+
+

ललितपुर- ३ : डा. तोसिमा मैदानमै रहँदा सत्ता गठबन्धन र एमाले दबावमा

सागर चन्द सागर चन्द
२०७९ कात्तिक १८ गते १९:४८
माओवादी केन्द्रकी पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की र नेकपा एमालेका अमृत खड्का

१८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले खारेज गरिदिएको उम्मेदवारी सर्वोच्च अदालतले थामिदिएपछि ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको ‘क्रेज’ बढेको छ । बिहीबार साँझ तोसिमालाई शुभकामना दिन भन्दै ढोलाहिटी, सैंबु, भैंसेपाटीदेखिका केही मतदाता जाउलाखेल आएका थिए ।

कार्की मेडिकल काउन्सिलको सदस्य रहेको र त्यो लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । कार्की भने ठूला दलका उम्मेदवार आफूसँग डराएर उम्मेदवारी खारेज गर्न लगाएको दावी गर्छिन् । ‘मलाई परास्त गर्न सबै हत्कण्डा अपनाइयो, साम, दाम, दण्ड, भेद लगाएर मलाई हटाउन खोजियो’ उनले सुनाइन्, ‘तर, म यत्तिकै हार मान्नेवाला छैन ।’

उनी सचेत भने भएकी छन् । कतिसम्म भने १६ कात्तिकको साँझ जाउलाखेलको चुनावी कार्यक्रममा माइक प्रयोग गर्न पनि उनले निर्वाचन अधिकृतलाई फोन गरेर अनुमति मागेकी थिइन् । ‘आचारसंहिता त हामीलाई मात्र लगाउँछन्’, उनले व्यग्यं गर्दै भनिन्, ‘अरुले दिनकै कार्यक्रम गरिरा’छन् ।’

ललितपुर–३ मा ललितपुर महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ वडा पर्छन् ।

शहर र गाउँको मिश्रण भएको ललितपुर–३ मा ७ स्वतन्त्रसहित २० उम्मेदवार पनि मैदानमा छन् । उनीहरुमध्ये नेकपा एमालेका अमृत खड्का र सत्ता गठबन्धनको समर्थन पाएकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल मुख्य प्रतिस्पर्धी थिए । चिकित्सा पेशामा रहेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले पनि चुनावी माहोल बनाउँदै थिइन् ।

यो क्षेत्र माओवादी केन्द्रलाई छाडेकोमा ललितपुर कांग्रेसभित्र असन्तुष्टि छ । प्रतिस्पर्धी एमाले कांग्रेसमा देखिएको असन्तुष्टिको लाभ उठाउने दाउमा छ ।

तर जब निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने र सर्वोच्च अदालतले थमौती दिने अवस्था आयो, डा. तोसिमा एकै पटक धेरै मतदातामाझ परिचित भएकी छन् । कुपण्डोलबाट तोसिमा भेट्न जाउलाखेल पुगेकी शर्मिला शाक्यले भनिन्, ‘आफू काम गर्दैनन्, अनि नयाँ कोही आयो भने डराउँछन् ।’

कांग्रेसको समर्थन जुटाउन सकस

३० वैशाखको स्थानीय निर्वाचनका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन सहज अवस्थामा हुनुपर्ने हो । किनकी कांग्रेस र एमाले हारहारीका शक्ति हुन् भने गठबन्धनमा रहेको माआवादी केन्द्र र एकीकृत समाजवादीको पनि राम्रै मत छ ।

तर यो क्षेत्रको प्रतिनिधिसभा सदस्य लिएको माओवादीले कांग्रेसले भोट पाउन भने सहज छैन ।

२०६४ सालमा ललितपुर ३ बाट संविधानसभामा निर्वाचित भुसालले ०७४ को चुनावमा एमालेको मद्दतमा नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई हराएकी थिइन् । अहिले एमालेसँग प्रतिस्पर्धा गर्न कांग्रेसको समर्थन लिएकी छन् ।

तर यो क्षेत्र माओवादी केन्द्रलाई छाडेकोमा ललितपुर कांग्रेसभित्र असन्तुष्टि छ । अघिल्लो चुनावमा पम्फासँग हारेका अमात्यको ललितपुर ३ मा बलियो प्रभाव छ । उनी यो पटक चुनावी अभियानमा कतै देखिएका छैनन् । चितवन पुगेका अमात्यले अनलाइनखबरसँग भने, ‘ललितपुर ३ का बारेमा म मौन छु । मैले कार्यकर्ता मतदातालाई यस विषयमा केही भनेको छैन ।’

प्रतिस्पर्धी एमाले पनि कांग्रेसमा देखिएको यही असन्तुष्टिको लाभ उठाउने दाउमा छ । एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अमृत खड्का पार्टीको भोट सुरक्षित गर्ने र कांग्रेसका असन्तुष्ट मतदाताको भोट तान्न चाहन्छन् ।

कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठले भने सत्ता गठबन्धनमा मतभेद मिलिसकेको दाबी गर्छन् । ललितपुर ३ ‘ख’ बाट प्रदेशसभा उम्मेदवार रहेका श्रेष्ठ भन्छन्, ‘पहिले केही मतभेद थियो, कार्यकर्तामा असन्तुष्टि थियो । अहिले सबै मिलिसकेको छ ।’

कांग्रेसका ललितपुर सभापति एवम् ललितपुर ३ ‘ख’ बाट प्रदेशसभा उम्मेदवार जितेन्द्र श्रेष्ठ

चुनावी एजेण्डा

अन्य चुनावी क्षेत्रका जस्तै सडक र खानेपानी यो क्षेत्रका पनि स्थायी समस्या हुन् । सबै उम्मेदवारले यो मुद्दा आफ्नो प्राथमिकतामा छ भन्न छुटाएका छैनन् ।

जसले जिते पनि वाचा पूरा गर्छन् भन्नेमा मतदाता विश्वस्त देखिँदैनन् । ललितपुर पुल्चोककी शर्मिला महर्जनलाई उम्मेदवारले भोट माग्दा गरेका वाचा पूरा गर्छन् भन्ने पटक्कै विश्वास छैन । उनी भन्छिन्, ‘भोट माग्नलाई अनेकथरि भन्छन् । तिनका घरमा सबै चिज पुगेकै छ, हाम्रो के चिन्ता गर्थे र ?’

९४ हजार मतदाता रहेको ललितपुर–३ का उम्मेदवारले सामना गर्नुपर्ने अर्को सवाल हो खोकना । निजगढ जोड्ने फास्ट ट्रयाकको सुरुवाती विन्दु बनाउन खोजिएको खोकना ललितपुरको प्राचीन बस्तीमध्ये एक हो । स्थानीय वासिन्दाले फास्ट ट्र्याकको जिरो प्वाइन्ट खोकनामा बनाउन नदिन लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका बाबजुद पनि दल र तिनका नेताले आफ्नो कुरा नसुनेको भन्दै खोकनावासी आक्रोशित छन् । खोकनाका रमेश डंगोल भोट माग्न आउने उम्मेदवारलाई खोकनावासीले फास्ट ट्रयाकका नाममा गरेको संघर्ष सुनाउने बताउँछन् । ‘भोट माग्न आउने सबैलाई हामीले हाम्रो भूमि जोगाउन गरेको संघर्ष सुनाउछु’, उनी भन्छन्, ‘हामीले त्यत्रो संघर्ष गर्दा कहाँ थिए उनीहरु ?’

खोकनामा स्थानीय

यो प्रश्नको सामना नयाँ दल र स्वतन्त्रको तुलनामा परम्परागत दलहरुले गर्नुपर्ने हुन्छ । जाउलाखेलका हिमाल कार्की भन्छन्, ‘नेताहरुसंग धेरै मान्छे वाक्क दिक्क भइसकेका छन् । यसपालि नयाँ पार्टी र उम्मेदवारतिर धेरैका आँखा छन् ।’

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका निरञ्जनविक्रम थापा, नेपाल मजदुर किसान पार्टीका निरज लवजु, हाम्रो नेपाली पार्टीका राजाराम तण्डुकार र स्वतन्त्र उम्मेदवार सशस्त्र प्रहरी बलका पूर्व डीआईजी कृष्णभक्त ब्रह्मचार्य छन् ।

कांग्रेस जिल्ला सभापति श्रेष्ठ पनि डा. तोसिमाको कार्कीको उम्मेदवारीले चुनावी गणितमा प्रभाव पार्न सक्ने स्वीकार गर्छन् । तर कार्कीले सत्तारुढ गठबन्धनको मात्र नभई प्रतिस्पर्धी एमालेका उम्मेदवारको पनि मत काट्ने भएकाले आफूहरुले चुनाव जित्ने उनको दाबी छ । ‘तोसिमाजीले मत काट्नुहुन्छ होला, तर उहाँले हाम्रो मात्र नभई हाम्रा प्रतिस्पर्धी उम्मेदवारको पनि मत काट्नुहुन्छ’ श्रेष्ठ भन्छन् ।

३० वैशाखको स्थानीय तह निर्वाचनमा वडास्तरमा पाएको मतको आधारमा ललितपुर–३ मा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल हुन् । ललितपुर महानगरको वडा नम्बर १ र १३ मा स्वतन्त्र, २ र ३ मा एकीकृत समाजवादी, ४, १०, १४, २०, २८ मा कांग्रेस र ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमाले, २१, २६ र २७ मा माओवादी केन्द्रका उम्मेदवारले चुनाव जिते ।

वडाध्यक्षहरुले पाएको मत हेर्दा कांग्रेसले १९ हजार ७४४, एमालेले १९ हजार ७११ पाएको छ भने माओवादीले ७ हजार ९५८, एकीकृत समाजवादीले ५ हजार १२९, राप्रपाले ४ हजार ४४० र स्वतन्त्रले ३ हजार ५६६ मत मत पाएका छन् ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?