+
+

जनताले मजस्तै जनप्रतिनिधि खोजेका छन् : राजेन्द्र श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते ९:३२

१७ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र श्रेष्ठ करिब चार दशकदेखि राजनीतिमा छन् । २०५१ मै सांसद भएका उनी २०५६ र २०७४ मा पनि सांसद भए । मुलुकले राजनीतिक परिवर्तनको कोर्स पूरा गरेको र अब परिवर्तनलाई सही रूपमा संस्थागत गर्दै समाजवादमा पुग्ने आधार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

श्रेष्ठसँग गरिएको छोटो कुराकानी :

मतदाताकहाँ कत्तिको पुग्नुभएको छ ?

प्रचारप्रसारका लागि आधिकारिक रूपमा समय सुरु भइसकेको छैन । तर, व्यक्तिगत रूपमा भेटघाट र सम्पर्क गर्ने कुरा त हुने नै भयो ।

तपाईं पटक–पटकको जनप्रतिनिधि, मतदाताको आकांक्षा कत्तिको फेरिएको पाउनुभयो ?

धेरै मतदाताको चासो विकास निर्माणमै छ । साथमा विधि विधानका विषयमा पनि मतदाताहरूले चासो दिने र सिंगो मुलुकलाई सिस्टममा हिंडाउन भूमिका खेल भन्ने आग्रहहरू बलियो रूपमा आउन थालेको छ । सामाजिक न्याय, सामाजिक सुरक्षा, लोककल्याणकारी राज्यको अवधारणा अनुसार काम हुनुप¥यो, शैक्षिक प्रणालीमा सुधार, आधारभूत आवश्यकता निःशुल्क गर्नुपर्ने मागहरू पनि छन् । मेरो निर्वाचन क्षेत्रमा सांस्कृतिक सम्पदा संरक्षणको विषय धेरै उठेका छन् । मैले विगतमा गरेका कामहरू पनि जनताले सम्झिएका छन् ।

मतदाता पनि आफ्नो जनप्रतिनिधि मन्त्री नै होस् र बजेट ल्याओस् भन्ने चाहन्छन् हो ?

मतदाताले प्रतिनिधिसभाको निर्वाचनमा कानुन निर्माता र विधायकको भूमिकाका लागि राम्रो पात्र खोज्न थालेका छन् । मैले विगतमा जनपक्षीय ढंगको कानुन निर्माणमा भूमिका खेल्दै आएको छु । फेरि थप दरिलो भएर भूमिका खेल्ने मेरो प्रतिबद्धता छ । निर्माण हुन बाँकी संघीय कानुन निर्माणमा भूमिका खेल्छु, जनपक्षीय ढंगले कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।

पर्यावरणीय सन्तुलनको विषय, राष्ट्रिय एकता र सद्भाव बढाउने, देशलाई असंलग्न परराष्ट्र नीतिमा अडिग गराएर अगाडि बढाउने, शक्ति राष्ट्रहरूसँग समान ढंगले सबैसँग सम्बन्ध राख्ने कुराहरूमा पनि मेरो प्रतिबद्धता छ ।

मतदाताहरू जनप्रतिनिधिसँग चुनावका बेला मात्र भेट हुन्छ भन्छन्, तपाईंलाई के भनेका छन् ?

मेरो सन्दर्भमा यस्तो गुनासो एक प्रतिशत पनि छैन । उहाँहरूले मलाई मर्दापर्दा जुनसुकै ठाउँमा आउने सजिलो मान्छेको रूपमा लिनुभएको छ । म हिजो पनि र आज पनि जनताकै बीचमा छु, भोलि पनि जनताकै बीचमा हुने हो ।

भनेपछि चुनाव जित्न तपाईंलाई गाह्रो छैन ?

मेरो चुनौती चुनाव जितेपछि अहिले बाचा गरेका कुराहरू कसरी पूरा गर्ने भन्ने हो । म आफ्नो ठाउँबाट संघीय कानुन निर्माणको सन्दर्भमा, सबै तहको सरकारका बीचमा समन्वयकर्ताको रूपमा विगतमा झैं नै निरन्तर काम गर्न सक्छु ।

हामीले भनेको कुरा पूरा गर्न आर्थिक रूपमा मुलुक सबल त हुनैप¥यो । मैले पाँच ज अर्थात्, जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिको उच्चतम सदुपयोग गरी दिगो विकासको आधार तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छु यही नै मेरो जम्मेवारी र चुनौती हो । सबै भएर पनि जनशक्ति सक्षम भएन भने विकास हुँदैन यो समस्या समाधान गर्न मेरो महत्वपूर्ण भूमिका हुन्छ यही नै चुनौती हो ।

जनताले पनि विधि, विधान बसाउने, राष्ट्रिय राजनीतिलाई नेतृत्व गर्न सक्ने प्रतिनिधि खोजिरहेका बेला मेरा लागि त यो अनुकूल समय हो । अझ मैले संघीयताको मर्म र भावना अनुसार संघ, प्रदेश र स्थानीय तहका बीचमा सहकारिता, सहअस्तित्वको काम गर्ने र तीनवटै तहबाट जनताको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?