+
+
भीमसेन भर्सेस सर्वेन्द्र :

काठमाडौं ६ मा पूर्व रक्षामन्त्री र पूर्व आईजीपी आमनेसामने

दुई मुख्य प्रतिस्पर्धीको कमजोरीबाट लाभ उठाउने शिशिर खनालको दाउ

गएको स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ मा वडाध्यक्षहरुले ल्याएको मत हेर्ने हो भने नेपाली कांग्रेस एक्लैको १७ हजार २७७ मत छ । नेकपा एमालेको १४ हजार ३०३ मत छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ कात्तिक २३ गते १९:२७

२३ कात्तिक, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा भीमसेन दास प्रधान रक्षामन्त्री हुँदा सर्वेन्द्र खनाल नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) थिए ।

राजपत्राङ्कित प्रथम श्रेणीका अफिसरका रुपमा छँदा औपचारिक/अनौपचारिक सन्दर्भमा हुने भेटमा खनाल प्रधानलाई ‘सल्युट’ गर्थे । यो २०७४ सालतिरको कुरा हो ।

त्यसयता पाँच वर्ष अवधिमा सर्वेन्द्र बढुवा भएर प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) सम्म पुगेर सेवानिवृत्त मात्र भएका छैनन् । नेकपा एमाले प्रवेश गरेर प्रधानविरुद्ध काठमाडौं क्षेत्र नं. ६ मा उम्मेदवारी दिएका छन् ।

अहिले उनी पूर्वरक्षामन्त्रीलाई हराएर संसद प्रवेश गर्ने दाउमा छन् । खनालले आफ्नो मुख्य एजेण्डा पनि राष्ट्रिय सुरक्षाका विषयमा दीर्घकालीन रणनीति बनाउनेदेखि प्रहरी–प्रशासनलाई चुस्त बनाउनेसम्मका विषयलाई बनाएका छन् ।

सर्वेन्द्रका लागि यो पहिलो संसदीय प्रतिष्पर्धा हो । तर भिमसेनसँग आमनेसामने भएको चाहिँ पहिलो पटक होइन ।

सामाखुशीका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ २०७२ सालमा प्रहरी मुठभेडमा मारिँदा सर्वेन्द्र तत्कालीन अपराध अनुसन्धान महाशाखाका प्रमुखका रुपमा अपरेशन कमाण्डर थिए । सामाखुशी पर्ने क्षेत्रको सांसद्का रुपमा प्रधानले घैंटे मारिँदा प्रहरी मुठभेडप्रति प्रश्न उठाएका थिए ।

कांग्रेस उम्मेदवारप्रति एकदमै असन्तुष्टि छ, एमालेतिर पनि उस्तै छ । यसपालि विकल्पमा मतदाताले मलाई छान्छन् । – शिशिर खनाल, स्वतन्त्र पार्टीका उम्मेदवार

उनले संसद बैठकमै प्रहरीले कानून हातमा लिएर घरभित्रै घुसेर घैंटेको हत्या गरेको आरोप लगाउँदै ‘दो आँखे बारह हात’ नामक हिन्दी चलचित्र हेर्न सुझाव दिएका थिए । यो फिल्म खुंखार अपराधीलाई एक जेलरले कसरी आदर्श नागरिक बनायो भन्ने विषयमा केन्द्रित छ । त्यसबेला सर्वेन्द्रको जवाफ चाहिँ ‘आक्रामक पुलिस’विना गुण्डागर्दी नियन्त्रण सम्भव हुँदैन भन्ने थियो ।

अहिले एकैक्षेत्रमा उम्मेदवार बनेका पूर्वरक्षामन्त्री प्रधान र पूर्वप्रहरी प्रमुख खनालबीच ६ कात्तिकमा ठमेलमा जम्काभेट भयो । ‘जात्रा थियो, दुवैजनालाई बोलाएका उहाँहरु सहभागी हुँदा भेट भएको हो’, खनालका एकजना सहयोगीले भने, ‘त्यतिबेला उहाँहरुले मित्रवत प्रतिष्पर्धा गर्न प्रस्ताव गर्नुभएको थियो ।’

‘म त गाली गर्ने मान्छे नै होइन, प्राध्यापकले गाली नै गर्दैन,’ प्रधानले जवाफ फर्काए ।

‘बरु तपाईंले चाहिँ कता के–के बोल्दै हुनुहुन्छ भन्ने सुनेँ’, उनले थपे ।

कांग्रेस कार्यकर्ताहरुका अनुसार सर्वेन्द्रले पुराना नेताहरुलाई भोट नदिन भन्दै भाषण गरिरहेका थिए । पछि दुवैले हात मिलाउँदै ‘एकअर्कालाई गाली नगर्ने’ सहमति गरेको उनी बताउँछन् ।

अनलाइनखबरसँग कुरा गर्दै प्रधानले सर्वेन्द्र अराजनीतिक व्यक्ति भएको तर्क गरे । ‘उहाँको प्रहरीमा ठूलो योगदान होला, तर राजनीतिक मान्छे होइन’, प्रधानले भने, ‘जनताले राजनीतिक व्यक्तिलाई नै जिताउँछन् ।’

सर्वेन्द्र ‘जनताको समस्या समाधान गर्ने अठोट लिएको’ बताउँदै पूर्वरक्षामन्त्रीसँग प्रतिष्पर्धा गर्न पाउँदा रमाइलो लागि रहेको बताउँछन् । ‘मतदातासँग भेटघाट गर्दै जाँदा उत्साहत र उर्जा मिलेको छ’, उनी भन्छन्, ‘मेरो बाल्यकाल, स्कुलिङदेखि कर्मक्षेत्र पनि धेरै समय काठमाडौं रह्यो, त्यसैले निर्वाचित हुन्छु भन्ने लाग्छ ।’

तर सर्वेन्द्रको जित उनले सोचे जति सहज पनि देखिँदैन ।

भीमसेनलाई अंकगणितको भर

गएको स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ मा वडाध्यक्षहरुले ल्याएको मत हेर्ने हो भने नेपाली कांग्रेस एक्लैको १७ हजार २७७ मत छ । नेकपा एमालेको १४ हजार ३०३ मत छ ।

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका २ हजार ४६२ र एकीकृत समाजवादीको १४५९ मत छ । तर काठमाडौं–६ मा माओवादी केन्द्र कांग्रेससँग असन्तुष्ट छ ।

माओवादीका एक नेताका अनुसार पार्टीले काठमाडौं–६ मा प्रदेशतिर एउटा सिट मागेको थियो । नदिएपछि दुवैमा उम्मेदवारी दिएको छ । यसबाट फाइदा लिने दाउमा एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेवादर शिशिर खनाल पनि छन् ।

खनाल भन्छन्, ‘असन्तुष्टहरुलाई मत कहाँ हाल्ने भन्ने अलमल छ, त्यसमा उहाँले विकल्पमा मलाई छान्नु हुन्छ ।’ शैक्षिक अभियन्ताका रुपमा चिनिएका खनाल माओवादीबाट असन्तुष्टको उल्लेख्य मत आफूलाई आउने दाबी गर्छन् ।

कांग्रेस क्षेत्र नं. ६ का सभापति श्याम खड्गी भने माओवादी केन्द्रमा देखिएको समस्या समाधान भइसकेको बताउँछन् । ‘प्रदेशसभातर्फ (ख)मा उम्मेदवारी परे पनि निष्क्रिय भइसक्यो, (क) मा चाहिँ पार्टीले निर्देशन दिइसक्दा नि हिँडिराछन्’ खड्गीले भने, ‘तर त्यसको खासै अर्थ रहन्न ।’

कांग्रेस उम्मेदवार प्रधान अंकगणितीय हिसाबमा बलियो देखिएपनि दुईपटक निर्वाचित भएर पनि विकास गर्न नसकेको मतदाताको आरोपप्रति सशंकित छन् । घरदैलो अभियानमा जाँदा पनि उनले यो प्रश्न पटकपटक खेप्नु परिरहेको छ ।

तर प्रधान भन्छन्, ‘मेरो काम विधयेकहरु पास गर्नै मात्रै हो । गएको वर्ष संसद् विकास कोष खारेज भयो । विकासका कामहरु स्थानीय सरकारले गर्ने हो । प्राथमिकता र एजेण्डा मैले ल्याउने हो ।’

एमाले उम्मेदवार खनाल दुईपटकसम्म प्रधान निर्वाचित हुँदा पनि विकास नभएको देखाएर भोट मागिरहेका छन् । ‘टोलमा केही काम भएको छैन, कांग्रेसलाई जिताएको पनि दुईपटक भइसक्यो’, धर्मस्थली, सानोबाइपासका अगुवा राजाराम महर्जन पनि भन्छन्, ‘एमाले पनि देखेकै हो । आउन त स्वतन्त्र पार्टीका उम्मेदवार पनि आएका थिए ।’

सानोबाइपास चोकमा भेटिएकी रिता अर्यालले पनि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको उदाहरण दिँदै युवा पुस्ता अघि आउनुपर्ने बताइन् । प्रधान र खनाल दुवैको घरदैलो अभियान पछ्याउँदा मतदाताले नयाँ विकल्प खोजेको संकेत देखिन्छ ।

परिस्थिति फेरिएको एमाले दाबी

एमालेका नेताहरु चाहिँ विगतमा बाहिरका व्यक्तिलाई टिकट दिँदा पछाडि परेको विश्लेषण गर्छन् । ‘यसपालि उम्मेदवार बन्नुभएका खनाल यहीँको वासिन्दा हुनुहुन्छ, राष्ट्रियरुपमा पनि चिनिएको व्यक्ति हो’, एमाले क्षेत्रीय सचिव कृष्णप्रसाद अधिकारी भन्छन्, ‘त्यसैले यसपालि तीब्र प्रतिष्पर्धाबीच जित एमालेको हो ।’

एमालेले २०६४ र २०७० सालमा ताप्लेजुङ घर भएका एमाले नेता योगेश भट्टराईलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको थियो । दुवै चुनावमा उनी पराजित भए । २०७४ सालमा वाम गठबन्धनबाट माओवादीले उठाएका उम्मेदवार झक्कुप्रसाद सुवेदी पनि पराजित भएका थिए ।

कांग्रेस नेताहरु सर्वेन्द्रले उपत्यका अपराध अनुसन्धान कार्यालय छँदा गुण्डा नाइके कुमार घैंटेको सुनियोजितरुपमा ‘इन्काउटर’ गरेको दाबी गर्दै सामाखुशी क्षेत्रका युवाको भोट उनले नपाउने दाबी गर्छन् । स्वतन्त्र उम्मेदवार खनाल त्यो भोट आफूतिर आउने बताउँछन् ।

कांग्रेस क्षेत्रीय सभापति खड्गी त्यसले उल्टै फाइदा हुने तर्क राख्छन् । ‘त्यतिबेला घैंटेबाट धेरै व्यवसायीहरुले दुःख पाएका थिए, उनीहरु अहिले खुशी छन्’, उनले भने, ‘त्यताको भोट झन् बढ्छ ।’

एमाले नेताहरु विगतमा पार्टी विभाजित भएको अवस्था रहेको, तर हालै एकीकृत समाजवादीको तारकेश्वर नगरपालिकाका पुरै नगर कमिटी एमालेमा समाहित भइसकेको बताउँदै परिस्थिति फेरिएको दाबी गर्छन् । ‘त्यहाँ मेयरले २५ सय मत ल्याएका थिए, त्यो पनि जोडिन्छ’, अधिकारी तर्क गर्छन् । कांग्रेस उम्मेदवार प्रधान चाहिँ सर्वेन्द्रको आफ्नो पकडविना पार्टीको संगठनमा भर परेकाले उनीबाट चुनौति नदेखेको बताउँछन् ।

दुवै उम्मेदवारको कमजोरीका बीचमा स्वतन्त्र पार्टीका उम्मेदवार शैक्षिक अभियन्ता खनाल असन्तुष्ट मतहरु तानेर आफू विजयी हुने बताउँछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?