+
+

डडेल्धुराबाट देउवाको प्रश्न : ओलीजी दार्चुला जाँदैमा लिम्पियाधुरा फिर्ता आउँछ ?

रासस रासस
२०७९ कात्तिक १९ गते १७:१५

१९ कात्तिक, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ भनी प्रश्न गरेका छन् ।

शनिबार डडेल्धुरामा आयोजित कार्यक्रममा उनले प्रश्न गरे, ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?, प्रधानमन्त्री देउवाले कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने र त्यसका लागि भारतसँग कुरा गर्ने बताए ।

शुक्रबार सुदूरपश्चिमको दार्चुलाबाट चुनावी अभियान सुरुवात गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले लिम्पियाधुरासहितको नेपालको नक्सा वारी गरेको बताउँदै भूमि फिर्ता पनि आफूहरुले मात्र गराउन सक्ने जिकिर गरेका थिए ।

प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने पनि बताए । निर्वाचनपछि पनि अहिलेको सत्तारुढ गठबन्धनकै सरकार बनाउने भन्दै उनले धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री देउवाले विगतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । उनले भने, ‘अति नै भएपछि हामी अदालत गएका हौँ ।’

देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने घोषणा गरेका छन् । ‘गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ’, देउवाले भने, ‘विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ ।’ डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ ।’ सम्बोधनका क्रममा उनले शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार निर्माणमा जोड दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?