+
+

चाडपर्वमा बालबालिकाका लागि के पाक्यो ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ कात्तिक ९ गते १२:४६

काठमाडौं । चाडपर्वको बेला हरेकको भान्सामा मीठोमसिनो पाक्छ । मसालेदार माछामासु, पिरो अचार, चिप्लोचाप्लो पुलाउ, भुटेको-तारेको तरकारी, गुलियो मिठाइ । सोच्नुहोस् त, यी व्यञ्जन कलिला बालबच्चाले रुचाउँछन् ? पचाउँछन् ?

हामीले चाडपर्व वा कुनै विशेष जमघटमा अनेकथरी परिकार बनाउँछौं, जुन आफ्नो रुचि र स्वाद अनुसार हुने गर्छ । कलिला बालबच्चाका लागि कस्तो परिकार बनाउने ? यसबारे सोच्दैनौं । हामीलाई जस्तो परिकार रुच्छ, पच्छ, स्वाद लाग्छ त्यो भन्दा फरक हुनसक्छ उनीहरुको रोजाइ ।

खासगरी ५–६ वर्षभन्दा कम उमेरका बालबच्चाको खानपान फरक हुन्छ । उनीहरुको स्वाद फरक हुन्छ । यसैगरी पाचन प्रणाली पनि परिपक्व हुँदैन । त्यसैले उनीहरुलाई स्वाद लाग्ने, उनीहरुले सजिलै पचाउन सक्ने परिकार बनाउनुपर्ने सुझाव दिन्छन्, पोषणविद् प्रतीक निरौला ।

‘बच्चा जन्मेको पहिलो ६ महिनासम्म बच्चालाई स्तनपान मात्र गराए पुग्छ । शिशुहरूले  चाहिने सम्पूर्ण पोषण आमाको दूधबाट नै प्राप्त गर्छन्,’ निरौला भन्छन् ।

६ महिनापछि आमाको दूधबाहेक सामान्य चिज जस्तै लिटो, जाउलो बच्चालाई खुवाउन थाल्नुपर्छ । शिशुहरूलाई लिटो पकाउँदा ओखर बदामजस्ता ड्राइफ्रुट मिसाएर दिन सकिन्छ । ड्राइफ्रुटको सेवनले बालबालिकाको स्मरण शक्तिलाई बढाउनुका साथै उनीहरूलाई चाहिने पोषक तत्त्व पनि प्राप्त गर्ने निरौला बताउँछन् ।

६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई आमाको दूधसँगै लिटो जाउलो, फलफूल, दाल गेडागुडी आदिलाई राम्ररी पकाएर र मिचेर मात्रा मिलाएर चारदेखि पाँचपटकसम्म खान दिन सकिने उनी बताउँछन् । ‘६ महिनापछि बालबालिकालाई थोरैथोरै अण्डा, फलफूल र राम्ररी पकाएको तरकारी, दाल पनि पातलो गरेर खुवाउन सकिन्छ,’ निरौला भन्छन् ।

दुई वर्षपछि बालबालिकाको पाचन प्रणाली पनि विकास हुँदै जाने भएकोले अन्न तथा कन्दमूल, गेडागुडी, सागपात, फलफूल, दूध, अण्डा, माछा, मासु पनि खानामा समेट्नुपर्छ । चाडपर्वमा माछामासु पकाउँदा बालबालिकाको लागि छुट्टै पकाउनुपर्छ । चिल्लो, पीरो र मसला कम राखेर धेरै चपाउन नपर्ने गरी राम्ररी पकाउनुपर्छ ।

मासुमा पनि कलेजोलाई कम चिल्लो र नुन राखेर पकाएर बालबालिकालाई दिन सकिन्छ । बालबालिकालाई उनीहरुको रुचि सोधेर त्यहीअनुसार पनि परिकारहरु बनाइदिनुपर्ने निरौला सुझाउँछन् । ‘बालबालिकाको पाचन क्षमता ठूला व्यक्तिको भन्दा कमजोर हुने भएकाले उनीहरूलाई मासु खान दिंदा राम्ररी मिचेर सानो सानो टुक्रा बनाएर दिनुपर्छ,’ पोषणविद् निरौला भन्छन् ।

अण्डामा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन लगायतका थुप्रै कुरा पाइन्छ, जसले बालबालिकाको शारीरिक मात्र स्मरण शक्ति बढाउन पनि सहयोग गर्छ । त्यसैले ६ महिनापछि बालबालिकाको खानामा दैनिक अण्डालाई समावेश गर्नुपर्छ । उसिनेको अण्डालाई राम्ररी मिचेर खानामा मिसाएर पनि दिन सकिन्छ ।

दुई वर्षमाथिका बालबालिकालाई दशैंमा घरमै बनेको खानेकुरा त दिन सकिन्छ । तर माछा–मासु मात्रै खान दिनुभन्दा सागपात तथा फलफूल पनि उत्तिकै मात्रामा दिनुपर्ने निरौला सुझाउँछन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?