+
+

मुगु र हुम्लामा जेनेरेटरबाट बिजुली

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १३:०८

१७ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था मिलाएको छ । गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युतगृहहरुमा ठूलो क्षति पुगेपछि विद्युत आपूर्ति प्रभावित बनेको थियो ।

पहिरोले क्षति पुगेका विद्युतगृहहरु पुनर्निर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि तत्कालका लागि डिजेल जेनेरेटरमार्फत सो क्षेत्रमा विद्युत आपूर्तिको व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

गत १९–२५ असोजको भारी वर्षासँगै आएको बाढीपहिरोले मुगुस्थित ४०० किलोवाटको गमगाढ र हुम्लास्थित ५०० किलोवाटको हेल्दुङ साना जलविद्युतगृहको नहरमा ठूलो क्षति पुर्‍याएको थियो । नहरमा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएपछि मुगु र हुम्ला जिल्ला विद्युतविहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छैन । क्षति पुगेका विद्युतगृहरुका संरचनाको पुनर्निर्माण भइरहेको छ ।

प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि कालिकोटमा रहेको ३०० केभीए क्षमताको जेनेरेटर मुगुमा लगेको छ । हुम्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि १२५ र १०० केभीएका जेनेरेटरहरुको व्यवस्था गरिएको छ । प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुम्लामा दुई हजार तीन सय ग्राहक छन् ।

जेनेरेटहरु कुलेखानी विद्युत गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले ती जेनेरेटहरु सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो । राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकोप्टरमार्फत ढुवानी गरी सिमिकोट पुर्‍याइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादव सम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको थियो ।

कार्यकारी निर्देशक घिसिङले साना विद्युतगृहको पुनर्निर्माण भइरहेको र यसका लागि अझै कम्तीमा एक महिना लाग्ने देखिएकोले यस अवधिमा त्यस क्षेत्रको विद्युतविहीनताको अवस्थाप्रति संवेदनशील भई तत्कालका लागि हेलिकोप्टरमार्फत जेनेरेटर र डिजेल ढुवानी गरी वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको बताए ।

‘क्षति पुगेका विद्युतगृहहरुको जतिसक्दो छिट्टो पुनर्निर्माण तथा मर्मत गर्नेछौं, तर त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन, तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्याउने गरी काम गरिरहेका छौं’ घिसिङले भने ।

(नोट : यसअघि हेडलाइनमा हुम्ला हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । स‌ं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?