+
+

आर्थिक मन्दीको असर गुगल र माइक्रोसफ्टमा, आम्दानी निरन्तर ओरालो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १६:३३

काठमाडौं । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्ट तथा गुगल लगायतमा गम्भीर असर पारेको छ ।

आर्थिक मन्दीले गुगल तथा युट्युबको मातृ कम्पनी अल्फाबेट तथा माइक्रोसफ्ट लगायतको आम्दानीमा तिव्र रुपमा गिरावट आएको छ ।

सेप्टेम्बरमा सकिएको वर्षको तेश्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा जम्मा ६ प्रतिशतले बढोत्तरी भई ६९ अर्ब डलर पुगेको अल्फाबेटको रिपोर्टमा उल्लेख छ । यो वृद्धिदर कोभिडकाल बाहेक पछिल्लो एक दशकमा अल्फाबेट कम्पनीको आम्दानीको वृद्धिदरमा सबैभन्दा कम त्रैमासिक वृद्धिदर हो ।

आर्थिक मन्दीसँगै कम्पनीहरुले आफ्नो विज्ञापन बजेटमा कटौती गरेसँगै त्यसको असर गुगल तथा युट्युब लगायतमा परेको हो ।

त्यस्तै माइक्रोसफ्टले पनि आफ्ना कम्प्युटर तथा अन्य प्रविधिहरुको मागमा कमी आएको जनाएको छ । योसँगै माइक्रोसफ्टका उत्पादनहरुको बिक्री दर पछिल्लो ५ वर्षकै सबैभन्दा कमजोर बनेको छ । माइक्रोसफ्टका अनुसार उसका प्रडक्टहरुको बिक्रीमा पछिल्लो त्रैमासिकमा जम्मा ११ प्रतिशतले वृद्धि भई ५० अर्ब १० करोडका सामान बिक्री गर्न सफल भएको छ ।

पछिल्लो समय मुल्यबृद्धि तथा व्याजदरबृद्धिसँगै विश्वभरका उपभोक्ता तथा व्यवसायहरु खुम्चिन बाध्य छन् जसले विश्वव्यापी आर्थिक महामन्दीको त्रास बढाएको छ ।

त्यस्तै अमेरिकी डलर बलियो बन्दै जानुले समेत अमेरिकी बहुराष्ट्रिय कम्पनीका वस्तु तथा सेवाहरुलाई विश्व बजारमा महंगो बनाइदिँदा बिक्रीमा कमी आएको छ ।

तेश्रो त्रैमासिकमा अल्फाबेटको मुनाफा ३० प्रतिशतले घटेर १३ अर्ब ९० करोड डलर कायम भएको छ । रिपोर्ट अनुसार युट्युबले आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गर्न थालेयताकै पहिलोपटक उसको विज्ञापन आम्दानीमा पहिलोपटक गिरावट आएको छ ।

कम्पनीको प्रडक्टको बिक्रीदरमा लगातार पाँचौं त्रैमासिकसम्म गिरावट देखिएको छ ।

अल्फाबेट कम्पनीका सीईओ सुन्दर पिचाइले भने अल्फाबेटले आफ्नो ध्यानलाई केन्द्रित गर्दै आर्थिक वातावरणप्रति चनाखो बनेको बताएका छन् ।

उता संस्थागत व्यावसायिक ग्राहकहरुले खर्च कटौती गर्दै गएका कारण यो वर्षको बाँकी अवधिमा पनि पर्सनल कम्प्युटर तथा क्लाउड कम्प्युटिङग प्रविधिको माग निरन्तर ओरालो लाग्ने अनुमान माइक्रोसफ्टले गरेको छ । माइक्रोसफ्टको एक्सबक्स भिडियो गेमको बिक्रीमा पनि यो पटक कमी आएको छ ।

महामारीको लकडाउनका बेला उपभोक्ता तथा कामदारहरु बढि भन्दा बढि प्रविधिमा निर्भर हुँदा विश्वका ठूला प्रविधि कम्पनीका प्रडक्टहरुको बिक्रीमा तिव्र रुपमा वृद्धि भएको थियो । तर वर्तमानमा प्रविधि क्षेत्रको अवस्था कमजोर देखिएको छ ।

हालैका महिनाहरुमा अल्फाबेट कम्पनीले नयाँ कर्मचारी भर्नाको कार्यलाई सुस्त बनाएको छ माइक्रोसफ्टले कर्मचारी कटौती गरिरहेको छ ।

त्यस्तै नेटफ्लिक्स, ट्वीटर तथा स्नाप लगायतले पनि कर्मचारी कटौती गर्ने वा नयाँ कर्मचारी भर्नाको काम रोक्ने गरेका छन् ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?