+
+
समयान्तर :

देउवाको ‘जाई कटक’, ओलीको ‘झिकी कटक’

आसन्न निर्वाचनका लागि सत्ताधारी दलहरुको गठबन्धन कायमै रहेपछि नेकपा एमालेले सत्तापक्षको जाई कटकको प्रतिउत्तरमा सत्ताबाहिर रहेका केही दलहरुसँग चुनावी तालमेल गरी ‘झिकी कटक’ रणनीति अवलम्बन गरेको छ । र, यो चुनावी रणनीतिमा ओलीका बलियो सहयात्री बन्न पुगे, उपेन्द्र यादव ।

मनिकर कार्की मनिकर कार्की
२०७९ कात्तिक ९ गते १७:२५

शरद् ऋतुको आगमनसँगै मौसम चिसिन सुरु भइसकेको छ । कात्तिक महिनाको आगमनसँगै मौसमको गर्मराहट घट्दै गएको छ । उता मंसिर ४ नजिकिँदै गर्दा मुलुकमा चुनावी सरगर्मी भने दिन प्रतिदिन बढ्दै गएको छ । दलहरु आआफ्ना गठबन्धन र चुनावी तालमेलको मादल बोकेर मतदातासमक्ष चुनावी प्रतिबद्धता भट्याउन थालिसकेका छन् ।

चुनावी मैदानमा उम्मेदवारको रुपमा उत्रिएका दलीय प्रतिनिधि तथा स्वतन्त्र व्यक्तिहरुको प्रचारप्रसार अभियानले गाउँ बस्तीदेखि सहर बजारसम्म गुञ्जायमान भइरहेको छ । उम्मेदवारहरुले आआफ्नो गच्छे र हैसियत अनुसार प्रचार अभियान जारी राखेका छन् ।

यसपटकको चुनावी प्रचारमा सामाजिक सञ्जाल पनि पूरै रंगिएका छन् । चुनावी माहौल गाउँ बस्तीदेखि सहर बजारसम्म पुगिसकेको छ । तथापि जनस्तरमा देखिने स्वस्फूर्त चुनावी उत्साह भने घट्दै गएको छ ।

निर्वाचनमा दलहरुले आआफ्नो विजयको सुनिश्चिताकै लागि चुनावी गठबन्धन र तालमेल गरेका छन् । सत्ताधारी दलहरुको एउटा चुनावी गठबन्धन बनेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि केही दलहरुसँग चुनावी सहकार्य गरेको छ । त्यसैले यसपटकको चुनाव सत्ता गठबन्धन भर्सेस विपक्षी गठबन्धनबीचको रणसंग्रामका रुपमा चित्रित देखिन्छ ।

यी दुई गठबन्धनको अलवा दलहरुको खिचातानी र आरोप्रत्यारोपबीच मुलुकलाई दलहरुकै ‘विकल्प’ दिन भन्दै केही स्वतन्त्र व्यक्ति, समूह तथा नयाँ पार्टीहरुले पनि चुनावी खालमा आफूलाई उज्याएका छन् । उनीहरु पनि अन्य दलहरुले जस्तै आआफ्नो हैसियत र गच्छे अनुसार चुनावी प्रचारमा उत्रिएका छन् । अब को कति पानीमा रहने हो त्यो भने चुनावी नतिजाले नै देखाउनेछ ।

यसपटकको चुनावी दृष्य नियाल्दा खड्किएको विषय भने चुनावी भाष्यको संकट नै हो । अर्थात्, यो चुनावले कुनै खास विषय र मुद्दालाई दृष्टिबोध गर्न सकेको छैन । २०६३ को राजनीतिक परिवर्तन पश्चात्को यो चुनाव चौथो हो । यो निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो आम निर्वाचन हो ।

अर्थात्, यो निर्वाचन संवैधानिक व्यवस्था अनुरुप ५ वर्षमा आउने आवधिक निर्वाचन हो । ऐतिहासिक सहकार्य र सहमतीय राजनीतिका आवश्यकता पर्दा चैं आआफ्नै बल र बुतामा चुनावी मैदानमा उत्रिएका दलहरुले यसपटकको आवधिक निर्वाचनमा भने चुनावी गठबन्धन गर्दा, यसले चुनावको भाष्य स्थापित हुन सकेको छैन ।

चुनावी भाष्य

२०६३ को अन्तरिम संविधानपछि दुई पटक संविधानसभाको निर्वाचन सम्पन्न भयो । २०६४ सालको पहिलो संविधानसभाको ऐतिहासिक कार्यभार जनताले चुनेका प्रतिनिधिले देश र जनताको भविष्यमुखी संविधान लेख्ने थियो ।

त्यसबेला सबै सशस्त्र तथा निरस्त्र राजनीतिक संघर्षको उपलब्धि स्वरुप देखापरेका मुद्दाहरुलाई संस्थागत गर्दै बृहत अर्थराजनीतिक रुपान्तरणसहितको ‘नयाँ नेपाल’ निर्माणको संकल्प थियो । त्यसैले पहिलो संविधानसभाको भाष्य ऐतिहासिक थियो, जसमा मुलुक र मुलुकबासीको भाग्य र भविष्य अजमाउने उद्देश्य अन्तरनिहीत थियो ।

तर, अफशोच तत्कालीन अवस्थामा दलहरुबीचको सत्तासंघर्ष चर्किन जाँदा पहिलो संविधानसभाले संविधान बनाउन सकेन । त्यसपछि सोही उद्देश्यका लागि दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भयो । २०७० मा सम्पन्न दोस्रो संविधानसभाको भाष्य पनि उही संविधान लेख्नु नै थियो । साथै त्यस संविधानसभाले मुलुकमा जारी शान्ति प्रक्रियालाई पनि अन्तिम निश्कर्षमा पुर्याउनु थियो ।

जसै २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भयो, संविधानसभाको मक्सद पूरा भएको मानियो । त्यसपछि नयाँ संविधान अनुरुप पुनःसंरचित मुलुकमा स्थानीय तह तथा प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन सम्पन्न भयो ।

मनिकर कार्की

२०७४ को सो निर्वाचन झनै ऐतिहासिक निर्वाचन थियो, किनकि त्यस निर्वाचनले नै मुलुकको संघीय स्वरुपलाई कार्यान्वयनमा लैजाँदै थियो । मुलुकमा संघीयता लागू भएपछि बनेको नयाँ संविधान अनुरुप सो निर्वाचन भएको थियो । निर्वाचनले संघीयतालाई कार्यान्वयन गर्ने मुख्य उद्देश्य बाकेको हुँदा, त्यसको ऐतिहासिक भाष्य नै संघीयताको कार्यान्वयन थियो ।

निर्वाचन प्रक्रियाबाट संघीय स्वरुपमा पुनर्संरचित मुलुकमा जनप्रतिनिधिहरु निर्वाचित भएर राज्य संयन्त्र क्रियाशील हुने कुरा वास्तवमै ऐतिहासिक थियो । त्यसैले गएको निर्वाचनसम्म जबर्जस्त निर्वाचनको भाष्य स्थापित थियो ।

तर, यसपटकको निर्वाचन भने आवधिक निर्वाचन हो । यो निर्वाचनले लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्दै लोकतन्त्रलाई सुदृढ गर्ने मान्यता रहन्छ । किनकि आवधिक निर्वाचन लोकतन्त्रको मुटु हो । आवधिक निर्वाचनबेगर लोकतन्त्रको परिकल्पना नै गर्न सकिँदैन । त्यसैले यो लोकतन्त्रको मुख्य कडी हो । यसको अलवा यसपटकको निर्वाचनको खास मक्सद र उद्देश्य छैन । विगतमा जस्तो ऐतिहासिक भाष्य यसले बोकेको छैन । उद्यपि दलहरुले कुनै न कुनै रुपमा निर्वाचनको भाष्य बनाउन खोज्दैछन् ।

एउटा रोचक पक्ष चाहिँ के छ भने, जुन बेला निर्वाचनको बेजोड भाष्य थियो र दलहरुबीच ऐतिहासिक सहकार्यको आवश्यकता थियो । मुलुकको संविधान (अन्तरिम) ले नै सहमतीय राजनीतिको पक्षपोषण पनि गरेको थियो । मुलुकको पछिल्लो राजनीतिक उपलब्धि हासिल गर्ने क्रममा सहयात्री बनेका दलहरुले राजनीतिक सहकार्यको उच्चतम् अभ्यास स्वरुप चुनावी गठबन्धन वा तालमेल गर्न आवश्यक ठानेनन् ।

२०७४ को चुनावमा निर्मित नेकपा एमाले र माओवादीको बाम गठबन्धनलाई अपवाद ठान्ने हो भने त्यसअघिको संविधान सभा निर्वाचनमा दलहरुबीच तिक्तता र दूरी बढ्दै गएको अनुभूति हुन्थ्यो । जुन बेला दलहरुबीच मुलुकको अर्थराजनीतिक रुपान्तरणको सवालमा मतैक्यता हुनुपर्दथ्यो । सहमतीय र सहकार्यको यात्रा जरुरी थियो, त्यसबेला भने दलहरुबीच दूरी बढेको थियो ।

तर, अहिले जुन बेला आवधिक निर्वाचन हुँदैछ, दलहरुले विचार, सिद्धान्त अनि राजनीतिक कार्यदिशालाई नै तिलाञ्जलि दिएर चुनावी गठबन्धनसहित चुनावी मैदानमा उत्रिएका छन् । यसबाट राजनीतिक दलहरुले आफ्नो सत्ता स्वार्थलाई नै उच्च महत्व दिएको र आफ्नो सत्ताको बर्चस्व कायमै राख्ने अभिप्रायका साथ चुनावी मैदानमा उत्रिने प्रयत्न गरेको अनुमान गर्न सकिन्छ । विचार, सिद्धान्त र राजनीतिक एजेण्डाहरु भन्दा पनि शक्ति सन्तुलनको परिस्थिति नै चुनावी गठबन्धन र तालमेलको रसायन बन्न पुग्यो ।

अन्ततः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दुईदुई पटक प्रतिनिधिसभा विघटन गर्ने परिघटनाले नै अहिलेको चुनावी समीकरण निर्माण भएको हो । यसमा जनता समाजवादी पार्टीले अन्तिम अवस्थामा आफूहरुलाई सत्ता घटक दलहरुले ‘हेलाहोचो’ गरेको भन्दै चुनावी तालमेलका लागि क्याम्प परिवर्तन गर्न पुगेको हो ।

यसर्थ, यस निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेको आआफ्नै चुनावी रणनीति देखिन्छ । जसमा पछिल्लो समय राजनीतिमा ‘विकल्प’ दिने भन्दै उदाएका स्वतन्त्र व्यक्ति, समूह र दल पनि प्रतिस्पर्धी बन्दैछन् ।

देउवाको ‘जाई कटक’

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनले यसपटकको चुनावमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई नै निशाना साँधेको छ । सत्ता गठबन्धनको मुख्य भाष्य नै ‘प्रतिगमन’ हो ।

निश्चित रुपमा केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने सो कदम सही थिएन, प्रतिनिधिसभाबाट नै सरकार परिवर्तनका अन्य विकल्पहरु हुँदाहुँदै संसद बिघटन गरिनु किमार्थ उचित थिएन, छैन र हैन । आखिर न्यायलयको फैसलासँगै ओलीको ‘बुरा–काम का बुरा–नतिजा’ स्वरुप उनले दुई तिहाई उन्मुख जनमत भएको सरकार मात्र गुमाएनन् अपितु ५ प्रदेशका प्रदेश सरकारको नेतृत्व समेत गुमाउन पुगे ।

त्यसैले त्यही कदमलाई ‘प्रतिगमन’को व्याख्यानका साथ एउटा दललाई चुनावी प्रतिस्पर्धामा रोक्न र छेक्नकै लागि गठबन्धनको टेको समाउनु भने लोकतन्त्रमा उचित अभ्यास होइन । निश्चय पनि देउवा नेतृत्वको गठबन्धनले एउटा अमूक दलका विरुद्ध निषेधात्मक शैली अवलम्बन गरेर कुनै विचार, सिद्धान्त र राजनीतिक कार्यदिशा अनुकूल नहुनेगरी केवल चुनावी श्रेष्ठता कायम गर्न ‘जाई कटक’को शैलीमा गठबन्धन गरी त्यसै अनुरुपका भाष्य निर्माण गर्न खोज्नु किमार्थ उचित होइन ।

लोकतन्त्रमा गलत कामको सजाय दिने जिम्मेवारी सार्वभौम नागरिकको हो । सार्वभौम जनताले चुनावमा आफ्नो अभिमत प्रकट गरेर दललाई पुरस्कार या सजाय दिन्छन् । तर, जनमतलाई नै प्रभावित पार्ने, मतदातालाई नै आफ्नो राजनीतिक आस्था अनुरुप मतदान गर्ने अवसर नदिई विकल्पबिहीन बनाएर कुनै अमूक दलका विरुद्ध जाई कटक गर्नु उचित हो ?

अहिले सत्ता गठबन्धनका नेताहरु त्यही भाष्यलाई स्थापित गर्दै विपक्षीलाई देखाइदिने उद्घोष गर्दै चुनावी प्रचारमा उत्रिएका छन् । देखाउने दलीय गठबन्धनले हैन, जनताले हो । केही दिनअघि प्रधानमन्त्री शेर बहादुर देउवाले एक चुनावी भाषणमा ‘गठबन्धनलाई जिताएर विपक्षीलाई देखाइदिने’ अभिव्यक्ति दिएका थिए भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘गठबन्धनले चुनाव हारे मुलुकमा धेरै कुरा नरहने र पाप धुरीबाट कराउने’ भन्दै भ्रम र भयको सिर्जना गरिरहेका छन् ।

सत्ता गठबन्धनले निर्माण गर्न खोजको चुनावी भाष्यले वास्तवमै जनतालाई ‘भय’देखाएर चुनावी श्रेष्ठता कायम गर्ने रणनीति अवलम्बन गरेको छ । अर्थात्, यो रणनीति विपक्षी दलप्रतिको आक्रमण हो । त्यसैले सत्ता गठबन्धनले लिएको रणनीति जाई कटक हो । के जाई कटक शैलीले लोकतन्त्रको रक्षा हुन्छ ? जनमतको सम्मान हुन्छ ? जनताको राजनीतिक आस्था र विश्वासको संरक्षण हुन्छ ?

ओलीको ‘झिकी कटक’

गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा केन्द्रीय निर्णय अनुरुप चुनावी तालमेल गरेको थियो भने बाँकी स्थानीय तहहरुमा आवश्यकता र स्थान विशेषको वस्तुस्थितिका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । तर, स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको संयुक्त निर्णय बमोजिम तोकिएका स्थानहरुमा औपचारिक चुनावी तालमेलत भए तापनि देशव्यापी तालमेल संभव हुन सकेन ।

स्थानीय तहकै निर्वाचमा पनि सत्ता गठबन्धनको चुनावी भाष्य ‘प्रतिगमन’लाई परास्त गर्ने भन्ने नै थियो । स्थानीय तहको निर्वाचनमा कुनै दलविशेषप्रति लक्षित गरी जाईकटक शैलीमा जर्बजस्त ‘प्रतिगमन’को भाष्य तय गर्नु उचित थियो वा अनुचित ? यो निश्चय नै सोचनीय विषय हुनसक्छ । सत्ताधारी दलहरुको गठबन्धन बनेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सरकारबाहिर रहेका दलहरुसँग संयुक्त चुनावी गठबन्धन निर्माण गरी चुनावी मैदानमा उत्रियो ।

आसन्न निर्वाचनका लागि सत्ताधारी दलहरुको गठबन्धन कायमै रहेपछि नेकपा एमालेले सत्तापक्षको जाई कटकको प्रतिउत्तरमा सत्ताबाहिर रहेका केही दलहरुसँग चुनावी तालमेल गरी ‘झिकी कटक’ रणनीति अवलम्बन गरेको छ । र, यो चुनावी रणनीतिमा ओलीका बलियो सहयात्री बन्न पुगे, उपेन्द्र यादव । सत्ता गठबन्धनले स्थानीय तहमा गरेको असहयोग र सत्ताधारी सहयात्री दलहरुले सिट बाँडफाँडका क्रममा आफ्नो पार्टीलाई ‘न्यायोचित’ व्यवहार नगरेको भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँगको चुनावी तालमेलमा मिसिएपछि ओलीको सत्ता गठबन्धन विरुद्धको झिकी कटक रणनीतिले मूर्त रुप लिएको देखिन्छ ।

यो प्रतिपक्षी गठबन्धनले पनि आधारभूत रुपमा दलहरुको नीति, विचार, सिद्धान्त र राजनीतिक कार्यदिशालाई तिलाञ्जली नै दिएको छ । किनकि यो गठबन्धनमा चर्को गणतन्त्र पक्षधरदेखि राजतन्त्रका हिमायतीसम्म सँगै छन् । त्यसैले यी गठबन्धनहरु केवल चुनाव लक्षित राजनीतिका उपज हुन् । यिनले आधारभूत रुपमा मतदाताको स्वविवेकीय छनौटको अधिकारलाई सीमित तुल्याउनुका साथै स्वस्थ चुनावी प्रतिस्पर्धालाई साँघुर्‍याइदिएका छन् ।

स्वतन्त्रको च्याँखे दाउ

सत्ताधारी दल र विपक्षी दलको चुनावी गठबन्धनले चुनावी मैदानमा स्वतन्त्र व्यक्ति, समूह र नयाँ दललाई स्पेस दिएको छ । जसरी जुवाको खालमा जुवाडेहरुको साथसाथै च्याँखे दाउ थाप्नेहरु पनि हुन्छन् । अहिले राजनीतिमा पनि त्यस्तै च्याँखे दाउ थाप्नेहरु जागेका छन् ।

कहिलेकाहीं जुवाडेहरुको भन्दा च्याँखे दाउ थाप्नेहरुको हल्लाखल्ला र आवाज चर्को सुनिन्छ । हो, अहिले राजनीतिको चुनावी मैदानमा पनि यस्तै स्थिति देखिएको छ । दलहरुको गतिविधिप्रति असन्तुष्टि बढ्दै जाँदा, दलहरु जनताप्रति उत्तरदायी नहुँदा, उनीहरुले राजनीतिलाई विकृत बनाइरहँदा, सत्ता र शक्तिमुखी राजनीति अजमाउँदा राजनीतिमा च्याँखे दाउ थाप्नेहरुको संख्या थपिँदै गएको छ ।

यसपटकको निर्वाचनमा दलीय गतिविधिका साथसाथै त्यस्तै स्वतन्त्र उम्मेदवार र स्वतन्त्र समूहको उम्मेदवारीले यथेष्ट चर्चा पाएको छ । मुलुकभरको उम्मेदवारी दर्ताको रेकर्ड हेर्दा त्यस्ता उम्मेदवारहरुको संख्या पनि उल्लेख्य देखिएको छ ।

दलीय उम्मेदवारहरु भन्दा बढी त्यस्तै च्याँखे दाउ थाप्ने उम्मेदवारहरुको संख्या बढी छ । अब निर्वाचनमा बाजी कसले मार्ला ? राजनीतिका पुराना खेलाडी वा च्याँखे दाउमा झुल्किएका स्वतन्त्र खेलाडीहरुले ? यो भने निर्वाचनको नतिजाबाटै थाहा लाग्नेछ ।

तर, यसपटक दलहरुलाई उनीहरुको विगतको गल्ती कमजोरी मात्र होइन उनीहरुको गलत कार्यशैली र सत्तामुखी चरित्रलाई सबक सिकाउनकै लागि भए पनि केही प्रतिनिधिमूलक स्थानहरुमा च्याँखे दाउ थाप्नेहरुकै पल्लाभारी हुने संभावनालाई नकार्न सकिँदैन ।

तथापि स्वतन्त्र वा स्वतन्त्र समूहहरुको धरातल भने आफ्नै विवेक, विचार, दृष्टिकोण र समाजको अग्रगामी अर्थराजनीतिक रुपान्तरणको विस्तृत खाकामा भन्दा पनि पुराना राजनीतिक खेलाडीहरुको नकामबाट उत्पन्न भएको वितृष्णामा अडेको हुँदा त्यो धरातलले धेरै भार थाम्न नसक्ने प्रष्टै देखिन्छ ।

पुराना राजनीतिक पार्टीहरुलाई यो चेतावनी र सजगतासहितको संभवतः अन्तिम मौका हुनसक्छ । उनीहरुले आफ्नो कार्यशैली परिवर्तन गर्दै सत्तामुखी चरित्रलाई त्यागेर जनमुखी चरित्र ग्रहण गर्नु जरुरी छ ।

यदि दलहरुमा रुपान्तरण आएन भने अबका दिनमा राजनीतिले नयाँ मार्ग अवलम्बन गर्नेमा सन्देह छैन । त्यसैले अब हेर्नुछ, दलहरुले आफ्ना व्यवहार र सत्तामुखी चरित्रलाई सुधार्लान् वा उनीहरुले राजनीतिक खाल च्याँखे दाउ थाप्नेहरुकै लागि उपलब्ध गराउने छन् ।

चुनावी नतिजा र त्यसपछि मुलुकले ग्रहण गर्ने राजनीतिक कोर्सले नै अबको राजनीतिक मार्ग तय गर्नेछ । तर, यो हेक्का हुनै पर्छ कि जनताको अभिमत सधैं दलहरुले निर्माण गरिदिएका स्वार्थकेन्द्रित चुनावी ‘गठबन्धन’को पेवा हुँदैन, रहँदैन ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?