+
+

कर्ण मल्ल : विद्रोहलाई जितमा बदल्ने चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १३:४२

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा डडेलधुराको क्रियाशील सदस्यता नवीकरण र वितरणमा शेरबहादुर देउवासँग सुरु भएको विवादको उत्कर्ष कर्णबहादुर मल्लले पार्टीबाट कारबाही भोग्नुप¥यो । आफ्ना राजनीतिक गुरु देउवाविरुद्ध अहिले मल्ल चुनावी प्रतिस्पर्धामा नै उत्रिएका छन् ।

गत स्थानीय निर्वाचनमा पनि मल्लले नेकपा ९एमाले०सँग सहकार्य गर्दै देउवाविरुद्ध उभिए । त्यो गठबन्धनले धेरै नतिजा ननिकाले पनि देउवाकै वडामा बीपी कांग्रेसबाट वडाअध्यक्ष विजयी भए ।

स्थानीय चुनावपछि कांग्रेसको कारबाहीमा परेका मल्ल बीपी कांग्रेसका वरिष्ठ उपाध्यक्षमा मनोनीत भए । २०४८ पछि एकलौटी विजय निकाल्दै आएका देउवाविरुद्ध यसअघि उनकै चुनावी कमाण्डर रहेका मल्ल उभिएका छन् ।

अनौठो त के छ भने २०६४ पछि देउवासँग लगातार पराजित हुँदै आएका नेकपा ९माओवादी केन्द्र०का नेता खगराज भट्ट भने यसपटक देउवाका लागि भोट मागिरहेका छन् ।

जिल्लामा पहिलो र दोस्रो ठूलो दलविरुद्ध तेस्रो दलको सहयोग लिएर मैदानमा उत्रिएका मल्ललाई कांग्रेसमा आफैंले बनाएको संगठन र शेरबहादुर देउवालाई मत दिंदादिंदा वाक्क भएको जनमतको आश छ ।

एमाले र माओवादी मिलेको २०७४ को संसदीय निर्वाचनमा पनि देउवाले ६ हजार ९४८ मतान्तरले खगराज भट्टलाई पराजित गरेका थिए ।

पुरानो सम्बन्ध चाहिं कस्तो भने, २०४८ मा देउवा पहिलो पटक गृहमन्त्री बन्दा कर्णबहादुर मल्लले उनको सचिवालयमा नियुक्ति पाए । देउवा दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि मल्ल उनको सचिवालयमा रहे ।

पार्टीको १२औं र १३औं महाधिवेशनबाट गरी दुईपटक देउवाकै इच्छामा मल्ल डडेल्धुरा जिल्ला सभापति चयन भए । २०७४ को प्रदेश सभा निर्वाचनमा पनि क्षेत्र ‘ख’ बाट निर्वाचित भए ।

झण्डै साढे तीन दशक लामो त्यो सहकार्य अहिले भने चुनावी लडाइँमा बदलिएको छ ।

चुनावी अंकगणित

गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरूले दलगत रूपमा प्राप्त मत परिणाम हेर्दा डडेलधुरामा नेपाली कांग्रेस अगाडि छ ।

कांग्रेसले २१ हजार ७३५, माओवादी केन्द्रले १२ हजार ८७८, एमाले १० हजार ४४९, नेकपा ९एकीकृत समाजवादी०ले ५ हजार ४१, बीपी कांग्रेसले ३ हजार ६०४ र स्वतन्त्रले १ हजार ६६७ मत प्राप्त गरेका थिए ।

यो आँकडाअनुसार अहिले देउवा गठबन्धनको ३९ हजार ६५४ मतसहित चुनावी मैदानमा छन् । मल्ल एमालेको १४ हजार ५३ मतसहित देउवाविरुद्ध भिड्दैछन् ।

यसपटक सागर ढकाल पनि घोषित रूपमै देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार छन् । देउवाविरोधी मत विभाजित हुँदा मल्ललाई प्रतिकूलता थपिने यसले देखाउँछ । फेरि, यसअघिको चुनावी अंकगणितमा उल्लेख्य बदलाव नल्याएसम्म डडेलधुरामा देउवाविरुद्धको बगावत सफल हुन मुश्किल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?