+
+

चाडवाड सकिएलगत्तै ठोरीमा पर्यटक बढे

सुरेश बिडारी सुरेश बिडारी
२०७९ कात्तिक १५ गते १८:५६
ठोरीको पर्यटकीय स्थल राईधारा

१५ कात्तिक, वीरगञ्ज । दिपावली र छठ पर्व सकिएलगत्तै पर्साको ठोरीमा नेपाली र भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण विगतका वर्षमा सुस्ताएको पर्यटकीय चहलपहल यसवर्ष बढेको हो ।

छठ पर्व सकिएलगत्तै सीमावर्ती भारतीय शहर जमुनिया, नरकटियागञ्ज, रामनगर, पटना लगायतका ठाउँबाट पर्यटक आएका छन् भने नेपालको वीरगञ्ज, पोखरिया, बाराको सिमरा, कलैया लगायतका स्थानबाट पर्यटक ठोरी पुगेका छन् । समूहमा वा स–परिवार आएर वनभोज खाएर फर्केनेको संख्या बढेको स्थानीयले बताएका छन् । हरियाली पहाडले घेरिएको ‘मिनी उपत्यका’ को रुपमा चिनिने ठोरी तराई मधेसको आकर्षक पर्यटकीय गन्तव्य हो ।

रानीवन, अमृत धारा, राईधारा, बुलबुले, चिसापानी चौर लगायतका क्षेत्रमा वनभोज खान पर्यटकहरु आउने गरेका छन् । यहाँको सेतो पहाड, रातो पहाड, सिनेही पहाड, शनिश्चरे डाँडा, चिसापानी डाँडा, धार्नीखोला, ब्यारेक खोला, मनमोहन स्मृति पार्क, गणेशमान पार्क, बुद्ध स्टोन पार्क, ठुटे खोला पुल, शहीद स्मारक, बाघमोर्चा खोला, धार्नी खोलाको झोलुंगे पुलको अवलोकनका लागि पनि पर्यटक ठोरी पुग्ने गरेका छन् ।

पर्यटकहरुलाई आकर्षित गर्न राईधारा पिकनिक स्पटमा बाघको मूर्ति समेत बनाइएको छ । जसका कारण बाघको मूर्ति बनाइएको स्थानमा सेल्फी खिच्न पर्यटकहरुको भीड लाग्ने गरेको बस्नेतले बताए ।

त्यस्तै ठोरीमा सीता गुफा, वनशक्ति मन्दिर, बाघमोर्चा माई लगायत धार्मिक क्षेत्रमा पूजा अर्चनाका लागि पनि मानिसहरु आउने गरेका छन् । रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर पनि पर्यटकको रोजाइको क्षेत्र हो ।

हरेक वर्ष तिहार र छठ पर्व सकिएलगत्तै ठोरी घुम्न र पिकनिक खान पर्यटकको घुइचो नै लाग्ने गरेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नतेले जानकारी दिए । उनका अनुसार ‘पिकनिक स्पट’ राईधारामा तिहारपछि मात्रै सवारी पार्किङ शुल्कबाट ५० हजार रुपैयाँ संकलन भएको छ ।

वनशक्ति सामुदायिक वन अन्तर्गत ठोरी गाउँपालिका–२ मा पर्ने ठुटेखोला किनारमा पिकनिक स्पट सञ्चालनमा ल्याइएको छ । पिकनिक स्पटको व्यवस्थापनको जिम्मा भने निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले लिएको छ । बस्नेतका अनुसार वनशक्ती सामुदायिक वन समिति राईधारा क्षेत्रको संरक्षण र व्यवस्थापनमा निष्क्रिय भएकोले निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले नै संरक्षण र व्यवस्थापन गर्दै आएको छ ।

राईधारा क्षेत्रमा पिकनिकका लागि आउने हल्का चार पांग्रे सवारी पार्किङ गरे वापत नेपालीका लागि २ सय रुपैयाँ र भारतीयका लागि ३ सय २० रुपैयाँ शुल्क तोकिएको छ । ट्याक्टर र बस पार्किङका लागि नेपालीले ५ सय रुपैयाँ र भारतीयले ८ सय रुपैयाँ तिर्नुपर्छ । पार्किङ शुल्कबाट संकलन गरिएको रकमबाट सरसफाइ र अन्य व्यवस्थापनको काम गर्ने गरिएको बस्नेतले बताए । ठोरीमा राम्रो पर्यटकीय क्षेत्र भएपनि उचित व्यवस्थापन हुन नसकेको कतिपयको भनाइ छ ।

मधेश प्रदेश सरकारले ११ चैत २०७८ मा ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गर्दै पूर्वाधार विकासमा १० करोड बजेट दिने घोषणा गरेको थियो । तर त्यो रकम भने आइनसकेको गाउँपालिकाले जनाएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?