+
+

सोरुङका बासिन्दाले मतदान बहिष्कार गर्ने निर्णय गरे फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १६:२८

२२ कात्तिक, कटारी । स्थानीय तह चुनावमा गोली चल्दा एक जनाको मृत्यु भएको उदयपुरको सोरुङ गाउँका बासिन्दाले चुनाव बहिष्कार गर्ने निर्णय फिर्ता लिएका छन् ।

कटारी नगरपालिकाको कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय वैठकको निर्वाचन बहिष्कारको निर्णय फिर्ता गर्दै त्यहाँ निर्वाचन हुने वातावरण तयार गरेको हो ।

यसअघि कटारी नगरपालिका १० का राजनीतिक दलहरुको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो ।

गएको वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको मतदानका दिन कटारी १० को जनता कालिका मावि सोरुङ मतदान केन्द्रमा प्रहरीको गोलीबाट वीरबहादुर कटुवालको ज्यान गएको थियो ।

घटनामा मोहनबहादुर श्रेष्ठ घाइते भएका थिए । घटना पश्चात स्थानीयबासिन्दाले मतपेटिका उठाउन नदिई शव समेत घटनास्थलबाट उठाएका थिएनन् ।

समस्या समाधानका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सहितको सुरक्षा निकायको वार्तापछि सहमति मार्पmत मतगणना अघि बढेको थियो ।

छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, दोषिलाई निलम्बन गरी कारबाही प्रकृया अघि बढाउन गृह मन्त्रालयलाई लेखी पठाउने, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई शहीद घोषणा गर्ने, घटनाका घाइते मोहनबहादुर श्रेष्ठलाई उपचार र क्षतिपूर्ति नेपाल सरकारबाट गराउने सहमति भएको थियो ।

तर त्यो सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै वडाका दलहरुले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए ।

तर आज (मंगलबार)को छलपलमा घटनाको गृहमन्त्रालयबाट गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रालयलाई आग्रह गर्ने, मृतकलाई शहीद घोषणाका लागि फेरि पहल गर्ने, वैशाख ३१ को सहमतिमा भएअनुसारको राहत रकम १० लाख रुपैयाँ मृतकका बाबु जितबहादुर कटुवाललाई उपलब्ध गराउने सहमति बहिष्कारको निर्णय फिर्ता भएको हो ।

कटारी नगरपालिकाका मेयर राजेशचन्द श्रेष्ठ, उपमेयर गिता खड्का सहित, ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख चेतराज बराल, राजनीतिक दलका नगर र जिल्ला तथा केन्द्रीय प्रतिनिधि सहितको वैठकले निर्वाचन बहिष्कार गर्ने निर्णय फिर्ता गरेको हो । ‘वडादेखि माथिल्लो सवै तहका दलका प्रतिनिधि, प्रशासन, सुरक्षा निकायको वैठकबाट त्यहाँ निर्वाचन गर्ने निर्णय भयो’, कटारीका मेयर श्रेष्ठले थपे, ‘पीडितलाई आवश्यक राहत र न्याय दिन नगरपालिकाले निरन्तर पहल गरिरहेको छ ।’

निर्वाचन बहिष्कारको निर्णय फिर्ता भएसँगै भोलिदेखि राजनीतिक दलका गतिविधि गर्न वडामा खुल्ला गरिएको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए ।

कटारीको यो १० नम्बर वडामा स्थानीय चुनावमा १४ सय ६८ मत खसेको थियो । त्यतिवेला एमालेका खड्का वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका थिए । वडामा २१ सय ४० मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?