+
+

चुनाव जित्न केहीको चुनौती छैन : श्याम घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते ९:३२

१७ कात्तिक, काठमाडौं । काठमाडौं–७ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्याम घिमिरे आफूलाई चुनाव जित्न कुनै समस्या नरहेको बताउँछन् । दश वर्ष शिक्षण, २२ वर्ष प्रशासनिक काम गरेका घिमिरे आफ्नो अनुभव र जनसम्बन्ध नै चुनाव जित्ने बलियो आधार भएको बताउँछन् ।

अन्तिम समयमा एमालेबाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका उनी घरदैलो अभियानमा छन् । मतदाताले जितको शुभकामना दिएको उल्लेख गर्दै उनी भन्छन्, ‘जो–जो जे–जे भए पनि काठमाडौं–७ मा एमालेले हारेको ठाउँ हैन ।’

घिमिरेसँग गरिएको छोटो कुराकानी :

मतदाताहरू के भनिरहेका छन् ?

तपाईंलाई नै जिताउनुपर्छ भन्नुभएको छ । तपाईं जत्तिको योग्य मान्छे अरू कोही छैनन् भन्नुभएको छ । घरदैलोमा जाँदा चिया पिउनुस् भन्नुहुन्छ, साह्रै माया गर्नुभएको छ ।

अरू उम्मेदवारहरूभन्दा तपाईं कसरी फरक हुनुहुन्छ ?

कसले के गरिरहेका छन्, पहिले पहिलेकाले के गरे भन्ने सब इतिहास प्रष्टै थाहा छ नि हैन र !

सबैलाई थाहा नहुन सक्छ …

योभन्दा अगाडि निर्वाचित भएकाहरूले राम्रो गरेनन् । मन्त्री भएकाहरूले पनि राम्रो काम गर्न सकेनन् । तपाईं नयाँ आउनुभएको छ त्यस कारणले जिताउँछौं भन्नुभएको छ । मतदाताहरूले विगतमा काठमाडौं ७ बाट जितेकाहरू सबै मन्त्री भएका छन्, तपाईंलाई पनि मन्त्री बनाउनका लागि प्रेसर दिन कहाँ जानुपर्छ जान्छौं भनेर शुभकामना दिनुभएको छ ।

तपाईंका योजना के छन् ?

काठमाडौं उपत्यका आफैंमा एउटा संग्रहालय हो । इतिहासकालदेखि गुरुकुल, मठ, मन्दिर बनेका छन् । त्यो संग्रहालय बनाउन हाम्रा पुर्खाहरूले पहल गरे, तर, त्यो मरेको संग्रहालय भयो । हनुमानढोका, स्वयम्भू लगायतको नाम आयो अरू ठाउँको नाम आएन । मेरो कुरा यसलाई जीवित संग्रहालय बनाउनुपर्छ भन्ने छ । कम्तीमा एउटा बच्चाले त्यो ठाउँमा पसेपछि सगुन खुवाउँछन् भने त्यसको अर्थ के ? खलः, कुचःदेखि जात्रा पर्व सबैको एउटा जीवित संग्रहालय बनाउनुपर्छ । के के उद्देश्यले मठ मन्दिरहरू बने भनेर राख्यौं भने कम्तीमा पर्यटक आउँदा पढ्न सक्छन्, अनुसन्धान गर्छ सक्छन् ।

ऐतिहासिक जरो केलाएर संरक्षण गर्ने हो । यो मुद्दा सबैले उठाएका छन् तर, ऐतिहासिक पाटोलाई पनि संरक्षण गर्नुपर्छ भनेको छु ।

दोस्रो मुद्दा के छ ?

शिक्षामा काम गर्नुपर्नेछ । अहिले भएको पाठ्यक्रम नै संशोधन गरेर नैतिक शिक्षा राख्नुपर्नेछ । साथसाथै, प्रविधियुक्त शिक्षामा पनि जोड दिनुपर्ने हुन्छ । पुरानै कुराहरू गर्न थाल्यौं भने हामी सकिन्छौं । यसकारण पुरानो नैतिक शिक्षा राखेर प्रविधिमा जोड दिनुपर्ने हुन्छ ।

तपाईंको अनुभवले नेपालको अपेक्षित विकास हुन नसक्नुको कारण के हो ?

मैले दश वर्ष शिक्षण गरें, २३ वर्ष प्रशासनिक काम गरें । केही समस्या प्रशासनिक क्षेत्रमा पनि छन् । कानुनमा र, वा, तर, पनि हुन्छ । यसलाई संशोधन गर्नुपर्छ समस्या यहाँ छ । सुशासनको पाटोमा धेरै काम गर्नुपर्नेछ । यसका लागि धेरै उपाय छन् । भौतिक विकासका लागि तीन वटा सरकारले समन्वय गरेर काम गर्नुपर्छ ।

तपाईंका मुख्य तीन एजेण्डा— सम्पदा संरक्षण, शिक्षामा सुधार र कानुनका छिद्र हटाउने । यति गरेपछि जनताले परिवर्तनको अनुभूति गर्न सक्छन् ?

कानुनको लुप होलले नै यो देश सकिएको हो । कानुनमा लेखिएका र, वा, तर जस्ता शब्द यताउता गर्दा नै देश अहिलेको अवस्थामा आएको हो भन्ने मलाई लाग्छ ।

ठूला सपना छैनन्, विस्तारै सुधार गर्ने हैन ?

हो ।

चुनाव जित्न चाहिं कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

केही चुनौती छैन ।

एमालेबाटै बागी उम्मेदवार छन् जो विगतमा पटक–पटक जनप्रतिनिधि र मन्त्री भएका छन् नि !

जो–जो जे–जे भए पनि एमालेले हारेको ठाउँ हैन । स्वतन्त्र विचार हो उठ्न पाउनुहुन्छ उठ्नुभयो मलाई समस्या पर्दैन । यसकारण कसैप्रति मेरो केही कमेन्ट पनि छैन, चुनौती महसुस पनि छैन ।

विपक्षमा सत्ता गठबन्धन छ नि ?

त्यो गठबन्धनको दलको कुरा गर्नुहुन्छ ? म यो विषयमा जान चाहन्न ।

स्वतन्त्र र साना दलका पनि उम्मेदवार छन्, तपाईं चुनौती नै देख्नुहुन्न ?

कोही युवा भन्नुहुन्छ, कोही बुढो भन्नुहुन्छ । मेरो जतिमा जान (अनुभव लिन) ५० वर्ष लाग्छ । उहाँहरूको एउटा विषयमा विज्ञता होला, म पनि कीर्तिपुर (त्रिभुवन) विश्वविद्यालयमै पढेको हुँ । नारा जे जे दिन्छन् उहाँहरूले दिनुहुन्छ मेरो भन्नु केही छैन । म डाक्टर होइन, इन्जिनियर हैन त्यो क्षेत्रमा मेरो जानकारी कम होला । अरू व्यावहारिक क्षेत्रमा र समाजका दुःखसुखमा मेरो जति अनुभव लिन मेरै उमेर कुर्नुपर्छ ।

भनेपछि आफ्नो परिपक्वतालाई चुनाव जित्ने आधार मान्नुभएको छ ?

हो । यही कुरा बुझेर मतदाताले जितको शुभकामना दिनुभएको छ । मलाई परिवारले भन्दा ज्यादा माया जनताले गर्नुभएको छ । म ज्यादै खुसी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?