+
+
Shares

सह-महामन्त्री पदमा मेरो दाबी छैन : तोसिमा कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते २०:४२

२४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले पार्टी सह–महामन्त्री पदमा आफ्नो दाबी नभएको बताएकी छिन् ।

हिजो बसेको पार्टीको केन्द्रीय समिति बैठकमा आफूले विधिको प्रश्न उठाएको भन्दै व्यक्तिको विरोध नगरेको उनले बताएकी हुन् ।

बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले सह–कोषाध्यक्ष दीपक बोहरालाई सह–महामन्त्री बनाउने प्रस्ताव राखेका थिए । तर, उक्त प्रस्ताव बैठकको एजेन्डामै नभएकोले आफूले अस्वीकार गरेको उनले बताएकी छिन् ।

‘केन्द्रीय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ व्यक्तिको विरोध गरेको होइन । साथै, रिक्त सह–महामन्त्रीमा मेरो दावी होइन,’ सांसद कार्कीले भनेकी छिन्, ‘हिजोको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि हामीले अस्वीकार गरेका हौँ ।’

पार्टीले रिक्त रहेको सह–महामन्त्रीको पदमा थप गृहकार्य सहित विधिसम्मत रुपले इच्छुक–योग्य महिलाहरूबाट नियुक्ति गर्नुपर्ने आफ्नो मत रहेको पनि उनले बताएकी छिन् ।

केन्द्रीय समिति बैठकमा भएका छलफलको नालीबेली बाहिर ल्याएको भन्द्यै उनले आपत्ति जनाएकी छिन् ।

‘पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुने गर्छ र त्यो जरुरी पनि छ,’ तोसिमाको तर्क छ ।

उनले आफूलाई गलत सावित गर्नेगी पद–लोलुप जस्तो नदेखाइदिन पनि आग्रह गरेकी छिन् ।

‘कृपया कसैले पनि गलत भाष्य बनाएर मलाई पदलोलुप जस्तो नदेखाइदिनु होला । यो सह–महामन्त्री पदमा मेरो कुनै दाबी छैन,’ सांसद कार्कीले भनेकी छिन् ।

आफूले कुनै पदमा दाबी गर्नुपर्ने चुनावबाटै गर्ने पनि उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?