+
+

आयोग रोक्दै, तोसिमा रफ्तार बढाउँदै

सागर चन्द सागर चन्द
२०७९ कात्तिक २३ गते २०:१९

२३ कात्तिक, काठमाडौं । ‘हामीले कसरी भोट माग्ने ? के भने प्रचार गर्ने ?,’ कुपण्डोलको सडक पेटीमा सुस्ताइरहेकी दीपा कार्कीले आँसु पुछ्दै गुनासो पोखिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीकी आमा हुन् दीपा । डा. कार्कीका बुबा पदमबहादुर कार्कीले पनि निर्वाचन आयोगले छोरीलाई रोक्न खोजेको बुझेका छन् ।

डा. कार्कीले उम्मेदवारी दिने निर्णय गरेको दिनदेखि छोरीको प्रचारप्रसारमा खटिएका पदमबहादुर भन्छन्, ‘ललितपुरमा छोरीलाई हरेक तरिकाले रोक्ने प्रयास गरिएको छ ।’

१२ कात्तिकमा निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएपछि तोसिमा हिजोआज प्रचार प्रसारमा छिन् ।

चुनाव अगाडि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी संगठन नभई उम्मेदवारको विश्वसनीयताका बलमा चुनावमा होमिएको छ । डा. कार्कीको चुनावी प्रचार प्रसारमा कार्कीका परिवारका सदस्य र छिमेकी सक्रिय छन् ।

‘हामी परिवारका मान्छे नै प्रचारमा लागेका छौं’, उम्मेदवार कार्कीका काका नवीन कार्की भन्छन् । नवीनले स्पिकर र माइक बोकेका छन् । तर, आयोगले आफूहरुलाई माइक प्रयोग नगर्न निर्देशन दिएको सुनाउँछन् उनी । ‘चुनाव चिह्न घण्टी, माइक नबजाउनु भन्छ’, नविन गुनासो गर्छन्, ‘कहिले प्रतिस्पर्धाबाटै आउट गर्न खोज्छन् ।’

पदमबहादुर र दीपाका तीन सन्तानमध्ये जेठी हुन् तोसिमा ।

ठूला दलहरुको जस्तो तडक भडक भिडभाड छैन कार्कीको घरदैलोमा । अगाडि–अगाडि कार्कीका बुबा पदम पर्चा बाड्ँछन् पछिपछि कार्की आफ्नो परिचय दिँदै हिँड्छिन् ।

तोसिमाको घरदैलोमा गोरखा सिरानचोककी कोपिला पाण्डे, प्यूठान डाँडाखर्ककी उर्मिला थापा, बैतडी डिलासैनीका श्रीकान्त राना क्षेत्री , कैलाली धनगढीका विनोद रावल कार्की पनि सहभागी छन् । उनीहरु सबै नयाँ अनुहार संसदमा पुगोस् भन्ने चाहन्छन् ।

परिवारजन र आफूप्रति सद्भाव राख्नेहरुको बलमा घरदैलो गरिरहेकी कार्कीलाई आयोगले बारम्बार लगाम लगाउने प्रयास गरिरहेको छ । स्पोर्टस् जुत्ता र हाकुपटासीमा सजिएकी तोसिमामा ललितपुर–३ को सबैजसो टोलमा पैदल हिँडेर पुगेकी छन् ।

‘आयोगले बेला न कुबेला रोक्न खोज्छ, हेरौं कति रोक्दो रहेछ’, कार्की ढुक्क छिन् ।

‘हिँडेरै सबैतिर पुग्नुपर्ने भएकाले छिटोछिटो हिँडेको’, तोसिमा सुनाउँछिन् । तोसिमासंगै हिडिरहेका उनका ६२ वर्षे बुबा र आमा छोरीको गतिसंग आफ्ना पाइला मिलाउन असिन पसिन गरिरहेका देखिन्छन् ।

बिहान सात बजेदेखि घरदैलोमा निस्कन्छ तोसिमाको परिवार । साँझ घर पुग्दा तोसिमा भन्दा बढ्ता उनका बुबाआमा थाकेका हुन्छन् । चिकित्सकको पेसा गरेर जीवन सुरक्षित बनाएकी छोरी देश र जनताको भलोका लागि राजनीतिमा आउँदा पनि देखि नसहेको भन्दै गुनासो गर्छिन् आमा दीपा ।

‘बिहानैदेखि पैदल हिँड्छौं । प्रचारप्रसारमा पैसा खर्च गर्न सक्ने हैसियत छैन’, दीपा भक्कानिदै भन्छिन्, ‘हामीलाई देखिसहेका छैनन् । देशका लागि राम्रो गर्छु भनेर छँदाखाँदाको जागिर छाडेर आएकी छ छोरी । ढाँटेकी छैन, भ्रष्ट्राचार गरेकी छैन । तैपनि किन यसरी रोक्न खोजेका ?’

आमा रोएको देखेपछि तोसिमाको पनि भावभंगीमा थोरै बदलियो । तर, आफूलाई सम्हाल्दै कार्कीले आमा दीपालाई भनिन्, ‘रुने होइन क्या मम्मी । हामी यसरी कमजोर हुनु हुँदैन ।’

छोरीको मन राख्न दीपा भन्छिन्, ‘यी दुःखका आँसु होइनन्, खुसीका आँसु हुन् ।’

छोरीलाई हराउने नियतले अनेक दुःख दिएको दीपाको बुझाइ छ । राजनीतिबाट टाढै रहेको कार्की परिवार यतिखेर छोरीसंगै चुनावी मैदानमा छ । परिवार र आफन्तजनको सहयोगको सराहना गर्दै कार्की सुनाउँछिन्, ‘राजनीति बुझ्नु भएको छैन । तैपनि बिहानदेखि बेलुकासम्म मेरो साथमा हुनुहुन्छ । यो पनि मेरा लागि जित नै हो ।’

डा. कार्की जिल्ला निर्वाचन कार्यालय ललितपुरले घण्टी नबजाउन आफूलाई निर्देशन दिएको बताइन् । भन्छिन्, ‘निर्वाचन कार्यालयले घण्टी बजाएका कारण ध्वनि प्रदुषण भयो भनेर तपाईं विरुद्ध उजुरी परेको छ । घण्टी नबजाउनुहोस् भनेर निर्देशन दिएको छ ।’

तर, निर्वाचन आयोगले कार्कीलाई घण्टी नबजाउन निर्देशन नदिएको स्पष्टीकरण दिएको छ ।

डा. कार्की भने आयोगको निर्देशनलाई चुनौती दिँदै भन्छिन्, ‘घण्टी बजाउनै पर्दैन, बोकेर हिँडेपनि आफैं बज्छ ।’ सानो कद र दुब्लो ज्यान भएपनि ललितपुर–३ को चुनावी मैदानमा तोसिमा अरु उम्मेदवारभन्दा कमजोर छैनन् ।

निर्वाचन आयोगलाई व्यंग्यात्मक धन्यवाद दिन्छिन् कार्की, ‘उम्मेदवारी खारेज गरेर, घण्टी नबजाउन निर्देशन दिएर आयोगले मेरो प्रचार गरिदिएको छ । धन्यवाद निर्वाचन आयोग ।’

ललितपुर–३ मा ललितपुर महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ वडा पर्छन् ।

शहर र गाउँको मिश्रण भएको ललितपुर–३ मा ७ स्वतन्त्रसहित २० उम्मेदवार मैदानमा छन् ।

नेकपा एमालेका अमृत खड्का र सत्ता गठबन्धनको समर्थन पाएकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल मुख्य प्रतिस्पर्धी मानिएपनि तोसिमाको ‘क्रेज’ पनि बढिरहेको छ ।

तोसिमाको उम्मेदवारी खारेजी गर्ने र घण्टी नबजाउनु भन्ने आयोगको निर्देशनपछि उनका समर्थक आक्रोशित छन् ।

कुपण्डोलका स्थानीय श्यामसुन्दर महर्जन प्रश्न गर्छन्, ‘कसैलाई सबै चिज गर्न छुट दिने कसैलाई केही गर्नै नदिने । यस्तो पनि कहीं हुन्छ ?’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?