+
+
काठमाडौं–६ मा घरदैलो :

भीमसेनदासलाई मतदाताको प्रश्न : चुनाव जितेपछि फर्किनु भो ? 

गौरव पोखरेल गौरव पोखरेल
२०७९ कात्तिक २३ गते १७:४६

२३ कात्तिक, काठमाडौं । टोखा नगरपालिका–८, बानियाँटारमा बिहान ८ बजे एक हूल मानिस रूख र चारतारे झण्डा बोकेर लुईं–लुईं हिंडिरहेका थिए । न नारावाजी थियो, न त बाजागाजा ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भीमसेनदास प्रधान जुलूसको बीचतिर खादा र माला लगाएर विस्तारै हिंडिरहेका थिए ।

शिरमा ढाका टोपी, निधारमा रातो टीका, ईस्टकोटमाथि ज्याकेट, पाइन्ट र स्पोर्टस् सूजमा सजिएका प्रधान चौथो पटक बानियाँटारवासीसँग भोट माग्दै थिए ।

२०६४ सालमा पहिलो पटक काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवारी दिनुअघि प्रधान त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्थे । संसदीय प्रतिस्पर्धामा उत्रिने अवसर पाएपछि राजिनामा दिएर पूर्णकालीन राजनीतिमा आएका प्रधान पहिलो प्रतिस्पर्धामा माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यसँग पराजित भए ।

२०७० र २०७४ मा भएको निर्वाचनमा चाहिं प्रधान लगातार निर्वाचित भए । यसपालि चौथो पटक ‘अन्तिम पटक’ भन्दै प्रधान घरदैलोमा निस्किएका छन् ।

****

‘ओहो, दाइ ! जय नेपाल ।’

इन्द्रेणी पुलतिर झर्दै गर्दा पसलबाट निस्किएका युवा कांग्रेस कार्यकर्ता नै परेछन् ।

‘जय नेपाल ।’

‘ल यताउता पनि भन्नुपर्‍यो है’, प्रदेशसभा सदस्यका उम्मेदवार विष्णुभक्त तिम्सिनासँगै घरदैलोमा निस्किएका प्रधानले भोट मागे ।

‘एउटा फोटो खिचौं’, पसलबाट निस्किने वित्तिकै भेटिएका दुई महिलाले सेल्फीको प्रस्ताव गरे ।

फोटो खिचिनसक्दै कांग्रेसकी स्थानीय नेतृ निशा पाण्डेले प्रधानलाई तानिहालिन् ।

‘ऊ त्यहाँ तीन भोट छ, भित्र जाऊँ’, अर्को पसलतिर लगिन् । प्रधान, तिम्सिनासहित अन्य कांग्रेस कार्यकर्ताले श्रद्धापूर्वक नमस्कार गरेर निस्किए ।

अर्का कार्यकर्ता फुस्फुसाए, ‘दाइ, यहाँ असन्तुष्टि पनि छन्, छुट्टै कुरा गरौं ।’

‘होइन, पछि फेरि छुट्टै कुरा गरौंला’, सडक पुगिसकेका प्रधान फर्किएनन् ।

‘ओहो, मेरो दाइ’, कांग्रेसबाट निर्वाचित पूर्व वडा सदस्यसमेत रहेकी पाण्डे इन्द्रेणी पुल करिडोरमा बोलिन् ।

‘अघिल्लो चोटि पनि दिएकै हो, यो चोटि पनि जसरी पनि है… ।’

समूह अघि बढ्दै थियो । एकजना कार्यकर्ताले अर्कालाई खुसुक्क भने, ‘घरदैलो नि यस्तो हुन्छ ? आवाज–सावाज छैन । मान्छेले कसरी थाहा पाउँछन् ?’

प्रधानले सुनेछन् । ‘बाजा बोक्ने, भाइ खोइ’, स्पिकर बोकेर स्कुटरमा हिंड्नेलाई उनी खोज्न थाले ।

केहीबेरमा घन्किन थाल्यो, ‘…जय नेपाल ! जय नेपाल ! जय नेपाल !’

****

‘यो हाम्रो रामको रेस्टुरेन्ट हो’, कार्यकर्ताले प्रधानलाई एउटा होटलभित्र छिराए ।

‘जय नेपाल ! जय नेपाल !’ प्रधान सम्बोधन गर्दै छिरे ।

कार्यकर्ताहरूले पनि दुईहात जोडे । भित्रबाट एकजना महिला असहज मान्दै निस्किइन्, ‘कसलाई खोज्नु भा होला ?’

‘भोट माग्न आ’को’, कार्यकर्ताले भने ।

उनले जवाफ फर्काइन्, ‘खोइ, कोही पनि हुनुहुन्न । म मात्र छु ।’

‘राम मनमैजु गएको रै’छ’, अर्का कार्यकर्ता भीडबाट बोले । पर्चा दिंदै ‘फोटोमा भएका मान्छेहरू आउनुभएको थियो’ भनिदिन आग्रह गरे ।

‘भाइ, ज्वाइँ रहेछन्, अरू रहेनछन्’, उनले प्रधानलाई सुनाइन् ।

तल्लो घरमा पुग्दा एकजना वृद्धा भेटिइन् । प्रधानले हात जोड्ने वित्तिकै भनिन्, ‘तपाईंलाई भोट नहाले कहाँ हाल्ने ?’

‘अँ त, तल–माथि भए यहाँ बस्न मन छ कि छैन भन्नुपर्छ !’ पाण्डेले ठट्टा गरिन् । प्रधान र अरू कार्यकर्ता हाँसे ।

पाण्डेका अनुसार उनी कांग्रेसका पुराना कार्यकर्ता हुन् । ‘उहाँ जिरो बेलादेखिको कांग्रेस समर्थक हो, अन्त जा भने पनि नजाने हो’, अर्की कार्यकर्ताले भनिन्, ‘टोलमा हजुरले अघि लगाइदिनुपर्‍यो ।’

उनले त्यति रुचि देखाइनन् । भनिन्, ‘पस्नु न अनि, मेरोमा त छिर्नु पर्दैन ।’

‘त्यही नि एकचोटि आइयो भन्ने हुन्छ नि !’ कार्यकर्ता पंक्तिबाट आवाज सुनियो ।

टोली अघि बढेपछि थाहा भयो, उनी गीता श्रेष्ठ रहिछन् । ‘म बाबुकाजी पाठकको दिदी हुँ, पञ्चायतदेखि नै कांग्रेस समर्थक हुँ’ श्रेष्ठले अनलाइनखबरसँग सुनाइन्, ‘अन्त त भोट दिन पनि मन लाग्दैन ।’

तीन पटक प्रधानलाई भोट दिइसकेको बताउने उनले भनिन्, ‘छोराछोरीले चाहिं वडामा अर्को पार्टीलाई दिए ।’

श्रेष्ठको बुझाइमा पनि वडामा चिनजानको व्यक्तिलाई जिताउनुपर्ने हो । केन्द्रमा चाहिं उनी पार्टीलाई नै दिनुपर्ने धारणा राख्छिन् । कांग्रेस उम्मेदवारले काम चाहिं कस्तो गरे त भन्ने प्रश्नमा उनी अक्मकिइन्, ‘खोइ, के गरे र ! गरे पनि नगरे पनि सधैं कांग्रेसलाई नै हालिराखेको हो, क्यारे !’

****

‘दिदी, दिदी ! ओ दिदी’, अलि अगाडि बढेर गेटमा एकजना कार्यकर्ता चिच्याए ।

‘भोट दिएर जिताउनु पर्‍यो’, प्रधानले हात जोड्दै भने ।

पछाडि एकजना कार्यकर्ता विस्तारै बोले, ‘यहाँबाट भोट त आउने होइन क्यारे !’

मनु थापाले जवाफ दिइन्, ‘शुभकामना दिन्छु मैले ।’ कार्यकर्ताले भने अनुसारकै जवाफ आयो ।

‘दिदी ! अरू बेला एमालेलाई हाल्नुभो, अब चाहिं रूखमा झ्याप्प पार्नुपर्छ’, फेरि पाण्डे नै अघि सरिन् ।

‘झ्याप्प पार्दिनँ, आशीर्वाद चाहिं दिन्छु’, थापाले दोहोर्‍याइन् । प्रधान अलमलिएपछि पूर्व वडा सदस्य पाण्डेले भनिन्, ‘मेरो जिग्री साथी हुन्, हाल्छिन् । नो टेन्सन !’ प्रधानले ठट्टा गरे, ‘बोलेरै सबैको भोट तान्दिने भइन् !’

पाण्डेले पनि गुनासो गरिहालिन्, ‘के गर्नु वडाअध्यक्षको टिकट दिनुभएन ! दिएको भए टोलमा सबै मैले भनेअनुसार हुन्थ्यो ।’

टोली निस्किएपछि अनलाइनखबरसँग कुरा गर्दै प्रधानले दुई पटक निर्वाचित भएर पनि सम्झनलायक काम नगरेको बताइन् ।

‘राजनीतिक नेतृत्वप्रति आशावादी हुने हो, उहाँहरूले नीति, निर्माण बनाउने विकास गर्ने हो’ उनले थपिन्, ‘तर उहाँ दुईपटक निर्वाचित हुँदा पनि यथार्थमा केही भएको छैन ।’

उनले टोखा नगरपालिकाको वडा नं. ८, बानियाँटारमा स्थानीयलाई कुनै स्वास्थ्य समस्या भए वीर अस्पताल जानुको विकल्प नभएको बताइन् । ‘वडामा अस्पताल त छ, तर जनशक्ति छैनन्’ उनले भनिन्, ‘कम्तीमा एउटा वडामा राम्रो डाक्टरसहित सेवा दिनुपर्ने होइन ?’

प्रधान निर्वाचित भएपछि पाँच वर्षसम्म फेरि नफर्किएको सुनाइन् । ‘शिक्षा, स्वास्थ्यदेखि लिएर पानीको झन् समस्या छ’, थापाले थपिन् ।

****

‘ओहो, पहिले यहाँ घरै थिएन, अहिले कति हो कति’, एक कार्यकर्ताले टोलीलाई साँघुरो गल्लीतिर लगे ।

‘उहाँ मोहन खड्का, यो टोलको सक्रिय हो’, अर्का कार्यकर्ता बोले ।

खड्काले चाहिं आकाशतिर देखाउँदै बिजुलीको नांगो तारले जोखिम बढाएको बताए । ‘तत्काल यो सम्बोधन गरिदिनुपर्‍यो’, उनले भने ।

प्रधानले मुन्टो हल्लाए, केही बोलेनन् । ‘तत्काल हुनुपर्‍यो’, फेरि बोलेपछि अर्का कार्यकर्ताले आफूले पनि समन्वय गरिदिने बताए ।

एकजना कार्यकर्ताले विद्युत् प्राधिकरणका एक कर्मचारीको नाम लिंदै उनलाई फोन गरिदिन भने ।

पृष्ठभूमिमा कांग्रेसको नारा बजिरहेको थियो । अर्का व्यक्ति आक्रोशित सुनिए, ‘जितेपछि अहिलेसम्म कहिल्यै आउनुभएको थियो ?’

‘बाटो हेर्नुस्, कस्तो छ’ उनी बोले, ‘पानी, फोहोरको व्यवस्था राम्रो भइदिए अरू केही चाहिन्न ।’

प्रधानले दुई शब्द मात्रै अघि सारे, ‘म गर्छु ।’

‘गर्छु भनेर मात्र हुन्छ ?’ उनलाई प्रतिप्रश्न आयो ।

प्रदेशसभाका सांसद तिम्सिना पनि उनको नम्बर माग्दै आए र भने, ‘अब विकासको काम मैले गर्ने हो ।’

अलि अगाडि पसलमा तीन जना महिला बसिरहेका थिए । ‘यसपालि ठूलो प्रोटेक्ट ल्याउँदैछौं’, प्रधानले आश्वासन दिए ।

उनीहरूले पहिले पनि प्रधानलाई भोट दिएको बताउँदै त्यहाँ बसेको महिलालाई सहयोग गर्न आग्रह गरे । उनका अनुसार तीनमध्ये एकजनालाई क्यान्सर भएको थियो । प्रधान ‘हुन्छ’ भन्दै मुन्टो हल्लाइरहेका थिए ।

‘खोइ, नम्बर दिनुस् । भोटका लागि मात्र होइन, मानवताका लागि पनि सहयोग गर्छौं’, घरदैलो अभियानमा हिंडेकी फुलमाया विश्वकर्मा अघि बढिन् ।

अलि अगाडि गएपछि अरू दुई युवाले पनि टोलीमा पानी नआएको भन्दै आक्रोश पोखे । जवाफमा उनले ‘अब गर्ने’ मात्रै भने । बाटोमा भेटेका जतिलाई जय नेपाल भन्दै हिंड्ने, घरको छतमा भएकालाई हात हल्लाए ।

****

अर्को चोकतिर पुगेपछि अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै प्रधानले ‘मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको’ बताए ।

क्षेत्रमा विकासको गति सुस्त भएको चाहिं उनलाई पनि लागेको रहेछ । उनले भने, ‘सांसदको काम विकास गर्ने हो, गत वर्ष संसद विकास कोष पनि राखे भयो । अब त्यो काम स्थानीय सरकारले गर्ने हो ।’

प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश

घरदैलो अभियान कस्तो हुँदैछ ?

एकदम प्रभावकारी भइरहेको छ । प्रतिक्रिया राम्रो छ । धेरैको सहज रूपमा विजय हुन्छ भन्ने प्रतिक्रिया पाएँ । यो क्षेत्रमा विकासको गति चाहिं अलि धीमा नै छ ।

मेरो काम त विधेयकहरू पास गर्ने मात्रै हो । गएको वर्ष संसद विकास कोष खारेज भयो । म पनि त्यो विकास कोष राख्नुहुन्न भन्ने पक्षमा थिएँ । किनभने, त्यो स्थानीय सरकारले गर्ने काम हो । मेयर र वडाले गर्ने काम हो ।

प्राथमिकताको एजेण्डा ल्याउने काम हाम्रो हो । सानोतिनो काम स्थानीय सरकारले बजेट दिएर गर्ने हो ।

तपाईंसँग यसपालि पूर्वआईजीपीले प्रतिस्पर्धा गर्दैछन्, कत्तिको चुनौती देख्नुभएको छ ?

मलाई एकदम सहज छ । उहाँको संगठन छैन । नेकपा एमालेले बनाएको संगठनमा आउनुभएको छ । त्यहाँ पनि असन्तुष्टि छ । राजनीति भनेको राजनीति गर्ने मान्छेले नै गर्ने हो । होइन र ? अमिताभ बच्चनले पनि एकचोटि जिते नि ! तर ‘इन्क्लाब’ फिल्म जस्तो त हुँदैन ।

प्रहरीमा उहाँको आफ्नो विशेषता होला, राजनीतिमा मेरो विशेष पहिचान छ । संगठन भएको हुनाले मलाई सहज छ ।

तपाईंको क्षेत्रका धेरै मतदाताले खानेपानी समस्याबारे गुनासो गरेका छन्, यसबारे जानकार हुनुहुन्छ ?

यो चाहिं दोस्रो चरणमा मेलम्ची यहाँ आउँछ । पहिलो चरणमा रिङरोडभित्रै मात्र पर्‍यो । यसका लागि दोस्रो चरणको योजनामा छौं । अहिले तारकेश्वर, टोखालाई काठमाडौंका मेयरसहित मुहानहरू खोजी गरेर रिजर्भेयर बनाउँदैछौं । पानीको व्यवस्था गर्छौं ।

यो निर्वाचन क्षेत्रलाई लक्षित गरेर तपाईंको एजेण्डा के–के हुन् ?

पार्टीको एजेण्डा त छँदैछ । त्यसबाहेक यहाँको उत्तरी भेग रमणीय स्थान हो । यसको वातावरण बिगार्नुहुँदैन । बस्न योग्य शहर बनाउने भन्ने योजना मेरो छ ।

असन, टोखा, तारकेश्वर पनि मेरो क्षेत्र भएकाले शहरका लागि चाहिने पूर्वाधारहरू वातावरणमैत्री हुनुपर्छ भन्ने छ । वातावरणमैत्री पूर्वाधारमा म जोड दिन्छु । बाँच्नलाई कत्तिको सहज छ भन्ने कुरामा हरियाली बनाउने योजना छ ।

ज्येष्ठ नगारिकलाई वृद्धाश्रम होइन कि आध्यात्मिक चिन्तनको ठाउँ बनाउनुपर्छ भन्ने छ । धेरैका छोराछोरी विदेश छन् । पैसा छ, परिवार छैन । शान्त तहले पूर्वाधार बनाएर ‘स्कुल अफ सिनियर सिटिजन’ बनाउने मेरो योजना छ ।

तस्वीरहरूः चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?