+
+
काठमाडौं–७ :

ब्रान्डले थिचिएकी मानुषी र ब्रान्डिङ नभएका श्यामको प्रतिस्पर्धा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ कात्तिक १७ गते २१:४३

१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको समय सुरु हुनुअगाडि नै काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवारहरूले एकसरो मत मागिसकेका छन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार आकर्षण पोखरेलले त स्थानीय चुनावकै बेलादेखि भोट माग्न थालेको बताउँछन् । स्वतन्त्र र साना दलका उम्मेदवार जस्तै ठूला दलका उम्मेदवारहरूले पनि मत मागिरहेका छन् ।

तर निर्वाचन आचारसंहितालाई ध्यान दिनुपर्ने भएकाले उनीहरूले खुलेर प्रचारप्रसार गरेका छैनन्, अनौपचारिक घरदैलोमा सीमित छन् । यो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट मानुषी यमी भट्टराई र नेकपा एमालेबाट श्यामप्रसाद घिमिरे उम्मेदवार छन् । मानुषी र श्याम घिमिरे दुवै घरदैलो अभियानमै छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार रहेका पूर्वमन्त्री राजेन्द्र श्रेष्ठका समर्थकहरूले पनि मत मागिरहेका छन् । नागार्जुन नगरपालिका ३ का ६२ वर्षीय बुद्धिमान लामा, स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार तीव्र पारेपछि ठूला दलहरू पनि दबावमा परेको बताउँछन् । ‘साना र स्वतन्त्र उम्मेदवार घरघर एकसरो आइभ्याए । ठूलालाई पनि साना र स्वतन्त्रको डर भए जस्तो छ’ लामा भन्छन्, ‘अहिले त ठूला दलका उम्मेदवारहरू पनि घरदैलोमा निस्किएका छन् ।’

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका चार वडा (१६, १७, १८ र २५), नागार्जुन नगरपालिकाको तीन वडा (१, २ र ३) र तारकेश्वर नगरपालिकाको तीन वडा (४, ५ र ६) पर्छ । काठमाडौं महानगरको वडानम्बर १६ सोह्रखुट्टे क्षेत्र हो । १७ क्षेत्रपाटी, १८ नरदेवी र २५ जनवहाल क्षेत्र पर्छ । यी क्षेत्रहरूमा रैथाने नेवार समुदायको बाहुल्य छ । स्थानीय ज्ञानबहादुर केसीका अनुसार, कोर सिटीमा करिब ६० प्रतिशत रैथाने र बाँकी अन्य जिल्लाबाट आएकाहरू बस्छन् ।

नागार्जुन र तारकेश्वरमा भने नुवाकोट, धादिङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, मकवानपुर लगायतबाट आएकाहरूको बसोबास छ भने वैदेशिक रोजगारीबाट फर्किएका र पूर्व प्रशासकहरू धेरै छन् ।

ब्रान्डले थिचिएकी मानुषी

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी मानुषी मंगलबार घरदैलो अभियानमै भेटिइन् । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सीता पन्त कुँवर, एकीकृत समाजवादीका जिल्ला कमिटीका सदस्य ज्ञानबहादुर केसी सहितको टोलीमा उनी घरदैलो गरिरहेकी थिइन् । नागार्जुन–३ स्थित स्वस्तिका लामिछानेको घर पुगेपछि कुँवरले मानुषीलाई चिनाइन्, ‘उहाँ हाम्रो उम्मेदवार । डा.बाबुराम भट्टराईकी छोरी ।’

अर्थात् गठबन्धनका कार्यकर्ता मानुषीलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै जोडेर मत मागिरहेका छन् । जबकि ३८ वर्षीया मानुषी काठमाडौं–१८ मै जन्मिएकी थिइन्, यहीं हुर्किएकी हुन् । तर मानुषीलाई बुवाकै ब्रान्डले थिचेको देखिन्छ ।

मानुषी भने आफ्नै परिचय बनाउने र जनतासँग जोडिएर काम गर्ने बताउने गरेकी छन् । स्थानीयको स्वागतपछि सम्बोधन गर्ने क्रममा मानुषीले भनिन्, ‘मलाई यस अगाडि जे–जसरी चिन्नुभएको भए पनि अब आफ्नै कामले चिनिन चाहन्छु । काम गर्नकै लागि यहाँहरूको सहयोग चाहियो ।’

मानुषीले चुनाव जितेपछि ‘सांसदसँग जनता’ कार्यक्रम चलाउने बताएकी छन् । ‘मतदातालाई कामबाट परिचय बनाउने प्रयासमा रहने विश्वस्त बनाइरहेकी छु’, अनलाइनखबरसँग मानुषीले भनिन् । मानुषीलाई बुवासँगै आमाको परिचयले पनि थिचेको छ । उनकी आमा हिसिला यमी यही क्षेत्रबाट जितेर मन्त्री भएकी थिइन् ।

मानुषी जसरी आफ्नै ब्रान्ड भनेर मतदाताको मन जित्न खोजिरहेकी छन्, उसैगरी गठबन्धनमा रहेका नेता/कार्यकर्ताको पनि मन जित्नुपर्नेछ । किनकि गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई हेर्दा माओवादी केन्द्रको भोटले मात्रै मानुषीलाई जित्न सम्भव छैन । अझ नेपाल समाजवादी पार्टी (नेसपा)लाई मओवादी केन्द्रले आफ्नो चिह्न दिएपछि मानुषी यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार बनेकी हुन् । मानुषी भने सत्ता गठबन्धनको पूराका पूरा मत आफूले पाउनेमा विश्वस्त छिन् । अझ प्रतिनिधिसभा विघटनको निर्णयबाट रुष्ट एमाले कार्यकर्ताको समेत मत पाउने उनी बताउँछिन् ।

ब्रान्डिङ नभएका पूर्वप्रशासक घिमिरे

एमालेका उम्मेदवार श्याम घिमिरेलाई भने मानुषीको भन्दा ठीक उल्टो समस्या छ । २०३६ सालमा अनुरास्ववियुमार्फत राजनीतिक सक्रियता सुरु गरेका तारकेश्वर–३ जीतपुरका घिमिरे २०४३ सालमै जनपक्षीय उम्मेदवार बनेका थिए । पछिल्लो समय शिक्षक संगठन, किसान संगठन र जिफन्टमा काम गरे । ६८ वर्षीय घिमिरे एमाले पंक्तिमै राम्रोसँग चिनिन सकेको देखिंदैन । ‘उहाँ पुरानै मान्छे हो, नयाँ पुस्तालाई चिन्न अलिक गाह्रो भएको हुनसक्छ’ एमालेका एक नेता भन्छन्, ‘तर यही कारण मतमा कुनै प्रभाव पर्दैन ।’

गएको स्थानीय चुनावमा तारकेश्वर नगरपालिकाको मेयरका प्रत्यासी थिए, तर टिकट पाउन सकेनन् । तर यो पटक घिमिरेले प्रतिनिधिसभा सदस्यकै टिकट पाए । टिकट पाउनुमा पनि रोचक प्रसंग छ । जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरेर यो क्षेत्र राजेन्द्र श्रेष्ठलाई छोड्ने मनसाय एमालेले बनाएको थियो । त्यसैले काठमाडौंका बाँकी ९ क्षेत्रको टिकट टुंग्याउँदा पनि एमालेले यो क्षेत्र खाली राखेको थियो । तर भागबण्डामा जसपाले यो क्षेत्र लिएन । यसपछि एमालेले घिमिरेलाई उम्मेदवार बनाएको हो ।

घिमिरे आफ्नो व्यक्तिगत सम्बन्ध, पार्टी संगठन र अनुभवका आधारमा जित्ने दाबी गर्छन् । ‘काठमाडौं ७ एमालेले हारेको ठाउँ होइन, यसकारण कसैप्रति मेरो केही कमेन्ट छैन । चुनौती महसुस पनि छैन’ घिमिरेले अनलाइनखबरसँग भने ।

एमालेका बागी उम्मेदवार रामवीर मानन्धर

२०७४ को चुनावमा यो क्षेत्रबाट एमालेकै रामवीर मानन्धरले जितेका थिए । त्यसबेला घिमिरेले प्रचारप्रसारको नेतृत्व गरेका थिए । अहिले तिनै पूर्वमन्त्री मानन्धर बागी उम्मेदवार छन् । मानन्धरले काट्ने मत घिमिरेलाई चिन्ताको विषय हो ।

गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा यो क्षेत्रमा सबभन्दा ठूलो दल कांग्रेस हो । कांग्रेसले १४ हजार १६७ मत पाउँदा एमालेले १२ हजार २०२ मत ल्याएको थियो । एकीकृत समाजवादीले ३ हजार ८३९ मत पाएको छ । स्वतन्त्रले दुई हजार २०६, राप्रपाले दुई हजार २७, माओवादी केन्द्रले ५७६ र जसपाले १६२ मत पाएको छ । घिमिरेले भने मानुषीले गठबन्धनको सबै मत पाउने अवस्था नरहेकाले आफूले जित्ने दाबी गर्छन् ।

राजेन्द्रलाई पूर्व पार्टीकै आश !  

एमालेसँग तालमेलका क्रममा यो क्षेत्र नलिए पनि जसपाले पूर्वमन्त्री राजेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ । स्थानीय चुनावको नतिजा हेर्दा श्रेष्ठ बलियो उम्मेदवार होइनन् । किनकि जसपाले यो क्षेत्रमा जम्मा १६२ पाएको थियो । तर यो चुनावलाई स्थानीय चुनावसँग तुलना गर्न नहुने श्रेष्ठ बताउँछन् ।

उनी एमाले कार्यकर्ताले समेत मत दिने दाबी गर्छन् । एमालेबाटै २०५१ र २०५६ मा चुनाव जितेका श्रेष्ठ आफूले गरेको काम र संघर्षलाई यो क्षेत्रका जनताले नबिर्सिएको बताउँछन् । लामो समय एमालेमै बिताएका उनले २०६९ मा अशोक राईसँगै एमाले छोडेका हुन् । २०७४ मा जसपाबाट समानुपातिक सांसद बनेका उनी देउवा सरकारमा संघीय मामिलामन्त्री समेत बनेका थिए ।

जसपा, एमालेतिर लागेपछि पदमुक्त भएका श्रेष्ठ मतदाताले दल नभएर व्यक्ति हेरेर मत दिने विश्वास व्यक्त गर्छन् । सडक निर्माणदेखि घरघरमा खानेपानीलगायत विकासका काम, प्रदेश र स्थानीय तहलाई बलियो बनाउने गरी कानुन बनाउन खेलेको भूमिकालाई जनताले नजिकबाट नियालेको श्रेष्ठको भनाइ छ । ‘मैले विगतमा गरेका कामहरू जनताले सम्झिएका छन् । लामाबगरको बाटो, घरघरमा खानेपानीको व्यवस्था भएको छ’ श्रेष्ठ भन्छन्, ‘नुवाकोट जोड्ने गल्छी र रसुवा जोड्ने बाटो २५ वर्ष अगाडिको मेरो सपना बीचमा अवरुद्ध थियो, मैले अहिले सुधार गरेको छु । ७/८ वर्षदेखि ठेक्का लिएर काम नगरेकाहरूलाई कालोसूचीमा राख्ने र नयाँ ठेक्कापट्टा लगाउने, पर्यटकीय महत्वका ३४५ मिटर लामो पुल निर्माणमा पहल गरेको छु ।’

आफ्नै परीक्षामा स्वतन्त्र, बागी र लौरो

यो क्षेत्रमा २९ जना उम्मेदवार रहे पनि कतिपय ‘डमी उम्मेदवार’ मात्रै भएको स्थानीय बताउँछन् । तथापि, स्वतन्त्र उम्मेदवार किरण केसी, हाम्रो नेपाली पार्टीका उम्मेदवार आकर्षण पोखरेल जस्ता केही उम्मेदवारको राम्रै प्रभाव देखिन्छ ।

‘युवा छन्, बाचा मात्रै सुनाएका छैनन्, कार्यान्वयन गर्ने तौरतरिका पनि सुनाएका छन्’ स्थानीय बुद्धिमान लामा भन्छन्, ‘जान्नेले जान्नेका कमजोरी पत्ता लगाउलान्, नजान्नेलाई केही गर्छन् कि भन्ने परेको देखिन्छ ।’ तर स्वतन्त्र, बागी र चुनावको वरिपरि बनेका दलहरूले चुनाव जित्ने बलियो आधार भने देखिंदैन ।

तर उनीहरूले पाउने मतले मुख्य प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूको हिसाबलाई राम्रैसँग बिगार्ने छ । त्यस्तै उम्मेदवारमध्ये एक हुन्, रामवीर मानन्धर । यो क्षेत्रमा राम्रै प्रभाव राख्ने रामवीर, एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका छन् । एमालेबाट पटक–पटक चुनाव जितेका मानन्धरले स्वतन्त्र हैसियतमा उम्मेदवार बन्दा पनि नयाँ एजेण्डा र प्रभाव समूह बदल्न सकेका छैनन् । मानन्धरले चाहिं चुनाव जित्ने दाबी गर्न छोडेका छैनन् । दुई पटक वडाध्यक्ष र दुई पटक सांसद जितेका रामवीर सहरी विकास राज्यमन्त्री हुँदा गरेका कामका कारण चर्चामा छन् । बाइपास र दगुर्नेपानीमा सडक विस्तार गरेर चर्चामा आएका मानन्धर पनि घरदैलो अभियानमा छन् ।

काठमाडौं–७ का मतदाताले चासोका साथ हेरेको अर्का उम्मेदवार हुन्, किरण केसी । माछापोखरीका स्थानीय इन्जिनियर केसी दुई महिनादेखि घर-घर हिंडिरहेका छन् । ‘म २८ वर्षीय युवा हुँ, उदाहरणीय बन्छु र विदेशमा रहेका नेपालीलाई नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु’ उनी भन्छन् । २५ हजार बढी मत ल्याएर चुनाव जित्ने उनको दाबी छ ।

हाम्रो नेपाली पार्टीका उम्मेदवार आकर्षण पोखरेल पनि चुनावी मैदानमा छन् । दिगो विकास र जवाफदेही सुशासनका लागि संसदमा गएर भूमिका खेल्ने उनको बाचा छ । ‘समस्याको समाधान नआएर समस्या भएको हो । समाधानको राम्रो सुझाव वा प्रस्ताव आउँदा सबैले समर्थन गर्छन्’, पोखरेल भन्छन् ।

मध्यम वर्ग, सामान्य माग

हरेक चुनाव जस्तै उम्मेदवारको लर्को लागेर मत मागिरहेको यो क्षेत्रको समस्या भने पुरानै हो । साँघुरा सडक छन्, त्यो पनि धुलोले छोपिएको छ । विद्युत्का पोलमा तारहरू अस्तव्यस्त भएर झुण्डिएका छन् । भित्री सडकमा जामको समस्या छ ।

सम्मानका साथ बाँच्ने वातावरण नबन्नु नै यहाँको समस्या भएको ३५ वर्षीय राजन थापा मगर बताउँछन् । डेढ दशक खाडी मुलुकमा श्रम गरेर बिदामा आएका उनी यहीं बसेर व्यवसाय गर्ने सोचमा छन् । तर व्यवसायबाट गुजारा चलाउन सकिन्न कि भन्ने त्रास छ । ‘नेपालमै सानोतिनो व्यवसाय गरेर गुजारा चलाउन सक्ने भयो भने त सधैंका लागि विदेश छाडिदिने हो’ उनी आशावादी पनि छन्, ‘नेपालमा थिति, विधिकै समस्या हो ।’

फर्निचर व्यवसायी बाबुराम लामा त नेताहरूप्रति आक्रोशित छन् । ‘व्यवस्थित विकास गर्नुपर्‍यो । आगलागी भयो भने दमकल छिर्न नसक्ने सडक पनि सडक हुन्छ त ?’ उनी भन्छन्, ‘यसबारे नेताहरूले सोचिदिनुपर्‍यो ।’ यस्ता समस्याको जड मनोमानी विकास, सिस्टम विनाको राज्य संचालन नै हो भन्ने उनलाई लाग्छ । ‘कहाँ, कस्तो, के योजना, कुन रूपमा, कसरी गर्ने हो भन्ने सबैले थाहा पाउने गरी सिस्टम बनाउनुपर्‍यो’ उनको माग छ ।

अर्का स्थानीय बुद्धिमान लामाका अनुसार, रैथानेलाई आफ्नो भाषा, संस्कृति, सम्पदाको संरक्षणको चिन्ता र चासो छ । बाहिरी जिल्लाबाट आएकाहरू दैनिक गुजारामा ख्याल गर्छन् । उनी भन्छन्, ‘आधारभूत आवश्यकता त छ, तर महँगीले मध्यमस्तरका आय भएकालाई गाह्रो भइसक्यो । जसोतसो जग्गा जोडेका, घर बनाएकाहरू छन्, भाडामा बस्नेहरू छन्, रोजगारी गर्नेहरू छन् । जो सीमित आयमा जीवन चलाउन बाध्य छन् ।’

अर्की स्थानीय स्वस्तिका लामिछाने जनप्रतिनिधि जनताकै बीचमा होस्, नियमित सम्पर्कमा रहोस् भन्ने चाहन्छिन् । उनी भन्छिन्, ‘संघीय सांसदले थिति र विधिका लागि पनि काम गर्ने हो । दिगो र गुणस्तरीय विकासका लागि कानुन बनाउने हो । महँगी नियन्त्रण गर्दै धनी र गरिबबीचको खाडल कम गर्ने सिस्टमको विकास गर्ने हो ।’

मुलुकलाई सिस्टममा चलाउन सक्दा समाजवादको यात्रा तीव्र गतिमा अगाडि बढ्ने उनको विश्वास छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?