+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मतदातासित परिचय गर्दै अग्नि

बिनु सुवेदी बिनु सुवेदी
२०७९ कात्तिक २० गते ११:३४

२० कात्तिक, बुद्धशान्ति (झापा) । विकासका दृष्टिले अरु चार क्षेत्रका तुलनामा झापा क्षेत्र नम्बर १ लाई पछाडि देख्दा रहेछन् यहाँका बासिन्दा । अझै पछाडि परेको क्षेत्र रहेछ, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार बनाएका अग्नि खरेल बुद्धशान्तिको वडा नम्बर ६ शान्तिनगर, गौंडा र चुल्ठे पुग्दा अनलाइनखबर पनि नागरिकका मत सुन्न त्यही क्षेत्रमा थियो ।

यो क्षेत्रका लागि खरेल नयाँ उम्मेदवार हुन् । त्यसैले उनीसँग ०७४ मा यही क्षेत्रबाट प्रदेशसभा सांसद जितेका र हाल मेचीनगर नगरपालिकाका प्रमुख रहेका गोपाल बुढाथोकी र निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाईं पनि सँगै थिए । जनताको कुरा सुन्ने काम धेरै खरेलले गरे पनि भोट माग्ने काम चाँहि बुढाथोकी र पोखरेलले नै गरेका थिए । उसो त चुनावमा बुढाथोकी र प्रसाईं जति अनुभवी र भुक्तभोगी छन्, त्यति खरेल छैनन् । किनभने प्रत्यक्ष चुनावी प्रतिष्पर्धामा खरेल पहिलोपटक भिडिरेहका छन् ।

शान्तिनगरमा स्थानीय मतदाताको कुरा सुनेपछि खरेल र प्रदेश सभा सदस्यकी उम्मेदवार सविना बुर्लाकोटी गौंडाका लागि उकालो लाग्यो । बाटैमा स्थानीय नागरिकले बाँध नहुँदा समस्यामा परेको भनिएको टिमाइ नदी र त्यसको कटान हेर्न जाने कुरा भयो । मेचीनगर नगरपालिकाका प्रमुख बुढाथोकी यही क्षेत्रका भएकाले उनी समस्यासँग अपरिचित हुने सवालै थिएन । त्यसैले टिमाइको कटान र बाँध बाँध्न भएको ढिलाइबारे उनले नै उम्मेदवार खरेललाई सुनाए । खरेल भने कुरा बुझेको भावमा टाउको हल्लाइरहन्थे ।

शान्तिनगरको सभा सकेपछि सबभन्दा पहिले उनलाई टिमाइ नदीको कटान देखाउन लगियो । ‘यहाँबाट बाढी पसेर धुलाबारी सबै लगेको हो, खोला माथि थियो र तटबन्ध गरिएको हो, अहिले खोला कहाँ पुग्यो ?’ बुढाथोकीले भने, ‘यसको स्थायी समाधान चेक ड्याम हो । चुरे क्षेत्र भएकाले ढुंगा उठाउन पाइँदैन, राष्ट्रले कानुन बनाएको छ ।’ खरेलले आफूले चुनाव जितेपछि समस्याको हल निस्किन्छ भन्ने भावमा टाउको हल्लाए ।

खरेलको हिँडाइ उनका प्रतिष्पर्धी उम्मेदवार विश्वप्रकाश शर्माको जस्तो तुफानी थिएन । ठाउँ–ठाउँमा गाडिबाट ओर्लिने, जनताको कुरा पर्याप्त सुन्ने र आश्वासन दिने गर्थे । खरेलसँग एउटा घर बनाउने जग्गा चाहियो भन्नेदेखि पर्यटन पूर्वाधार र बाटोघाटो र रोजगारसम्मका कुरा गर्थे स्थानीय बासिन्दा ।

गौंडा जाँदै गर्दा बाटैमा पर्ने एमाले टोलीले बुद्धशान्ति ५ गढीमाईमा ८ वर्षदेखि बनाउन सुरु भएर बजेट अभावका कारण अलपत्र परेको गुम्बा देखाउन र स्थानीय नागरिकसँग भलाकुसारी गराउन खरेललाई गाडीबाट ओराल्यो । प्रदेशसभा उम्मेदवार सबिना बुर्लाकोटी पनि सँगसँगै ओर्लिइन् ।

स्थानीय यामबहादुर गुरुङका अनुसार ८ वर्षअघि बनाउन सुरु गरिएको भए पनि बजेट अभावका कारण श्री शान्तेक छेलिङ बौद्ध गुम्बा अलपत्र परेको छ । स्थानीय बासिन्दाले त्यो गुम्बा पूरा गर्न प्रतिबद्धता जनाउने उम्मेदवारलाई भोट हाल्ने प्रतिक्रिया दिए । खरेलसँगै मत माग्न गएकाहरुले हुँदैन, हामीले गर्दैनौं भन्नुपर्ने केही थिएन, उनीहरुले आश्वासन दिइहाले ।

स्थानीय जनतासँग कुरा गर्दै गौंडा पुगेका खरेललाई बीचबीचमा स्थानीय कार्यकर्ताले त्यहाँको कृषि र पर्यटनमा देखिएको संभावना र गाउँले प्राप्त गर्नसक्ने अवसरका बारेमा बुझाउँथे । शान्तिनगरबाट गौंडासम्म पुग्दा पिच भएको बाटो देखिएन । स्थानीयको माग पनि बाटो पिच हुनुपर्ने रहेछ ।

पहाडको फेदीमा रहेको गौंडाका स्थानीय बासिन्दा सांसदका लागि आफ्ना क्षेत्रका उम्मेदवार कस्ता हुन्छन् भनेर हेर्न पनि आएका थिए । मतदातालाई उहाँलाई चिन्नुहुन्छ भनेर सोध्दा स्थानीय बासिन्दाको भनाइ थियो– टिभीमा देखेका थियौं । खरेल तुरुन्तै जवाफ दिइहाल्थे, अब म प्रत्यक्ष नै आइपुगें । कतिपय नागरिक चाहिँ नेताका कुरा सुन्दा र उनीहरुको धारणा बुझ्दा भोट हाल्न सजिलो हुने भन्दै जुन पार्टीका जो नेता भए पनि कुरा सुन्न पुग्थे ।

कार्यक्रमस्थलको अलि पर टुसुक्क बसेका दुईमध्ये एक जनालाई सोध्यौं, ‘तपाईंलाई कस्तो सांसद चाहिएको हो ?’ दुईमध्ये एक दधिमाया विकले भनिन्, ‘घरमा पानी चाहियो, बिजुली चाहियो, त्यसभन्दा पहिले घर नै चाहियो, हामी सुकुम्वासी हौं ।’

सुकुम्वासीलाई घर दिन्छौं भने अग्नि खरेललले भनेनन् । बरु त्यहाँको सभामा उनको भाषण थियो– दलीय प्रणाली र संविधान जोगाएपछि सब कुरा बदलिन्छ ।

उनै खरेललाई प्रतिष्पर्धी विश्वप्रकाश शर्माको सबभन्दा ठूलो आक्षेप चाहिँ संविधान भत्काउन उद्दत हुने भएको र प्रतिनिधिसभा विघटन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णयमा साथ दिएको भन्ने छ ।

हुन पनि चुनावी प्रचारका क्रममा उम्मेदवार खरेलले झापाका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर १ सबभन्दा परेको भन्दै यस क्षेत्रका विकासका लागि आफूले उल्लेख्य काम गर्ने बताएका थिए । बल्ल–बल्ल गाडि पुग्ने र खेतिपातीमै आश्रित त्यस क्षेत्रका बासिन्दाले उम्मेदवारलाई पर्खिएरै भए पनि आफ्ना माग राखिरहेका थिए ।

चुनाव प्रचारप्रसारको गीत संगित सुनिसकेपछि धान काट्न छोडेर नेताहरु पर्खिबसेका स्थानीय चुल्ठेका नागरिकले गाउँमा जतिसक्दो छिटो बाटो पुर्याइदिन माग गरे । आफूहरुले जितेपछि बाटोघाटो, स्कुलमा लगानी गर्ने खरेलको प्रतिबद्धता पुरानै थियो ।

लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?