+
+

बाँस्कोटा र हुमागाईंको टक्कर

कपिल कोइराला कपिल कोइराला
२०७९ कात्तिक २० गते १९:०४

२० कात्तिक, काभ्रे । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरामदायी ढंगले चुनाव जितेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटा पाँच वर्षपछि फेरि उम्मेदवार बन्दा भने पहिलेजस्तो सहज अवस्थामा छैनन् ।

विगतको निर्वाचनमा साथ दिएको नेकपा माओवादी केन्द्र र एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले अहिले बाँस्कोटाका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई साथ दिएका छन् ।

बाँस्कोटाले ५४ हजार ४२७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका मधु आचार्यले ३६ हजार ५७९ मत पाएका थिए । अर्थात् बाँस्कोटाले १७ हजार ८४८ मतान्तरले जितेका थिए । बाँस्कोटाले पाएको मत देशभरकै निर्वाचन क्षेत्रमा तेस्रो धेरै थियो ।

बाँस्कोटाका प्रतिस्पर्धी कांग्रेस नेता हुमागाईं पनि पूर्वसांसद हुन् । चार पटक कांग्रेसको जिल्ला सभापति र केन्द्रीय सदस्य बनेका हुमागाईं २०५६ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद सापकोटासँग र २०७० को संविधान सभा चुनावमा एमालेकै रामहरि सुवेदीसँग पराजित भएका थिए ।

दुवै नेताको जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

बाँस्कोटा पनि २०४३ सालमा अनेरास्ववियुको जिल्ला सचिव भएका, त्यसपछि अध्यक्ष र २०५४ देखि पार्टीको जिल्ला सदस्य बनेका थिए । २०५९ देखि २०६३ सम्म एमालेको जिल्ला उपसचिव र २०६४ देखि २०६६ सम्म जिल्ला सचिव भएका थिए ।

२०६७ देखि २०७१ सम्म दुई कार्यकाल नेकपा एमाले जिल्ला अध्यक्ष बनेका बाँस्कोटा हाल पार्टीको पोलिट्ब्यूरो सदस्य छन् । बाँस्कोटा २०७० को संविधान सभा सदस्य पदमा कांग्रेसका कञ्चनचन्द्र बादेसँग पराजित भएका थिए ।

खरो स्वभावका बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ठेकेदारका एजेन्टसँग ७० करोड रुपैयाँ रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादित बनेका थिए । त्यकी कारणले उनले मन्त्री पदबाट राजीनामा पनि दिएका थिए । चुनावी कार्यक्रमहरुमा उनले प्रमाण ल्याउन चुनौती दिँदा कसैले ल्याउन नसकेको बताउने गरेका छन् ।

आफू सरकारमा हुँदा गरेको कामको आधारमा आफूले चुनाव जित्ने बाँस्कोटाले बताए । ‘पार्टीप्रति प्रतिबद्ध मत, जनताले गरेको विश्वास र जनतासँग गरेको प्रतिवद्धताअनुसार गरेको काम नै मेरो जितको आधार हो’, बाँस्कोटाले भने, ‘मेरो कामको परीक्षण र मूल्यांकन गर्न मतदातालाई छोडिदिएको छु ।’

कांग्रेस उम्मेदवार हुमागाईं आफूले जितेमा काभ्रेलीको शिर उच्च राख्ने बताए । ‘जनताले संविधानको रक्षा र सुशासन चाहेका छन्’, उनले भने, ‘म निर्वाचित भए भने काभ्रेलीको शिर निहुरिन दिने छैन, विकास, समृद्धि र सुशासनका लागि मतदाताले मलाई विजयी गराउनुहुनेछ ।’

काभ्रे–२ मा एमाले र कांग्रेसका सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं, स्वतन्त्र उम्मेदवार मनोज पण्डितसहित १६ जना उम्मेदवार छन् । उम्मेदवार पण्डितले चुनाव आफूले जित्ने दावी गरिरहेका छन् । ‘एमाले पार्टीको संगठन र कांग्रेस पार्टीको लिगेसीले गर्दा अलि समस्या होला नत्र त उम्मेदवारहरु हेर्दा मेरो जित पक्का छ’, पडितले भने ।

स्थानीय तहको मतमा को बलियो ?

काभ्रे–२ मा बनेपा, मण्डनदेउपुर, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाका सबै वडा, धुलिखेल नगरपालिकाका वडा न १, २, ३, ४, ५, ६ र ७, पनौती नगरपालिकाको वडा नं १, २, ३, ११ र १२, बेथानचोक गाउँपालिकाको वडा नं १,२,३,४ र ५ पर्छ । यो क्षेत्रमा पर्ने ६६ वडामध्ये ३९ वटामा सत्तारुढ गठबन्धनमा रहेका दलका उम्मेदवार, २५ वटामा नेकपा एमालेका उम्मेदवार र एउटामा राप्रपाका उम्मेदवार निर्वाचित भएका थिए ।

स्थानीय तह निर्वाचनमा पाँचखाल, बनेपा र पनौती नगरपालिका, बेथानचोकको प्रमुख सत्ता गठबन्धको कांग्रेसले तथा मण्डनदेउपुर एकीकृत समाजावादीले र भुम्लु गाउँपालिकाको नेतृत्व माओवादीले जितेको छ । धुलिखेल नगरपालिका प्रमुखमा मात्रै एमालेका उम्मेदवार निर्वाचित भएका थिए । बनेपा, पनौती र पाँचखाल नगरपालिका प्रमुखमा सत्ता गठबन्धनका दलको उम्मेदवारले जिते पनि उपप्रमुख भने एमालेले जितेको थियो ।

यो क्षेत्रमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सत्तारुढ गठबन्धनको ६० हजार ६०२ र नेकपा एमालेको ४५ हजार ५१४ छ । त्यस्तै राप्रपाको दुई हजार ३५४ छ ।
यो क्षेत्रका एक लाख ५७ हजार ४४२ मतदातामध्ये ७९ हजार १७४ पुरुष र ७८ हजार २६७ महिला छन् ।

गोकुलको चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बाँस्कोटाको प्रभाव जिल्लामा समेत राम्रो थियो । तर नेकपा एमाले विभाजिन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि उनी आफ्नै क्षेत्रमा पहिलेजस्तो शक्तिशाली छैनन् ।

एमाले विभाजन हुँदा काभ्रे–२ का धेरै नेता, कार्यकर्ताले नेकपा एकीकृत समाजवादी रोजे । एमालेवाट लामो समय जिल्ला विकास समिति सभापति भएका र २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित कृष्णप्रसाद (केपी) सापकोटा, पूर्व पार्टी सचिव एवं २०७० सालको संविधानसभामा निर्वाचित विदुर सापकोटा, निवर्तमान प्रदेशसभा सदस्य लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईं, नेकपा एमालेका तत्कालिन अध्यक्ष एवं गोकुल बास्कोटाकै वडाका नेता टोकबहादुर वाइवा एकीकृत समाजवादीमा छन् ।

हुमागाईंको चुनौती

२०७४ सालको निर्वाचनमा यसै क्षेत्रमा पराजित नेता मधु आचार्य यस पटक पनि टिकटको आकांक्षी थिए । तर आचार्यले टिकट पाएनन्, आफ्नो क्षेत्रका नेता हुमागाईंले टिकट हात पारे । सत्तारुढ गठबन्धन भएर जित्ने सम्भावना भएका बेला आफूले टिकट पाउनुपर्ने बताइरहेका आचार्य असन्तुष्ट छन् ।

तर उनलाई कांग्रेसले गोपालमान श्रेष्ठ संयोजक रहेको केन्द्रीय निर्वाचन परिचालन समितिको बागमती प्रदेशको सहसंयोजक बनाएको छ । हुमागाईले आचार्यलाई चुनावी कार्यक्रममा सहभागी गराउन नसकेमा कांग्रेसकै मत पाउन नसक्ने कतिपय नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?