+
+

टी-२० विश्वकपमा अष्ट्रेलियाको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १७:१६

१४ कात्तिक, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले टी-२० विश्वकपमा दोस्रो जित निकालेको छ । सुपर १२ अन्तर्गत समूह ए को खेलमा अष्ट्रेलियाले सोमबार आयरल्याण्डलाई ४२ रनले पराजित गरेको हो ।

जितपछि चार खेलबाट ५ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समान ५ अंक नै रहेको न्युजिल्याण्ड राम्रो रनरेटसहित शीर्ष स्थानमा छ ।

ब्रिसबनमा अष्ट्रेलियाले दिएको १८० रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो ।

अष्ट्रेलियाको बलियो बलिङ आक्रमणसामू आयरल्याण्ड सुरुमै धर्मराएको थियो । आयरल्याण्डले २५ रन बनाउँदा नै ५ विकेट गुमाइसकेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गरेका विकेटकिपर लोर्कान टकरले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेनन् ।

टकरले अविजित रहँदै सर्वाधिक ७१ रनको योगदान गरे । उनले ४८ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । गारेथ डेलानीले १४ तथा पउल स्टरलिङ र मार्क एडेरले समान ११ रन जोडे ।

अष्ट्रेलियाका लागि प्याट कमिङ्स, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिए । मार्कुस स्टोइनिसले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर १७९ रनको योगफल खडा गरेको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ बलमा सर्वाधिक ६३ रन बनाए । यस्तै मार्कस स्टोइनिस ३५ र मिचेल मार्शले २८ रन जोडे । टिम डेविड १५ रनमा अविजित रहे ।

आयरल्याण्डका ब्यारी म्याकार्थीले ३ तथा जोस लिटले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?