+
+
Shares

‘बोर्डिङ पास’ बाँडेपछि प्राधिकरणले रोक्यो निगमको दिल्ली उडान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १६:४९

१३ कात्तिक, काठमाडौं । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को चेक-इन काउन्टरले धमाधम दिल्ली उडानको ‘बोर्डिङ’ पास दिइरहेको थियो । ‘आरए २१७’ वाइडबडी विमानमार्फत दिल्ली जान कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच पार गरेर प्रतीक्षा कक्षसम्म पुगिसकेका थिए ।

तर, एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी काउन्टरमा आएर भने,’के का आधारमा बोर्डिङ पास दिँदै हुनुहुन्छ ?’

केही बेरको गनथनपछि  नेपाल एयरलाइन्सको चेक-इन काउन्टर बन्द भयो । त्यतिबेलासम्म ७३ जनाले बोर्डिङ पास लिइसकेका थिए ।

नेपाल एयरलाइन्सका कर्मचारीले लाइनमा रहेका यात्रुलाई भने, ‘माफ गर्नुहोला, तत्काल उडान नहुने भयो ।’

त्यसपछि चेक-इन गरिसकेका यात्रुलाई पनि छानी-छानी फर्काइयो । नेपाल एयरलाइन्सका कर्मचारीले यात्रुलाई एकाध घण्टा धैर्य गर्न भने । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग वार्ता भइरहेको र उड्न पाइने उनीहरुको भनाइ थियो ।

सो उडानमा २५४ जनालाई दिल्ली पठाउन टिकेटिङ भएको थियो ।

तर, एक घण्टापछि आइतबार उडान नहुने जानकारी दिइयो । एकाएक उडान नै नहुने भनेपछि यात्रुहरु रनभुल्लमा परे । किन यस्तो भयो भन्दै सोधखोज गर्दा जवाफ आयो, ‘दिल्ली उडानको यो तालिका नै रहेनछ ।’

तालिकामा नै नभएको उडानको टिकट किन बेचियो त ? भन्दै एयरलायन्सका कर्मचारीमाथि यात्रु खनिए । तर, कर्मचारीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले नै ढिला गरी स्वीकृत उडान तालिकाबारे जानकारी गराएको दाबी गरे ।

१ः४५ बजे उड्नुपर्ने विमान उड्नै नसक्ने जवाफ आएपछि दिल्ली जान विमानस्थलमा पुगेका यात्रु पनि आक्रोशित भए । चेक-इन एरियमा छिर्न नपाएका यात्रुलाई टर्मिनलभित्र पस्न दिइएन ।

गैरजिम्मेवार ढंगले यात्रुहरुलाई अलपत्र पारियो । यात्रुहरू नेपाल एयरलाइन्सको काउन्टर घेरेर बसे । उनीहरु र एयरलाइन्सका कर्मचारीबीच पटक-पटक घम्साघम्सी परिरह्यो।

नेपाल एयरलाइन्सले केही यात्रुलाई अन्य दिल्ली उडान गर्ने भारतीय कम्पनीको विमानमा पठाउने आश्वासन दियो  भने कतिपय यात्रु अहिले पनि विमानस्थलको बाहिर नै अलमलमा परे । तर, निकास दिएन ।

जर्मनी जाँन हिँडेका एक यात्रु आफूसँग ‘नन रिफन्डेबल’ टिकट रहेकाले आज दिल्ली पुग्न नसके करिब २ लाख रुपैयाँ गुम्ने बताउँछन् । ‘यो लापरवाहीको हद हो, नेपाल एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वेच्छाचारिताका पराकाष्ठा हो,’ नाम उल्लेख नगर्ने शर्तमा ती यात्रुले भने,’विदेशमा ट्रान्जिट गर्ने मजस्ता सयभन्दा बढी साथिहरु यहाँ अलपत्र पर्नुभएको छ ।’

कतिपयको उपचार र परीक्षासम्मको सवाल उडानसँग जोडिएको भन्दै आफूहरुले विमानस्थलबाट नबाहिरिने निर्णय लिएको सुनाए । ‘हामीलाई बाहिर नेपाल एयरलाइन्सको कार्यालयमै गएर कुरा गर्न भनिएको छ,’ तर हामी बाहिर जानेवाला छैनौं,’ उनले भने ।

किन रोकियो विमान ?

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत तालिकाअनुसार नै उडान कटौती गरिएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर बताउँछन् । उनका अनुसार ३० अक्टोबर २०२२ (आज) देखि २५ मार्च २०२३ सम्मका लागि ‘विन्टर सिजन’को उडान तालिका तय भएको छ ।

यो सिजनमा काठमाडौंबाट प्रति तीन उडानभन्दा बढी उडान गर्दा कम्तीमा एउटा उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान तालिका बनाउन प्राधिकरणले नेपाल एयरलाइन्सलाई भनेको थियो । तर, नेपाल एयरलाइन्सले पुरानै (समर सेड्युल) अनुसार नै तालिका प्रस्ताव पेश गरेको थियो । समर सेड्युलअनुसार नै टिकेटिङ गरिएको थियो ।

तर, प्राधिकरणले भैरहवाबट सेड्युल नराखेको भन्दै हप्तामा १४ वटा दिल्ली उडान गरिरहेको नेपाल एयरलाइन्सको उडान १० वटामा सीमित गर्ने निर्णय गरिदियो । आइतबार विहानको दिल्लीमा हुने उडान नियमित तवरमै भए पनि दिउँसोको उडान स्वीकृत तालिकामा नभएपछि रोकिएको ठाकुरले बताए ।

‘एयरलाइन्स र प्राधिकरणबीच समन्वय नहुँदा यात्रुहरु त मर्कामा परे नि ?’ भन्ने अनलाइनखबरको प्रश्नमा महाप्रवन्धक ठाकुरले भने,’यो एयरलाइन्सको विषय हो, उसले कसै गरी आफ्ना यात्रुलाई व्यवस्थापन गरेर दिल्ली पठाउला ।’

नेपाल वायुसेवा निगमका अधिकारीहरु भने प्राधिकरणले समयमै जानकारी नदिएकाले यस्तो अवस्था आएको भन्दै पन्छिएका छन् । तर, यात्रुहरु भने आफूहरुमाथि अन्याय भएको भन्दै विमानस्थलभित्रै चर्काचर्की गरिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?