+
+

विप्लवलाई गृहमन्त्रीको चेतावनी : चुनाव बिथोल्न खोजे कडा कदम चाल्छौं (भिडियो अन्तर्वार्ता )

‘यो चुनाव गतिविधिलाई सुरक्षा निकायले नजिकैबाट हेरिरहेको छ । कहीँनेर कडा बन्नुपर्यो भने आवश्यकता अनुसार कडा पनि बन्नेछौं । किनभने चुनावलाई भयरहित ढंगले सम्पन्न गर्ने हाम्रो चाहना र दायित्व हो ।’

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ कात्तिक १९ गते २०:०५

१९ कात्तिक, भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले विप्लव नेतृत्वको नेकपालाई चुनाव बिथोल्ने गतिविधि नगर्न चेतावनी दिएका छन् । विप्लव समूहले आसन्न मंसिर ४ को संघ प्रदेश चुनाव बिथोल्ने घोषणा गरेसँगै गृहमन्त्रीको यो चेतावनी आएको हो ।

रुपन्देही– ३ बाट सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस नेता खाँणसँग उनकै क्षेत्रको सिद्धार्थनगरमा अनलाइनखबरले यो अन्तर्वार्ता गरेको हो । गृहमन्त्री बनेयता खाँणले कमैमात्र अन्तर्वार्ता दिने गरेको सन्दर्भमा हामीले निवर्तमान संसदले पास गरे पनि शीतल निवासमा अड्केको नागरिकता विधेयक, रुपन्देही ३ सँग जोडिएका स्थानीयका समस्यालगायत विषयमा यो कार्यक्रम तयार पारेका हौं ।

यस अन्तर्वार्ता क्रममा खाँणले विप्लव पक्षका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँग प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ता गरेको, विभिन्न तवरमा अरु कुराकानी चलिरहेको खुलाए ।

खाँणले विप्लव समूहको सम्भावित सुरक्षा चुनौतीबारे सोधिएको प्रश्नमा जवाफ दिए :

‘हामी उहाँहरु (विप्लव समूह) सँग वार्ता र संवादमै छौं । अस्ति भर्खरै सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रकाण्डले भेट्नुभएको छ । उहाँहरु अहिले पनि सरकारसँग संवादमै हुनुहुन्छ । कतिपय मागहरु हुन सक्छन्, तर यसलाई जोडेर उहाँहरुले बाहिर जे घोषणा गर्नुभयो, त्यो ढंगले अघि नबढ्नुहोला । आफ्नो कुरा राख्ने अधिकार भए पनि चुनाव बिथोल्ने किसिमका गतिविधि गर्नुहुँदैन ।

चुनावलाई सुरक्षित ढंगले सफल पार्ने काममा सरकार संयमित रुपमै अघि बढ्छ । बिथोल्ने ढंगले क्रियाकलाप र आफ्नो शक्ति प्रदर्शन गर्ने काम भएमा सरकारले सुरक्षाका खातिर कडा कदम चाल्छ । त्यसैले चुनावलाई कुनै पनि तरिकाले प्रभावित पार्ने काम उहाँहरुले गर्नु हुँदैन । यो चुनाव गतिविधिलाई सुरक्षा निकायले नजिकैबाट हेरिरहेको छ । कहीँनेर कडा बन्नुपर्यो भने आवश्यकता अनुसार कडा पनि बन्नेछौं । किनभने चुनावलाई भयरहित ढंगले सम्पन्न गर्ने हाम्रो चाहना र दायित्व हो ।’

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?