+
+
विचार :

निर्वाचनमार्फत नयाँ आन्दोलन

भवानी बराल भवानी बराल
२०७९ कात्तिक २० गते १४:२७

आन्दोलनको विषय प्रवेश गराउने पहिलो माध्यम निर्वाचन हो । आन्दोलनको आयतन र जनताको चेतन यहींबाट मापन हुन्छ । पञ्चायत विरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाई उपयोग गरेबाट यसको सार्थक अभ्यास भएको थियो । पञ्चायतको भण्डाफोर गरेको केही वर्षमै पञ्चायतको पतन भयो । यसरी नै संसदीय व्यवस्था भण्डाफोर गरेको एक कार्यकालपछि नै नेपालमा जनविद्रोहको थालनी भयो ।

निर्वाचनका समयमा वैचारिक मुद्दाहरू सतहमा ल्याउनुपर्छ । निर्वाचन मुद्दामय बन्न सकेन भने निर्वाचनका अन्य प्राविधिक कुराले घर गर्छ । यस्तो मुद्दाहीन निर्वाचनले देश र जनतालाई फाइदा गर्दैन । यस्तै काममा यतिखेर लेखक, पत्रकार र सामाजिक अभियानकर्ता युग पाठक झापा क्षेत्र नं ५ को निर्वाचनमा हेलिएका छन् ।

निर्वाचन परिणामको गणित कोट्याएर मात्र आजको वैश्विक समस्या हल हुँदैन । तथाकथित नश्लीय राष्ट्रवाद अहिलेको समाजको आवश्यकता हैन । परिवर्तनका लागि आफ्नो विवेक प्रयोग गर्नुपर्छ । आजको युग नयाँ विचारको खोजी हो ।

उजेलुसनको मर्म

फ्रान्सिस फुकुयामाले इतिहासको अन्त्य लेखे पनि इतिहासको अन्त्य भएन । केहीले भाषाको अन्त्य वा विचारको अन्त्य भनेर लेखे, त्यो पनि भएन । अन्त्य न इतिहासको भएको छ, न भाषा वा विचारको नै ।

नयाँ दर्शन र विचारको अभाव भने यो शताब्दीमा खट्किएको विषय हो । विचारमा खिया लागेका शब्दावलीहरूको रटान मात्र सुनिंदै आएको धेरै भयो । परम्परागत दर्शन र विचारहरू युगीन नेतृत्व गर्न अक्षम भएको पनि वर्षौं बित्यो ।

वैज्ञानिक मानिएका विचारहरू पनि नयाँ समय अनुकूल परिमार्जन हुन नसक्दा तिनको उपयोगितामा प्रश्नहरू उठ्न थालेका छन् । उदारवाद मात्र हैन, माक्र्सवाद वा मालेमावादमा पनि प्रश्नहरू उठेका छन् । मार्क्सवाद, लेनिनवाद हुँदै माओवादमा आएर मालेमावाद टक्क अडिएको छ । र, आजको विश्व समाजको नेतृत्व गर्ने सन्दर्भमा यो वैचारिक धारमा पनि बगे्रल्ती प्रश्न उठेका छन् ।

प्रश्नहरू भने उत्तरित छैनन् । यहींनेर आएर नयाँ दर्शन र विचारको आवश्यकता भएको हो भन्ने बहसले विमर्श खोजेको छ । त्यो विमर्श युग पाठकले ‘उजेलुसन मूभमेन्ट’ अर्थात् उत्स्रवण आन्दोलनको नाममा सार्वजनिक गरेका छन् ।

केही वर्ष अगाडिदेखि विश्व अर्थ-राजनीतिमा ‘पाराडाइम सिफ्ट’ शब्दको खूबै प्रयोग हुँदै आएको छ । यो शब्दलाई नेपाली भाषामा लगभग ‘प्रतिमान परिवर्तन’ अर्थ लगाउँदा हुन्छ । प्रतियोगितात्मक काम–कारबाहीहरूमा नमूनाको रूपमा कायम गरिएको माथिल्लो स्तरको दृष्टान्त नै प्रतिमान परिवर्तन हो ।

प्रख्यात लेखक थमस कुहनले आफ्नो पुस्तक ‘स्ट्रक्चर अफ साइन्टिफिक रिभोलुसन’मा पाराडाइमको व्यापक चर्चा गरेका छन् । कुहनले पाराडाइमलाई विज्ञानको विकासक्रममा उत्पन्न हुने विशिष्ट व्यूहको रूपमा व्याख्या गरेका छन् ।

पाठकले अगाडि सारेको उत्स्रवण आन्दोलन पनि पाराडाइम सिफ्टको मान्यतामा आधारित देखिन्छ । उत्स्रवण शब्द उत्थान शब्दसँग धेरै अर्थमा समानता राख्छ । उत्थान अंग्रेजी भाषाको ‘अपवेलिङ’ शब्द समान हो । उत्थान कुनै निम्न स्थानबाट उच्चस्तरमा पुग्ने अवस्था वा भाव, समृद्ध स्थिति, उन्नति, अभिवृद्धि हो । कुनै नूतन कामको प्रारम्भ वा थालनी, उठान, उठ्ने वा उभिने कामलाई उत्थान भनिन्छ ।

उत्स्रवण आन्दोलन नै आजको उत्थान आन्दोलन हो । विचारलाई उठाउने आन्दोलन हो । विचारलाई पतन गराउने कतै होइन । अंग्रेजी शब्द ‘अपवेलिङ’ले आमूल परिवर्तन वा सफाइको अर्थ राख्छ, सँगसँगै उत्थानको पनि ।

यसर्थमा उत्स्रवण आन्दोलन नै आजको उत्थान आन्दोलन हो । विचारलाई उठाउने आन्दोलन हो । विचारलाई पतन गराउने कतै होइन । अंग्रेजी शब्द ‘अपवेलिङ’ले आमूल परिवर्तन वा सफाइको अर्थ राख्छ, सँगसँगै उत्थानको पनि ।

यसरी उत्स्रवण आन्दोलनको सरल नाम उत्थान आन्दोलन हुनुपर्छ । प्रतिमान परिवर्तन गर्ने नयाँ आन्दोलन जसले आजसम्म भए गरेका प्रतिमानको परिवर्तन गर्छ । विश्व राजनीतिलाई नयाँ स्थानबाट दिशाबोध गराउँछ ।

प्रसिद्ध लेखक जेरेमी रिपिकनका पुस्तकहरू ‘कामको अन्त्य’, ‘तेस्रो औद्योगिक क्रान्ति’, पछि लेखिएको ‘शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज’मा आजको पूँजीवादको अन्त्य सन्निकट भएको तर्क गरेका छन् । तर, यो पूँजीवादको अन्त्यपछि आउने दार्शनिक धारको बहस गर्न नकार गर्नुपर्ने अर्थ छैन । युरो औपनिवेशिक धारको अन्त्यको तर्क अमेरिकी लेखकले गर्नु र उत्स्रवण आन्दोलनले यो व्यूहबाटै उम्कने प्रस्ताव गर्नु सान्दर्भिक देखिन्छ ।

उजेलुसनको प्रस्तावना

उत्स्रवण आन्दोलनका केही प्रस्तावना छन् । युरो औपनिवेशिक दार्शनिक तथा वैचारिक व्यूह रचनाकै वरिपरि आजसम्म विश्व घुम्यो । तर ५०० वर्ष अगाडि रचना गरिएको यो वैचारिक व्यूह रचनाले के दियो ? राजनैतिक तनाव, घोर दक्षिणपन्थको उदय, निरन्तर युद्ध, वातावरणीय संकट आदि अवश्य दियो, तर कुनै पनि प्रकारको राजनैतिक समाधान दिन सकेन । केवल गोलचक्करमा फसाइरह्यो ।

प्रत्यक्ष उपनिवेश कायम गर्ने विषय त इतिहासमा देखिएकै हो । यसबीच औद्योगिक क्रान्तिलाई छोड्ने हो भने पहिलो, दोस्रो विश्वयुद्ध र शीतयुद्धलगायत अनेकन् घरेलु युद्धमा विश्वलाई हेलिरह्यो । अहिले पनि यो व्यूह रचनाले युद्धबाट मात्र राजनैतिक समाधान खोजिरहेको छ । जुन कुरा विचारधारात्मक हुँदै होइन । यहींबाट अगाडि जाने प्रस्थानबिन्दु खोज्ने यसको पहिलो प्रस्तावना हो ।

युरो औपनिवेशिक व्यूह रचनाले समाज, देश, बजार, व्यक्तित्व र मस्तिष्कमा औपनिवेशिक विचार थोपर्‍यो । दुई विश्व दृष्टिकोण उदारवाद हुन् वा माक्र्सवाद, युरोपकै वैचारिक धार हुन् । यी दुई धाराले विश्वलाई यहाँसम्म ल्यायो । तर, उदारवाद र माक्र्सवादी वैचारिक धारबाट अबको राजनैतिक संकट समाधान हुँदैन । नयाँ विचारको निर्माण जरूरी भएको छ । माक्र्सवाद र उदारवाद युरो औपनिवेशिक धाराबाट अगाडि बढ्न नसकेको ठहर यो प्रस्तावनाको अर्को महत्वपूर्ण अवधारणा हो ।

दुई विश्व दृष्टिकोणहरू माक्र्सवाद वा उदारवाद स्वयम् नै औपनिवेशिक कालखण्डको वैचारिक उत्पादन हुन् । आन्दोलनका प्रस्तावक युग पाठकका अनुसार आजको पूँजीवाद पनि उपनिवेशकालमा निर्माण भएको हो । यसर्थ यसको डीएनएमै मान्छे, समाज र प्रकृतिलाई उपनिवेशिक मान्यता थोपर्ने हो । उनकै अनुसार यो पूँजीवाद शुद्ध पूँजीवाद मात्र हैन, भाइसराय पूँजीवाद हो ।

यस्तो चिन्तनको अन्त्य गर्न आ–आफ्नो प्रांगारिक (अर्ग्यानिक) आत्मनिर्भरता सहितको राष्ट्रिय पूँजी निर्माण गर्ने हो । परनिर्भर अर्थतन्त्रको अन्त्य गर्ने हो । अर्थात् औपनिवेशिक भाइसराय पूँजीवादको ठाउँमा नयाँ अर्थतन्त्रको विकास गर्ने । यसरी तेस्रो प्रस्तावना उपनिवेशकारी चिन्तन परम्पराबाट मुक्त हुने ।

रहलपहल

उत्स्रवण आन्दोलनको निष्कर्ष मानव संसार दर्शनको संकटमा परेको छ भन्ने हो । विश्व राजनीतिक रंगमञ्चका दुई विश्व दृष्टिकोण दार्शनिक प्रणालीहरू समस्या समाधान गर्न अक्षम भए । विश्व राजनीति दार्शनिक संकटमा गुजुल्टिएको छ ।

पाठकको घोषणापत्र अनुसार ‘५०० वर्ष अगाडि रचना भएको यो राजनैतिक व्यूहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविष्कार त गर्‍यो तर साथसाथै मानव समाजलाई अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्यूहमा फँसाइ पनि दियो । अनि प्रकृतिको सन्तुलन नै खल्बल्याइदियो ।’

तसर्थ युरो-उपनिवेशी चक्रव्यूहबाट बाहिर निस्कने वैचारिक आन्दोलनका रूपमा उत्स्रवण आन्दोलनलाई बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?