‘पेद्रो पारामो’ हो । जा.. गएर त्यसलाई भेट् र हामीलाई जति दुःख दिएको छ, त्यो सबको हर्जना भर्न लगा । मलाई वचन दे..’

ओछ्यानमा अन्तिम सास लिइरहेकी आमाले आफ्नो छोरोलाई बोलाएर भन्छे । नचाहँदै नचाहँदै पनि ‘ख्वान प्रेसियादो’ आफ्नी आमाको अन्तिम इच्छा पूरा गर्न ‘कोमाला’ भन्ने सहरमा आफ्नो बाबु खोज्न पुग्छ ।

तर त्यो सहर जिउँदो हुँदैन । त्यहाँ जिउँदा मान्छे मात्र बस्दैनन् । त्यहाँ जिउँदा चिजहरू मात्र छैनन् । त्यहाँ मरेकाहरू छन् । तिनका आवाजहरू छन्, फुस्फुसाइरहेका छन् । गनगन गरिरहेका छन् । त्यहाँ छायाहरू छन् । यादहरू छन् । सपनाहरू छन् । अराजकता छ । त्यो सहर उजाड छ । भत्किएको छ । लाग्छ, सहर पूरै मरेर कुहिरहेको हो । जस्तो कि एउटा भुलभुलैया । त्यो सहर स्वर्ग र नर्कबीचको ठाउँ हुन्छ, जहाँ मरेका आत्माहरू मुक्ति नपाएर भड्किरहेका हुन्छन् ।

यो किताब कुनै दन्त्यकथा जस्तो छ, जसले तपाईंको मस्तिष्कमा दुष्ट सपनाका ताँतीबद्ध भयानक किराहरू छोडिदिन्छ । यो किताब कहिले ‘म’बाट ‘ऊ’मा सर्छ त कहिले ‘वर्तमान’बाट ‘भूत’मा पुग्छ । भनिन्छ नि, खत्रा र महान् कथाहरू भूतकालमा मात्र लेखिंदैनन्, विगत र विगतमा घटेका घटना नै आफैंमा एउटा महान् कथा हो ।

यहाँ ‘म’ले आफ्नो कथा भन्छ, अरुको कथा पनि कहन्छ । ‘ऊ’ले अरुको कथा न्यारेट गर्छ र सँगसँगै ‘पेद्रो परामो’को कथाको बिस्तार लगाउँछ । उसको स्केच बनाउँछ । विभिन्न पात्रहरूको आँखाबाट उसको चरित्र चित्रण गर्न थाल्छ । किताब सानो भए पनि यसले थुप्रै पात्रहरू अटाएको छ । जस्तो त्यो ठाउँ, ‘कोमाला’ पनि आफैंमा एउटा पात्र हो । एक्कासि पात्रहरू आफ्नो कथा आफैं भनिरहेका छन्– जसले गर्दा यो सानो किताब गह्रौं-गह्रौं हुँदै जान्छ ।

दुईवटा दुनियाँ छन् यहाँ मृत र जीवित । जीवन र मृत्यु सँगसँगै बाँचिरहेका छन् । मरेकाहरू बोल्छन्, जिउँदाहरू बोल्छन्– तर सुरुसुरुमा किताबले कुन बेला कुन कथा बोल्छ अत्तोपत्तो पाइँदैन । परिवेशमा सिर्फ आवाजहरू घुमिरहेका छन् । कसको आवाज ? कहाँबाट आइरहेको छ ? को बोलिरहेको छ ? थाहा त पाइन्छ, तर साँच्चिकै थाहा पाउन अलिक मुस्किल पनि पर्छ ।

मेरो गाउँतिर एउटा भनाइ छ– ‘आँखा झिमिक माल गायब’

हो, म भन्छु यो किताब पढ्दा आँखा झिम्काउन मनाही छ ।

जसरी यो किताबले मार्खेजको निद्रालाई खाइदियो, त्यसरी नै यो किताब पढिसक्दा यसले मेरो निद्रा पनि चपाएर निलिसकेको थियो । वास्तवमै यो किताब पढिसकेपछि निदाउन सकस पर्छ । दोस्रोपटक पढ्ने हुटहुटी जाग्छ । र यो यस्तो किताब हो, जसलाई पढिरहनुपर्छ । बारम्बार पढिनुपर्छ ।

किताब सरल छैन, गाह्रो पनि होइन, बरु यो सरियल छ । यसले यथार्थ मात्र बाँचिरहेका कथाहरूलाई, वास्तविकता मात्र लेखिरहेका लेखकहरूलाई, कथा र लेखाइमा जादुई रस कसरी मिसाउने भनेर सिकाइदियो । जब यो किताब सन् १९५५ मा बजारमा आयो, यसले ल्याटिन अमेरिकी साहित्यलाई तरंगित बनाइदियो । यथार्थ, वास्तविकता बोकेर उभिएका कथाहरूको पर्खाललाई भत्काइदियो । कथा र कथावाचन शैलीमा नयाँ आयाम थपिदियो । यहाँसम्म कि यसले ‘गाब्रिएल गार्सिया मार्खेज’लाई मात्र होइन, ‘होजे डोनोसो’, ‘कार्लोस फुयन्टेस’, ‘मारियो भार्गेस लोसा’ जस्ता प्रख्यात लेखकहरूको दिमागमा समेत ठूलो प्रभाव छोड्यो ।

हुन त, मलाई लाग्छ यो एउटा पागलपन भरिएको किताब हो, जो आफैंमा वर्तमान हो, र आफैंमा भूत पनि हो ।

अन्त्यमा ‘सुज्यान सोन्ताङ’ले भने झैं ‘पेद्रो पारामो’ साच्चै नै ‘२०औं शताब्दीको विश्वसाहित्यको एउटा अद्भूत किताब हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?