+
+

निर्वाचन सुरक्षाका लागि चितवनमा ४ हजार सुरक्षाकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते २०:१५

१२ कात्तिक, चितवन । ४ मंसिरमा हुने संघ तथा प्रदेशको निर्वाचनका लागि चितवनमा झण्डै ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार १९ सय ९१ जना म्यादी प्रहरी, ११ सय ४२ जना जनपथ प्रहरी र सशस्त्र प्रहरी बल परिचालित हुनेछन् ।

मतदानस्थल र केन्द्रको भित्री घेरामा म्यादी प्रहरी र जनपथ हुनेछन् भने, त्यसबाहिरको सुरक्षा शशस्त्र प्रहरीले र त्यसभन्दा पनि बाहिर नेपाली सेनाको सुरक्षा रहनेछ । पर्याप्तमात्रामा सादा पोशाकका प्रहरी पनि खटिने प्रहरी प्रमुख अधिकारीले बताए ।

उनका अनुसार सम्वेदनशील ठाउँहरुमा सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहनेछ भने अन्यत्र भने सेना र सशस्त्र प्रहरी बलको टोलीले बाहिरबाट बेलाबेलामा अवस्था हेरेर सुरक्षा अवस्थाको जानकारी लिनेछ ।

चितवनका तीन वटा निर्वाचन क्षेत्रमा गरेर १६२ वटा मतदानस्थल र ४६० वटा मतदानस्थल रहनेछन् । २०७४ को निर्वाचनमा १६६ मतदानस्थल र ४०८ मतदान केन्द्र तोकिएका थिए । यसपटक अघिल्लो चुनावमा भन्दा मतदान केन्द्र थपिएका छन् भने मतदानस्थल घटेका छन् ।

क्षेत्र नं. १ मा ५६ मतदानस्थल, क्षेत्र नं. २ मा ४३ मतदानस्थल, क्षेत्र नं. ३ मा ६३ मतदानस्थल रहनेछन् । चितवनका प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार जिल्लाका ३४ मतदानस्थललाई अति सम्वेदनशील, ८९ लाई सम्वेदनशील र ३९ वटालाई सामान्य भनेर बर्गीकरण गरिएको छ । २०७४ को निर्वाचनमा ५२ वटा मतदानस्थललाई अति संवेदनशील भनेर राखिएको थियो ।

चार लाख मतदाता

चितवनका तीन निर्वाचन क्षेत्रमा गरेर ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । यो ०७४ को चुनाव भन्दा १० हजार ६५७ ले बढी हो । २०७४ मा तीन लाख ५४ हजार ३६ मतदाता थिए । यसपटक महिला २ लाख ९ हजार ३०९ र पुरुष १ लाख ९९ हजार ३२ जना रहेका छन् ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र नम्बर ३ मा मतदाता रहेका छन् । क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २ सय ८३, क्षेत्र न. २ मा १ लाख २४ हजार २ सय १४ र क्षेत्र नं. १ मा १ लाख ३९ हजार ८ सय ४५ जना मतदाता रहेका छन् ।

प्रदेशतर्फ चितवन १ (क) मा ६६ हजार १५, क्षेत्र नं. १ (ख) मा ६३ हजार ८ सय ३० मतदाता छन् । यस्तै चितवन २ (क) मा ६१ हजार ९ सय ७३, क्षेत्र नं.२ (ख) मा ६२ हजार २ सय ४२ मतदाता छन् । यस्तै क्षेत्र नं. ३(क) मा ७८ हजार २ सय ८६, क्षेत्र नं. ३ (ख) मा ६५ हजार ९ सय ९६ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?