+
+
चितवन-२ :

रविको प्रवेशले रोचक बनेको प्रतिस्पर्धा

अहिलेसम्म ठूला पार्टीका नेता वा कार्यकर्ता लामिछानेका पक्षमा कोही खुलेर लागेको देखिएको छैन । तर ग्रामीणभन्दा सहरी क्षेत्र, त्यसमा पनि महिला मतदाताको आर्कषण उनीप्रति देखिन्छ ।

सुवास पण्डित सुवास पण्डित
२०७९ कात्तिक १८ गते २०:२७

१८ कात्तिक, चितवन । सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले प्रतिनिधिसभा सदस्यको चुनावका लागि चितवन–२ रोजे । ‘मंसिर ४, रास्वपाको सरकार’ नाराका साथ देशभरका १६५ मध्ये १३१ क्षेत्रमा उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउँछ कि बनाउँदैन ? धेरैको रुचीको विषय होइन । किनकी यो दलको संसदमा उपस्थितिबारे नै पर्याप्त प्रश्न रहेका बेला सरकार नारा मात्र हो ।

तर धेरैको चासो छ, रवि लामिछानेले चाहिँ जित्छन् कि जित्दैनन् ?

पार्टीको सांगठनिक संरचना प्रभावकारी नभए पनि करिव एक महिनामा रवि चुनावी अभियान लिएर चितवनका ग्रामीण भेगसम्मै पुगिसके । टेलिभिजनको पर्दामा देखिरहेका रविलाई उम्मेदवारका रुपमा आफ्नो घरदैलोमा पाउँदा मतदाताले रुचीपूर्वक सुन्ने गरेका छन् ।

उनले पनि ठूला दलप्रति मतदातामा रहेको असन्तुष्टिलाई मतमा बदल्न सक्दो प्रयास गर्ने गरेका छन् ।

रास्वपाका नेताहरुका अनुसार रविलाई काठमाडौं–२ मा चुनाव लड्न सुझाव दिइएको थियो । उनी पनि लगभग तयार भइसकेका थिए, तर अन्तिम समयमा चितवन रोजे । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतमा रहेका बेला आफ्नो पक्षमा देखिएको समर्थनका कारण चितवन रोजेको उनले बताउने गरेका छन् ।

चितवनको पनि क्षेत्र नम्बर २ कि ३ भन्ने थियो । रविले २ रोजे । केन्द्रीय सभापति आफैं उम्मेदवार भएकाले यो क्षेत्रको चुनावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाको विषय बनाएको छ । तर उनको पार्टीको देखिने पडक क्षेत्र छैन, त्यसैले पहिलो पटक मतदान गर्नेहरुलाई आफ्नो पक्षमा पार्ने र यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपाजस्ता दलमा मतदान गरेका मतदाताको मत तान्नुपर्ने र राप्रपाको मत तान्ने प्रयासमा छन् ।

अहिलेसम्म ठूला पार्टीका नेता वा कार्यकर्ता लामिछानेका पक्षमा कोही खुलेर लागेको देखिएको छैन । तर ग्रामीणभन्दा सहरी क्षेत्र, त्यसमा पनि महिला मतदाताको आर्कषण उनीप्रति देखिन्छ ।

त्यसैले हिजोआज चितवनमा लामिछानेले कांग्रेस वा एमालेमध्ये कसको मत बढी काट्लान् भन्ने लेखाजोखा हुन थालेको छ । यहाँ एमाले र कांग्रेसको आ–आफ्नै उम्मेदवार छन् । त्यसैले भोट ट्रान्सफरको ठूलो सम्भावना छैन । तर दुबै दलले आफ्नो जनमतलाई कति जोगाउन सक्छन् भन्नेले यो क्षेत्रमा नजिता कसको पोल्टामा पर्छ भन्ने निर्धारण गर्छ ।

तर अहिलेसम्म उनले तान्ने मत जितका लागि निर्णायक हुन्छ वा हुन्न यसै भन्न सकिने अवस्था छैन । कांग्रेसभित्र किचलो बढ्दै जाने र एमालेले पनि आफ्नो जनमतको संरक्षण गर्न नसक्ने हो भने लामिछानेले पहिलो प्रयासमै जित निकाल्न सक्छन् । तर ठूला दलको भोट तानेकै भरमा उनको जित निश्चित हुने अवस्था अहिलेसम्म देखिएको छैन ।

कृष्णभक्तलाई बलियो संगठनको आड

एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले दोस्रो संविधानसभा निर्वाचन–२०७० का साथै आम चुनाव–२०७४ मा यही क्षेत्रबाट जितेका थिए । २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए । यो पटक अवस्था फेरिएको छ ।

अघिल्लो पटक उनको साथमा रहेको माओवादीसँगै एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी कांग्रेससँग गठबन्धनमा छ । त्यसका बाबजुद उनको शक्ति भनेको एमालेको संगठन नै हो । ३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मतको आधारमा पनि यो क्षेत्रमा एमाले बलियो छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत जोड्दा बल्ल एमाले हाराहारी हुन्छ ।

उनको उम्मेदवारीलाई लिएर एमालेभित्र खास समस्या देखिँदैन भने कानुनी पृष्ठभूमिका पोखरेल ‘न्यूट्रल मतलाई तान्न सक्ने खुबी भएका ‘चुनावी मान्छे’ का रुपमा चिनिन्छन् ।

पहिलो कार्यकालमा संविधान निर्माण र दोस्रो कार्यकालमा संविधान अनुसारका कानुनहरु निर्माण गर्न भूमिका खेलेको र निर्वाचन क्षेत्रमा पनि रणनीतिक परियोजना ल्याएको भन्दै उनले भने, ‘मैले बनाइदिएको सडकमा गुडेर मेरो प्रतिस्पर्धीहरू भोट माग्न डाँडाकाँडा पुगेका छन्, त्यसमा मेरो योगदान छ, जनताले यो बुझेका छन् ।’

अन्तरिक कहरमा उमेश

रविसँगै कृष्णभक्तले आक्रामक रुपमा प्रचारमा जुटिरहँदा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ भने आन्तरिक कलहसँग जुधिरहेका छन् । दुईपटक समानुपातिक सांसद भएका श्रेष्ठ यसपटक जसरी पनि प्रत्यक्ष चुनाव लड्न चाहन्थे ।

उनले चितवन १ र २ दुबै क्षेत्रमा दाबी गरेका थिए । क्षेत्र नम्बर १ मा कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा निकट विश्व पौडेलले टिकट पाएपछि श्रेष्ठ २ मा गए ।

यो क्षेत्रमा चितवन, सभापति राजेश्वर खनाल र निवर्तमान सभापति जितनारायण श्रेष्ठ दुबै टिकटका आकांक्षी थिए । उमेशले टिकट पाएकामा उनीहरु सन्तुष्ट थिएनन्, यद्यपि अहिले दुबै श्रेष्ठको चुनावी अभियानमा खटिएका छन् । तर पूर्व जिल्ला सभापति विकास कोइराला पार्टीमा सक्रिय हुन थालेपछि चितवन कांग्रेसमा नयाँ विवाद देखिएको छ ।

२०७० सालको संविधानसभा चुनावमा तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका उनको माग छ, पार्टीले जिम्मेवारी दिनुपर्छ । श्रेष्ठका एक सहयोगीका अनुसार कांग्रेसको विवाद मिलाउँदा मिलाउँदै चुनाव जाने त होइन भन्ने चिन्ता थपिएको छ ।

श्रेष्ठले सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रसहितका दलको मत भने पाउने देखिन्छ । आत्महत्या दुरुत्साहनको मुद्दामा रवि चितवन प्रहरीको हिरासतमा रहेकै बेलादेखि माओवादीसँग उनको सम्बन्ध बिग्रिएको थियो । त्यसैले माओवादीका मतदाताको भोट रविले नपाउने एक माओवादी नेता बताउँछन् ।

होला के परिणाम ?

चितवन क्षेत्र नं. २ मा १ लाख २४ हजार २१४ जना मतदाता छन् । २०७४ को चुनावमा भएका १ लाख ८ हजार २१९ मतदातामा यसपटक ५ हजार ९ सय ९५ मतदाता थपिएका छन् ।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा सत्ता गठबन्धनबाट वडाध्यक्षका उम्मेदवारहरुले ३५ हजार ३९४ मत ल्याएका थिए । एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ५ सय ४३ मत ल्याएका थिए । यस अर्थमा एमाले गठवन्धन भन्दा बलियो देखिन्छ ।

स्थानीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति थिएन । त्यसैले यो चुनावमा उसले पाउने मतले यहाँको अंक गणितमा धेरै फेरवदल ल्याउनसक्छ ।

इच्छाकामना गाउँपालिकाका ७ मध्ये ५ वटा वडा एमालेले र बाँकी १/१ वटा वडा कांग्रेस र माओवादीले जितेका थिए । चितवनको पहाडी क्षेत्रमा पर्ने यो भूगोलमा रविको प्रभाव कमै देखिएको छ भने एमाले उम्मेदवार पोखरेलको प्रभाव अहिले पनि राम्रो छ । त्यसैले इच्छाकामनाबाट पोखरेलले अग्रता लिने अवस्था कायमै रहेको एमाले नेताहरु बताउँछन् ।

शहर उन्मुख कालिका नगरपालिका भने कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धा त्रिपक्षीय हुनसक्ने देखिन्छ । यहाँको नगरप्रमुख गत स्थानीय चुनावमा एमालेले जितेको थियो । वडागत हिसाबले स्वतन्त्र पार्टीका लामिछानेले यति नै मत खान्छन् भन्नसक्ने अवस्था नभएपनि यो पालिकामा उनी प्रतिस्पर्धी हुन सक्छन् ।

भरतपुर महानगरपालिकाका १० वटा वडा यो क्षेत्रमा पर्दछन् । वडा नं. ३, ११ र १२ मा स्थानीय तहको निर्वाचनमा एमालेले जितेको थियो भने वडा नं. १, २, ४, ५, १० र २९ नम्बर वडा कांग्रेसले र वडा नं. ७ एकीकृत समाजवादीले जितेको थियो । यसमा पनि सबभन्दा निर्णायक भनेको भरतपुर महानगरपालिका वडा नं. १०, ११ र १२ नम्बर वडा हुन् ।

वडा नं. १० एमाले उम्मेदवार पोखरेलको घर भएको वडा हो भने वडा नम्बर ११ मा सबभन्दा बढी १४ हजार ४ मतदाता छन् । त्यसैले यही वडाहरु निर्णायक मानिन्छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?